मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा आन्तरिक विवाद र किचलोका बीच प्रारम्भ भएको छ। नेतृत्व चयनको नियमित प्रक्रियाका अतिरिक्त, यो महाधिवेशन पार्टीका लागि आत्ममूल्यांकन र भविष्यको मार्गचित्र निर्धारण गर्ने महत्वपूर्ण अवसर हो। तर, दुर्भाग्यवश, कांग्रेस विगतलाई समीक्षा गर्दै, वर्तमानलाई हेर्दै र भविष्यलाई नियाल्नुपर्ने बेला गुटगत संघर्ष र वैधानिकताको प्रश्नमा अल्झिएको छ।
लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको लामो इतिहास बोकेको कांग्रेस आफ्नै घर मिलाउन नसक्ने अवस्थामा पुगेको देखिनु चिन्ताको विषय हो। महाधिवेशनको उद्घाटन समारोहमा पार्टीका निवर्तमान सभापतिसहित केही पाका नेताहरूको अनुपस्थिति र समानान्तर महाधिवेशनको तयारीले पार्टीभित्रको आन्तरिक कलहको गहिराइलाई उजागर गर्दछ। नेतृत्व प्रतिस्पर्धा र असहमति लोकतन्त्रको स्वाभाविक अंश भए पनि, तिनलाई व्यवस्थापन गर्ने संस्थागत क्षमताको अभावमा एउटै पार्टीभित्र समानान्तर राजनीतिक संरचनाहरूको अभ्यास हुनु सुखद संकेत होइन। यसले आफ्नै दल मिलाउन नसक्ने कांग्रेसले राष्ट्र कसरी हाँक्ला भन्ने गम्भीर प्रश्न जन्माएको छ।
कांग्रेससँग लोकतान्त्रिक आन्दोलनको गौरवमय इतिहास र विरासत भए पनि, विगतको योगदानले वर्तमानका कमजोरीलाई सधैं ढाक्न सक्दैन। आजको कांग्रेसले आजका नागरिकका ज्वलन्त प्रश्नहरूको उत्तर दिन सक्नुपर्छ। महाधिवेशनको बहसमा नेतृत्वको अंकगणित गौण हुनुपर्दछ; बरु, कांग्रेस कस्तो राजनीतिक शक्ति बन्ने र मुलुकका विद्यमान समस्याहरू समाधान गर्न कस्ता योजना, कार्यक्रम तथा दृष्टिकोण अपनाउने भन्नेमा केन्द्रित हुनुपर्छ।
वर्तमानमा, युवाहरू देशभित्रै रोजगारीको खोजीमा छन्, तर उत्पादन र अवसरको संकट, सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वास, गम्भीर भ्रष्टाचार, र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवामा नागरिकको असमान पहुँचजस्ता समस्याहरू व्याप्त छन्। कांग्रेसलाई गुटबन्दीभन्दा नीतिगत स्पष्टता चाहिएको छ। गुटले चुनाव जित्न वा पद बाँड्न सक्ला, तर देश हाँक्न नागरिकको विश्वास जित्नु अनिवार्य छ। महाधिवेशनले आर्थिक नीति, रोजगारी सिर्जनाका योजना, सुशासनको स्थापना, भ्रष्टाचार नियन्त्रणका मापदण्ड, संघीयतालाई प्रभावकारी बनाउने उपाय, तथा सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्दछ।
कुनै पनि लोकतान्त्रिक दलका लागि विधि र विधानको सम्मान पहिलो शर्त हो। महाधिवेशनको आह्वान, प्रतिनिधि चयन प्रक्रिया, र यसको वैधानिकताका प्रश्नहरू महत्त्वपूर्ण छन्। समानान्तर महाधिवेशनले क्षणिक शक्ति दिए पनि, दीर्घकालमा पार्टीलाई थप विभाजनतर्फ धकेल्न सक्छ। विभाजन कांग्रेसका लागि नयाँ नभए पनि, यसले उत्पन्न गर्ने अविश्वास मेट्न कठिन हुन्छ। पार्टीले विभाजनको पुरानो बाटो दोहोर्याउने कि नयाँ राजनीतिक संस्कार निर्माण गर्ने, यो गम्भीर प्रश्न हो। पुस्तान्तरण भन्नाले केवल पुरानो अनुहारलाई नयाँले प्रतिस्थापन गर्नु मात्र होइन। उमेर परिवर्तनले मात्र राजनीतिक संस्कार बदलिँदैन; यो सोच, निर्णय शैली, कार्यकर्तालाई सहभागी गराउने संस्कार, नेतृत्वलाई प्रश्न गर्नसक्ने वातावरण निर्माण गर्ने, र पदलाई अवसर नभई जिम्मेवारी ठान्ने राजनीतिक संस्कारको परिवर्तन हो।
अरूलाई लोकतन्त्रको पाठ पढाउनुअघि आफ्नै संगठनभित्र लोकतान्त्रिक संस्कार व्यवहारमा उतार्न सक्नुपर्छ। असहमति सुन्न नसक्ने, आलोचनालाई शत्रु ठान्ने, शक्तिलाई व्यक्ति केन्द्रित गर्ने र संस्थाभन्दा व्यक्तिलाई ठूलो बनाउने प्रवृत्तिले लोकतान्त्रिक दल र लोकतन्त्रलाई कमजोर बनाउँछ। इतिहासले कांग्रेसलाई ठूलो राजनीतिक पुँजी दिएको छ, तर इतिहासको ब्याजमा मात्र राजनीति चल्दैन। वर्तमानका प्रश्नको उत्तर दिन र जनताको बदलिएको मनोविज्ञान बुझ्न सक्नुपर्छ। महाधिवेशनले गुट व्यवस्थापन होइन, नीति पुनर्निर्माण, पद बाँडफाँट होइन, संस्था निर्माण, शक्ति प्रदर्शन होइन, जनविश्वास पुनर्निर्माणको बाटो तय गर्नुपर्छ। नीतिमा आधारित लोकतान्त्रिक शक्ति बन्न नसके, कांग्रेससँग केवल इतिहासको गौरव मात्र बाँकी रहनेछ।
