२९ फागुन, सुनसरी । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारण गरेसँगै श्रम संस्कृति पार्टीमा सांसदका आकांक्षीहरूको तीव्र दौडधुप सुरु भएको छ । समानुपातिकको बन्द सूचीमा नाम समावेश भएका व्यक्तिहरूले आफू सांसद बन्न पाउनु पर्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत आफ्ना आकांक्षा सार्वजनिक गरिरहेका छन् । यसले गर्दा पार्टीभित्र आन्तरिक किचलो र दबाबको स्थिति सिर्जना भएको छ ।
कुल चार समानुपातिक सिट जितेको यस पार्टीका अध्यक्ष हर्क साम्पाङका लागि सांसद छनोट यतिबेला ठूलो टाउको दुखाइको विषय बनेको छ । साम्पाङले आफ्नो यो असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमार्फत समेत व्यक्त गरेका छन् । सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका अध्यक्ष साम्पाङले लेखेका छन्, ‘भात खाऊ । मेरो टाउको नखाऊ ।’ यतिमा मात्र चित्त नबुझेर होला उनले अझै स्पष्ट पार्दै थपेका छन्, ‘समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्नेछु । हद भो !’ उनको यो अभिव्यक्तिले पार्टीभित्रको विवाद कति गहिरो छ भन्ने देखाउँछ ।
पार्टीले आयोगमा बुझाएको बन्दसूचीमा रहेका केही आकांक्षीहरूले सार्वजनिक रूपमै आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । तीमध्ये समला साम्पाङ राई र आशा लामा प्रमुख हुन् । समला साम्पाङ राईले अध्यक्ष साम्पाङले आफूलाई नै समानुपातिक सांसद बनाउनुपर्ने भन्दै फेसबुकमा पोस्ट गरेकी छन् । आफ्नो योगदानको कदर नभएको र अध्यक्षले आफ्ना कुरा नसुनेको गुनासो गर्दै उनले मिडियामार्फत बोल्न बाध्य भएको बताएकी छन् । पार्टीको साधारण सदस्य रहेकी समलाले धरानका अन्य मिडियालाई पनि आफू समानुपातिक सांसद हुनुपर्ने अडान राख्दै अन्तर्वार्ता दिएकी छन् । आदिवासी जनजाति महिलातर्फ उनको नाम १६औँ नम्बरमा छ ।
त्यस्तै, बन्दसूचीमा नाम भएकी आशा लामाले समानुपातिकमा आफूलाई नसमेटिए अध्यक्ष साम्पाङको घरमा धर्ना बस्ने धम्की दिएको बताएकी छन् । आदिवासी जनजाति महिलातर्फ लामाको नाम तेस्रो नम्बरमा रहेको छ । उनी आफू नै समानुपातिक सांसद हुनुपर्ने भन्दै दबाब सिर्जना गर्न काठमाडौंबाट धरान आएकी छन् । यी घटनाक्रमले पार्टीभित्र समानुपातिक सांसद चयनको विषय कति संवेदनशील बनेको छ भन्ने स्पष्ट पार्छ ।
श्रम संस्कृति पार्टीले समानुपातिक सांसद छनोट गर्दा समावेशिताको जटिल चुनौती सामना गर्नुपर्नेछ । प्रत्यक्षतर्फबाट निर्वाचित अध्यक्ष साम्पाङ, ध्रुवराज राई र आरेन राई तीनै जना आदिवासी जनजाति क्लस्टरका पुरुष हुन् । यसरी पार्टीको कुल सात जना (तीन प्रत्यक्ष र चार समानुपातिक) सांसदमध्ये न्यूनतम ३३.३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक तथा कानुनी प्रावधान छ । यो प्रतिशत कायम गर्न श्रम संस्कृतिले समानुपातिकका चार सिटमध्ये कम्तीमा तीन जना महिलालाई पठाउनु पर्ने देखिन्छ । लैंगिक मात्र होइन, खसआर्य, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र थारू लगायतका विभिन्न क्लस्टरबाट पनि प्रतिनिधित्व सन्तुलित रूपमा मिलाउनु पर्ने हुन्छ ।
निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरूको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएकाले श्रम संस्कृति पार्टीलाई तत्कालै सर्वसम्मत निर्णयमा पुग्ने दबाब बढेको छ । आकांक्षीहरूको चर्को दबाब, अध्यक्षको असन्तुष्टि र कानुनी बाध्यताका बीचमा पार्टीका लागि यो निर्णय लिनु निकै चुनौतीपूर्ण बनेको छ ।
