काठमाडौं : दुई दशकको सफल व्यावसायिक यात्रा पूरा गरेको ग्लोबल आईएमई बैंकले वित्तीय आकार विस्तारसँगै अब हरित तथा दिगो बैंकिङलाई आगामी दिनको व्यावसायिक वृद्धिको महत्वपूर्ण आधार बनाउने रणनीति अघि सारेको छ। बैंकले २०औं वार्षिक साधारणसभामार्फत आफ्नो वित्तीय उपलब्धिसँगै हरित कर्जा तथा दिगो वित्तका योजनालाई समेत प्राथमिकताका साथ अगाडि बढाउने तयारी गरेको हो।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकले उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। यस अवधिमा बैंकको कुल निक्षेप ७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। त्यस्तै, बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। एक वर्षको अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ।
बैंकले आगामी असोज १६, २०८३ मा २०औं वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त साधारणसभामा सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ। सभाबाट प्रस्ताव पारित भएपश्चात् उक्त लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ।
वित्तीय विस्तारसँगै बैंकले आफ्नो सेवा सञ्जालसमेत उल्लेख्य रूपमा विस्तार गरेको छ। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। यसका अतिरिक्त, विदेशमा तीन प्रतिनिधि कार्यालयसहित बैंकले विभिन्न माध्यमबाट देशभर एक हजारभन्दा बढी सेवा केन्द्रहरूमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।
ग्लोबल आईएमई बैंकले वातावरणीय तथा सामाजिक पक्षलाई बैंकिङ व्यवसायसँग जोड्दै हरित वित्तलाई दीर्घकालीन व्यावसायिक अवसरका रूपमा विकास गर्ने नीति लिएको छ। दिगो बैंकिङसम्बन्धी गतिविधिलाई संस्थागत बनाउन बैंकले दिगो बैंकिङ समिति गठन गरिसकेको छ भने दिगो बैंकिङसम्बन्धी आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ। यो कदमले बैंकको आगामी व्यावसायिक दिशालाई स्पष्ट पारेको छ।
बैंकले वातावरणमैत्री आवास र ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न हरित आवास कर्जा विस्तार गर्ने योजना बनाएको छ। नवीकरणीय ऊर्जामा वित्तीय पहुँच बढाउन छतमा सौर्य ऊर्जा जडानका लागि कर्जा प्रवाह गर्ने तथा कृषि क्षेत्रमा जलवायु जोखिम सम्बोधन गर्न जलवायु–मैत्री कृषि कर्जा विस्तार गर्ने तयारीसमेत गरेको छ। त्यस्तै, साना तथा मझौला उद्यमलाई हरित व्यवसायमा रूपान्तरण गर्न हरित एसएमई कर्जाजस्ता नयाँ वित्तीय उत्पादनहरू विस्तार गर्ने बैंकको योजना छ। बैंकले हरित कर्जालाई वातावरण संरक्षणको विषयमा मात्र सीमित नगरी व्यावसायिक जोखिम व्यवस्थापन र दीर्घकालीन लगानी अवसरसँग जोडेको स्पष्ट पारेको छ।
दिगो वित्ततर्फ अघि बढ्दै बैंकले आफ्नो वित्तीय गतिविधिबाट हुने कार्बन उत्सर्जन मापन तथा व्यवस्थापनमा समेत ध्यान केन्द्रित गरेको छ। बैंकले कार्बन लेखांकनसम्बन्धी अन्तर्राष्ट्रिय पहलमा आबद्ध हुँदै आफ्ना वित्तीय गतिविधिको कार्बन प्रभाव मापन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। वातावरणीय प्रभाव तथा जलवायुसम्बन्धी जानकारी समेटिएको प्रतिवेदन सार्वजनिक गर्ने अभ्याससमेत बैंकले थालेको छ। आगामी दिनमा हरित ऋणपत्र, दिगो ऋणपत्र तथा जलवायु कोषजस्ता दिगो वित्तीय उपकरण विकास गर्ने योजना बैंकको रहेको छ।
वित्तीय पहुँच विस्तार, डिजिटल क्षमता अभिवृद्धि र सेवा सञ्जाल विस्तारपछि अब ग्लोबल आईएमई बैंकले हरित तथा दिगो वित्तलाई व्यवसाय विस्तारको अर्को महत्वपूर्ण आधारका रूपमा अघि बढाउन खोजेको देखिन्छ। दुई दशकको यात्रा पूरा गरेको बैंकका लागि आगामी चरणमा वित्तीय वृद्धिसँगै वातावरणीय तथा सामाजिक पक्षलाई बैंकिङ व्यवसायमा कसरी प्रभावकारी रूपमा एकीकृत गर्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।
