गत वर्ष पनि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको असर नेपालमा देखिएको थियो।
असोज ८ गतेदेखि नेपालका विभिन्न स्थानमा ‘भारीदेखि अति भारीसम्म’ वर्षा हुन सक्ने प्रक्षेपण कतिपय मौसमविद्ले गरिरहेका बेला मौसम तथा विपद्सम्बन्धी सरकारी निकायका अधिकारीहरूले सम्भावित मौसमी गतिविधिको निगरानी भइरहेको र अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। मौसमविद्हरूले बङ्गालको खाडीमा विकास हुने क्रममा रहेको एउटा मौसमी अवस्थाको प्रभाव नेपालसम्म आइपुग्ने र त्यो पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्। नेपालले हालै ठूलो प्राकृतिक विपत्तिको सामना गरेको अवस्थामा मौसमविद्हरूको पछिल्लो चेतावनीले सर्वसाधारणमा चिन्ता बढाएको देखिन्छ। खासगरी, थप वर्षाका कारण स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिमको आकलन र पूर्वतयारीतर्फ चासो बढेको हो।
मौसम र विपद् निकायको धारणा
सम्भावित मौसमी प्रणालीबारे विभिन्न प्रक्षेपण सार्वजनिक भइरहे तापनि अहिले नै यसको प्रभावबारे निश्चित निष्कर्षमा पुग्न हतार गर्न नहुने जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार आगामी केही दिनमा उक्त मौसमी अवस्थाको विकासक्रम र यसको सम्भावित ‘ट्र्याक’ (मार्ग) बारे थप स्पष्ट हुँदै जानेछ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूती पोखरेलले आइतवार दिउँसो बीबीसीसँग भन्नुभयो, “बङ्गालको खाडी क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित हुने क्रममा रहेको विभिन्न ‘वेदर मोडल’हरूले देखाइरहेका छन्। तर हामी यसबारे कुनै निष्कर्षमा पुगिसकेका छैनौँ।” उहाँले थप्नुभयो, “वर्षा त हुन्छ नै तर त्यसको मात्रा र प्रभावबारे अहिले नै ठोस प्रक्षेपण गर्नु हतारो हुन्छ र समय बाँकी नै रहेकाले धेरै डराइहाल्नुपर्ने स्थिति छैन।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले सम्भावित जोखिमको सूक्ष्म अध्ययन भइरहेको र अवस्था विकसित हुँदै जाँदा आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका कदमबारे निर्णय लिइने बताउनुभएको छ। उहाँले आइतवार दिउँसो बीबीसीसँग भन्नुभयो, “हामी जल तथा मौसम विज्ञान विभागसँग निरन्तर छलफलमा छौँ र उक्त मौसमी प्रणालीलाई ‘ट्र्याक’ पनि गरिरहेका छौँ। सोमवार दिउँसो त्यसबारे हाम्रो पहिलो आधिकारिक धारणा सार्वजनिक गर्छौँ।”
मौसमविद्को भनाइ
मौसमविद्हरूले आउँदो बिहीवारउताका केही दिनमा गण्डकी प्रदेशको पश्चिमतर्फका भागसहितका क्षेत्रमा ठूलो वर्षा हुन सक्ने अनुमान गरेका छन्। उनीहरूका अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय क्षेत्र थप सशक्त हुँदै गएमा त्यसले चक्रवातको रूप लिन सक्ने सम्भावना रहन्छ। नेपालसम्मै चक्रवात नआए पनि त्यसको प्रभाव भने आइपुग्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को वर्षा गराउन सक्ने पूर्वानुमान गरिएको हो। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले भन्नुभयो, “सुदूरपश्चिमका केही स्थानबाहेक धेरै ठाउँमा राम्रै वर्षा हुने म देख्छु। सबै ठाउँमा यसको प्रभाव समान हुँदैन, तर कुनै स्थानविशेषमा भारीदेखि अति भारीसम्म वर्षा हुन सक्छ।” जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको मात्रालाई २५ मिलिमिटरभन्दा कम भए हलुका, ५० देखि १०० मिलिमिटरसम्म भारी र २०० मिलिमिटरभन्दा बढी भए अति भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ। सिग्देलले हाल यस मौसमी प्रणालीको ‘ट्र्याक’ नेपालका पूर्वदेखि मध्य हुँदै पश्चिमसम्म देखिएको तर केही दिनको समय बाँकी रहेकाले परिवर्तन हुन सक्नेमा सहमत हुनुहुन्छ।
जोखिम
मौसमविद्हरूका अनुसार अहिलेको परिस्थितिमा २४ घण्टामा १०० मिलिमिटर मात्रै वर्षा भए पनि बाढी र पहिरोको जोखिम बढ्न सक्छ। सिग्देलले भन्नुभयो, “किनभने जमिनको ओसको मात्रा माथि आइसकेको छ र अबचाहिँ डिस्चार्ज अलिक कम हुन्छ। त्यसले गर्दा खोलानाला बढ्न सक्ने र बाढीपहिरोको जोखिम हुन्छ।” उहाँले चाडबाडको समय पनि आइसकेको हुनाले यस्तो बेला सही सूचना लिएर मात्रै यात्रा गर्न सुझाव दिनुभयो। नेपालका कतिपय ठाउँमा अहिले नै बाढीपहिरोको समस्या रहेकाले थप वर्षा हुँदा जोखिम बढ्न सक्ने अवस्था छ। गत वर्ष पनि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातले नेपालका कतिपय क्षेत्रमा चर्को वर्षा र बाढीपहिरोको अवस्था निम्त्याएको थियो।
सतर्कता र तयारी
मौसम विभागकी पोखरेलले सम्भावित प्रतिकूल मौसमी स्थितिबारे मानिसहरूलाई कसरी सजग र सतर्क गराउने भन्ने विषयमा आफूहरू विपद् प्राधिकरणसँग छलफलमा रहेको बताउनुभयो। प्राधिकरणका प्रमुख उप्रेतीले पनि सर्वसाधारणमा अनावश्यक भयको अवस्था सिर्जना नहोस् भन्नेमा ध्यान दिँदै राज्य संयन्त्रले आवश्यक तयारी गरिरहेको बताउनुभयो। उहाँका अनुसार, यसपालिको मनसुन फर्किने क्रम तथा त्यसले प्रणालीलाई पश्चिमतिर जान दिन्छ कि दिँदैन भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। सम्भावित प्रभावको आकलनपछि सोमवार सतर्कताको सन्देश पनि जारी गर्न सकिनेछ। उप्रेतीले मौसमसम्बन्धी सूचनाका लागि नियमित रूपमा जल तथा मौसम विज्ञान विभागको वेबसाइट dhm.gov.np मार्फत अद्यावधिक भइरहन आमनागरिकलाई आग्रह गर्नुभयो। विभाग र विपद् प्राधिकरणले आवश्यकताअनुसार ‘एसएमएस अलर्ट’लगायतका सूचना तथा सचेतनामूलक उपायहरू पनि अपनाउने गरेका छन्।
