काठमाडौं, ६ असोज – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सीता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो बनाउनुपर्नेमा जोड दिनुभएको छ। परिषद्को ४९ औँ स्थापना दिवस तथा ४७ औँ सामाजिक सेवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले सेवाभावलाई केन्द्रमा राखी विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको हो।
मन्त्री बादीले नेपालको सामाजिक विकासमा गैरसरकारी संस्थाहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै उनीहरूको कार्यपद्धतिलाई राष्ट्रिय नीति तथा प्राथमिकतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले दिगो विकासका लक्ष्य (SDGs) अनुरूप परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गर्दै सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सबैको सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयो। यसले स्रोतको अधिकतम उपयोग हुनुका साथै लक्षित वर्गसम्म सेवाको पहुँच सुनिश्चित भई दीर्घकालीन प्रभाव पार्न सकिने उहाँको भनाइ थियो।
शिक्षा, स्वास्थ्य, सीप विकास, महिला तथा बालबालिकाको उत्थान, सीमान्तकृत समुदायको सशक्तिकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, वातावरण सन्तुलन, रोजगारी सिर्जना र कृषि विकास जस्ता विविध क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूले पुर्याउँदै आएको योगदानको मन्त्री बादीले उच्च प्रशंसा गर्नुभयो। विशेषगरी, विपद् व्यवस्थापन र पुनस्र्थापनामा उनीहरूको सक्रियतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले रसुवा–भोटेकोशी विपद्मा राहत वितरण र प्रभावितहरूको जीवन सामान्यीकरणमा खेलेको भूमिकाको स्मरण गर्नुभयो। यस्ता कार्यहरूले राज्यलाई मात्र नभई नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको र मानवीय सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको उहाँको तर्क थियो।
परिषद्को सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन पूर्ण डिजिटल प्रणालीमा लैजाने आवश्यकता मन्त्री बादीले औँल्याउनुभयो। उहाँका अनुसार डिजिटल सेवाको विस्तारले सेवाग्राहीले कार्यक्रम स्वीकृति, सहजीकरण, समन्वय, अनुगमन तथा मूल्याङ्कन जस्ता कामका लागि दूरदराजबाट काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। यसले परिषद्का सेवाहरूलाई नागरिकको पहुँचमा पुर्याउने र समय तथा लागतको बचत भई सुशासन कायम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। डिजिटल रूपान्तरणले परिषद्को कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने तथा समग्र सेवा प्रणालीलाई आधुनिकीकरण गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
स्थापना दिवसलाई सामाजिक संघसंस्था र समाजसेवीहरूले आफ्ना कामको समीक्षा र स्वमूल्याङ्कन गर्ने अवसरका रूपमा उपयोग गर्न मन्त्री बादीले आग्रह गर्नुभयो। उहाँले कार्यक्रमको प्रभावकारिता, स्रोतको उचित उपयोग र लक्षित वर्गमा परेको वास्तविक प्रभावको नियमित लेखाजोखा हुनुपर्नेमा जोड दिनुभयो। यसो गर्दा संस्थागत सुशासन कायम हुने, भावी योजनाहरू अझ यथार्थपरक र परिणाममुखी बन्ने तथा नागरिक विश्वास बढ्ने उहाँको धारणा थियो। अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै अनुगमन र मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ताकि गरिएका कामहरूको वास्तविक प्रभाव मापन गर्न सकियोस्।
अन्तमा, मन्त्री बादीले सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था एवं समाजसेवीहरूलाई सामाजिक सेवा दिवसको शुभकामना दिँदै समाज कल्याण, सेवा र विकासका कार्यहरू अझ प्रभावकारी, व्यापक र जनमुखी बन्दै जाउन् भन्ने कामना व्यक्त गर्नुभयो। उहाँले यी प्रयासहरूले राष्ट्रको सर्वाङ्गीण विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबैलाई सकारात्मक ऊर्जाका साथ सामाजिक रूपान्तरणको अभियानमा अगाडि बढ्न प्रेरणा दिनुभयो।
