चितवन, असोज १ गते । चितवन जिल्लामा डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्दो क्रममा देखिएपछि जनस्वास्थ्य सरोकार बढेको छ । चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिनाको अवधिमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, १९१ जनामा स्क्रब टाइफसको सङ्क्रमणसमेत देखिएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार, डेंगु सङ्क्रमणका लागि ८८६ जनाको नमूना परीक्षण गरिएकोमा उक्त सङ्ख्यामा पुष्टि भएको हो । सङ्क्रमितमध्ये चितवन जिल्लाका मात्र ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका बिरामी हुन् । जिल्लाभरिको तथ्याङ्क हेर्दा, रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ३० जना डेंगुका बिरामी भेटिएका छन् । यसैगरी, कालिका नगरपालिकामा भने सबैभन्दा कम दुई जनामा सङ्क्रमण देखिएको छ । किट नियन्त्रक केसीले सहरी क्षेत्रमा पानी जम्ने स्थान बढी हुने भएकाले डेंगुको जोखिम पनि बढी हुने गरेको औंल्याउनुभयो ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नीमा असह्य पीडा हुने, आँखाको पछाडि दुख्ने र शरीरमा राता बिमिराहरू देखिने पर्दछन् । समयमै उपचार नपाएमा यो रोग घातक पनि हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । डेंगुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरू, टायर तथा गमलाका प्लेटहरू खाली गर्ने वा नियमित सफा गर्ने, बिहानबेलुका बारी वा झाडीमा काम गर्दा लामो बाहुला भएका कपडा लगाउने जस्ता उपायहरू अपनाउनु अपरिहार्य रहेको केसीले जानकारी गराउनुभयो ।
डेंगुसँगै जिल्लामा स्क्रब टाइफसको सङ्क्रमण पनि चुनौतीको रूपमा देखा परेको छ । किट नियन्त्रक केसीका अनुसार, एक हजार १४ जनाको नमूना परीक्षण गर्दा १९१ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ११८ जना चितवनका स्थायी बासिन्दा हुन् । ओरिएन्टिया सुसुगामुसी (Orientia tsutsugamushi) नामक ब्याक्टेरियाबाट लाग्ने यो रोग मुसामा पाइने किर्ना (माइट) को टोकाइबाट मानिसमा सर्दछ ।
स्क्रब टाइफसका प्रमुख लक्षणहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरमा रातो बिमिरा देखिने र किर्नाले टोकेको ठाउँमा कालो दाग (एस्कार) बन्ने आदि पर्दछन् । यो रोगले समयमै उपचार नपाए कलेजो, मिर्गौला, फोक्सो तथा मुटुमा समेत गम्भीर असर पुर्याउन सक्छ । यस रोगबाट बच्नका लागि झाडी, घाँसे मैदान तथा खेतीपाती गर्ने स्थानमा जाँदा पूरा शरीर ढाक्ने गरी लामो बाहुला भएका लुगा लगाउने, साँझ बिहान चौर वा झाडी क्षेत्रमा बस्दा सुरक्षित उपायहरू अपनाउने, घर वरपरको झाडी सफा राख्ने तथा मुसा नियन्त्रण गर्ने जस्ता कार्यहरूमा ध्यान दिनुपर्ने केसीले सुझाउनुभयो ।
जिल्लामा यी दुवै रोगको बढ्दो सङ्क्रमणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भएकाले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयमा रोकथाम तथा नियन्त्रणका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिन्छ । स्वास्थ्य सचेतना अभिवृद्धि र समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको छ ।
रासस
