पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गत स्थानीय तहको निर्वाचनमा मेयर पदका उम्मेदवार हुँदा ‘पोखराका सडक भत्किएको २४ घण्टाभित्र पुर्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए। यो प्रतिज्ञा उनले चुनावी घोषणापत्रमा समेत समावेश गरेका थिए। निर्वाचित भएलगत्तै पनि आचार्यले उक्त प्रतिबद्धता दोहोर्याउँदै सडक मर्मतका लागि छुट्टै संयन्त्र निर्माण गर्ने घोषणा गरेका थिए।
तर, पदभार ग्रहण गरेको करिब दुई वर्ष बितिसक्दा पनि मेयर आचार्यको यो महत्त्वाकांक्षी प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन। सडक मर्मतका लागि कुनै विशिष्ट संयन्त्र पनि गठन गरिएको छैन। बरु, उनको भनाइविपरीत पोखराका मुख्य तथा भित्री सडकहरूमा जीर्ण खाल्डाखुल्डी यथावत् छन्, जसले सर्वसाधारणलाई दैनिक सास्ती दिइरहेका छन्। महिनौँसम्म मर्मतविहीन अवस्थामा रहेका यी सडकका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको छ। खाल्डाखुल्डीका कारण दैनिकजसो दुर्घटना हुने गरेको र पैदलयात्री तथा सवारी चालकहरूको जीवन जोखिममा परेको गुनासो सर्वत्र छ।
पोखराका विभिन्न महत्त्वपूर्ण सडक खण्डहरू जीर्ण अवस्थामा छन्। पोखरा–५ पस्र्याङदेखि पोखरा–४ गोपालजी मन्दिरसम्म, सृजनाचोकदेखि सिद्धार्थचोकसम्मको मुख्य मार्ग, पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा लिइने पोखरा–१३ मियापाटनदेखि पोखरा–१४ विजयपुरसम्मको सडक लगायत अधिकांश शहरी सडकहरूमा हिँड्न समेत कठिन भएको छ। स्थानीय बासिन्दा खगेन्द्र अर्यालका अनुसार, यस सडकमा पिचभन्दा खाल्डाखुल्डी बढी छन् र पाँच वर्षदेखि यो सास्ती भोग्नुपरेको छ। अर्यालले महानगरको क्षेत्राधिकारमा पर्ने सडकलाई सडक विभागको भनी पन्छिने प्रवृत्तिले वर्षौँसम्म नागरिकले दुःख पाउनु परेको बताए।
प्रशासनिक तथा मन्त्रालयहरूको बाहुल्यता रहेको सहिदचोकदेखि भूमि प्रशासन कार्यालयसम्मको संवेदनशील सडक खण्ड पनि महिनौँदेखि जीर्ण अवस्थामा छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, गण्डकी प्रदेशको आर्थिक मामिला, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसहित सहकारी डिभिजन कार्यालय र हुलाक निर्देशनालय जस्ता महत्त्वपूर्ण कार्यालयहरू यही सडकको छेउमा छन्। यस्तो महत्त्वपूर्ण क्षेत्रको सडकमा समेत पिचभन्दा खाल्डाखुल्डीको बाहुल्यता छ। हिउँदमा धूलो र बर्खामा हिलो तथा पानीले जलमग्न हुने यो सडकमा दुर्घटनाहरू सामान्य भइसकेका छन्। स्थानीय बासिन्दाले महानगरले सडक मर्मतमा पर्याप्त चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सडकको अवस्था असह्य भएपछि स्थानीय बासिन्दाहरू महानगर र मेयर आचार्यको व्यापक आलोचनामा उत्रिएका छन्। मेयरले आफ्नो चुनावी प्रतिबद्धता बिर्सेको भन्दै उनीहरूले आक्रोश पोखेका छन्। यसैबीच, ‘मिस्टर म्यान’ उपनामले परिचित एक व्यक्तिले खाल्डाखुल्डी पुर्न सडकमा माटो हाल्ने अभियान नै थालेका छन्। उनको यो सांकेतिक विरोध र गतिविधि सामाजिक सञ्जालमा भाइरल बन्दै महानगरलाई थप दबाब सिर्जना गरेको छ।
नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले महानगरपालिका जिम्मेवार र जवाफदेही नबन्दा सडक जीर्ण बनेको र त्यसकै कारण दुर्घटनाको जोखिम बढेको बताए। पौडेलका अनुसार, “मेयरले आफ्नो चुनावी प्रतिबद्धता बिर्सिएका छन्। अहिले आफ्नै प्रतिबद्धताविपरीत सडकलाई दोष देखाएर उनी पानीमाथिको ओभानो बन्न खोजिरहेका छन्।” जीर्ण सडकको मर्मतसम्भार नहुनुमा सडक विभागसँगै महानगरपालिका पनि उत्तिकै जिम्मेवार रहेको पौडेलको भनाइ छ। उनले थपे, “सडकलाई देखाएर महानगर पन्छिन मिल्दैन। महानगरलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्छ। खाल्डाखुल्डी पुर्न तत्काल कार्ययोजनासहित एक्सनमा जानुपर्यो।”
मेयर आचार्य भने खाल्डाखुल्डी पुर्ने काम निरन्तर भइरहेको दाबी गर्छन्। “हिजो पनि काम भइरहेको थियो र आज पनि ठेक्कामा गएर मर्मतको काम जारी छ,” उनले स्पष्ट पारे। तर, पोखरामा अत्यधिक वर्षा हुने भएकाले आज मर्मत गरिएको सडक भोलि नै पुनः बिग्रने समस्या रहेको उनको तर्क छ। “आज पुर्यो, भोलि उस्तै हुन्छ त के गर्ने?” उनले प्रश्न गरे। आफ्नो प्रतिबद्धताअनुसार २४ घण्टाभित्र सडक मर्मत हुन नसक्नुमा सडक विभाग पनि उत्तिकै दोषी रहेको आचार्यको भनाइ छ। “सडक कसको क्षेत्राधिकारभित्र पर्छ भन्ने महत्त्वपूर्ण प्रश्न छ,” उनले भने, “पोखराका अधिकांश सडक क्षेत्र सडक विभागको हो। त्यहाँ महानगरले चाहेर पनि तत्काल हस्तक्षेप गर्न मिल्दैन। यसमा हाम्रा आफ्नै पीडाहरू छन्।” यसकारण, सडक मर्मतको मुख्य जिम्मेवारी महानगरपालिकाको नभई सडक विभागको भएको उनको जिकिर छ।
‘मिस्टर म्यान’ को खाल्डाखुल्डीमा माटो हाल्ने अभियानप्रति भने मेयरले व्यङ्ग्य गरे। “यदि त्यसरी नै सडक पुर्न सम्भव हुने भए, हामी आरएमसी (रेडिमिक्स कंक्रीट) ल्याएर चार घण्टामै भत्किएका सडक पुरिदिन्थ्यौँ,” उनले भने, “त्यो हामीले नजानेर वा नसकेर होइन। तर, त्यसरी पुरेर चिप्लिएर दुर्घटना हुने जोखिम हुन्छ। विज्ञ र इन्जिनियरहरूले पनि यही भन्छन्।”
