कटारी, उदयपुर । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिका-४ स्थित त्रिवेणी माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सवका अवसरमा विशेष अभिनन्दन गरिएको छ । विद्यालयको पूर्वविद्यार्थीका रूपमा देशको सर्वोच्च न्यायिक पदमा पुग्नुभएका प्रधानन्यायाधीश राउतलाई विद्यालय परिवारले भव्य समारोहका बीच सम्मान प्रकट गरेको हो ।
बुधबार फागुन २९ गते आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएका प्रधानन्यायाधीश राउतलाई विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूका माझ दोसल्ला र अभिनन्दनपत्रसहित अभिनन्दन गरिएको थियो । यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज दाहालले प्रधानन्यायाधीश राउतले देशको सर्वोच्च पदमा पुगेर पुर्याउनुभएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको बताउनुभयो । उहाँले पूर्वविद्यार्थीको यस उच्च सफलताबाट वर्तमान विद्यार्थीहरूलाई पनि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
अभिनन्दन ग्रहण गरेपश्चात् आफ्नो मन्तव्य राख्दै प्रधानन्यायाधीश राउतले त्रिवेणी माविसँगको आफ्नो आत्मीय सम्बन्धको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “विसं २०३३ मा एसएलसी दिएपछि यो विद्यालयबाट भौतिक रूपमा टाढिए पनि म सधैँ यहीँ छु जस्तो लाग्छ । यो विद्यालयले दिएको असल शिक्षा र ज्ञानको उपलब्धिले नै म आज यो स्थानमा आइपुगेको हुँ ।” उहाँले विद्यालयको आधारभूत शिक्षाले नै आफ्नो जीवनको मार्ग तय गरेको बताउँदै विद्यालयप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सोही अवसरमा विद्यालयका एक मात्र जीवित संस्थापक सचिव तथा प्रधानन्यायाधीश राउतका पिता बलबहादुर राउतलाई पनि विशेष सम्मान गरिएको थियो । उहाँका साथै विद्यालयका पूर्वप्रधानाध्यापक राजेन्द्रप्रसाद निरौला, पूर्वशिक्षक रामकुमार दाहाल (शास्त्री सर) र इन्द्रनारायण गोइत (आइएनजी सर) लाई पनि विद्यालयको शैक्षिक विकासमा पुर्याउनुभएको योगदानको कदरस्वरूप दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विद्यालयको गौरवपूर्ण इतिहास निर्माणमा उहाँहरूको भूमिका अतुलनीय रहेको कार्यक्रमका सहभागीहरूले स्मरण गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले त्रिवेणी माविले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलताको प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकाले विद्यालयको हरेक सफलतामा साथ दिएको र यस विद्यालयका विद्यार्थीहरूले पनि हरेक विधामा उल्लेख्य सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । नगरप्रमुख श्रेष्ठले विद्यालयको थप विकासका लागि नगरपालिका सधैँ सकारात्मक रहेको बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा प्रधानन्यायाधीश राउत, नगरप्रमुख श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूले विद्यालयद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभएको थियो । विद्यालयको इतिहास, उपलब्धि र भावी योजना समेटिएको उक्त स्मारिकाले विद्यालयको ५८ वर्षे यात्रालाई दस्तावेजीकरण गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले विद्यार्थी सङ्ख्या र शैक्षिक गतिविधिका लागि अझ थप भौतिक संरचना आवश्यक रहेको औँल्याउँदै त्यसका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । प्राथमिक तहकी शिक्षिका अम्बिका राईलाई उत्कृष्ट वर्ष शिक्षकका रूपमा सम्मानित गरियो भने खेलकुदतर्फ शिक्षक आयुस कार्कीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसरी विद्यालयले आफ्नो ५८औँ वार्षिकोत्सव मनाउँदै पूर्व र वर्तमानका व्यक्तित्वहरूलाई सम्मान गर्दै भविष्यको मार्गचित्र पनि प्रस्तुत गरेको छ ।
