सन्दीप लामिछाने प्रकरण, दोषी को ?
✒️………उप-प्राध्यापक श्याम खनाल
नायक पर्ल शाह प्रकरणपछि पुनः सन्दीप लामिछाने प्रकरणले बजारमा हलचल ल्याएको छ । कसैले भन्छन् – हेर क्यारिएरको ख्याल नगरी त्यो नाबालिका माथि त्यस्तो सम्म गर्न सक्ने, खेलाडि न सेलाडि अब जेल हाल्नु पर्दछ । फेरी कसैले भन्छन् – हेर त्यो कुन चाहिँ केटी रहिछ । सल्लाहले होटल जाने अनि अहिले आएर षडयन्त्र गर्ने । गाईले पुच्छर ठडाएपछि गोरुको मात्र दोष हुन्छ र ?
हामी वैदिक सनातन हिन्दू धर्माबलम्बीहरूका शास्त्रले भन्छन् – विवाहभन्दा पहिलेको सम्बन्ध अत्यन्तै अक्ष्यम्य छ । त्यसैले यो कुराको उच्चारण र कल्पनै पनि नगर्नु । २५ वर्षसम्मको अध्ययन अनुसन्धानपछि गृहस्थाश्रममा प्रवेश गर्ने इच्छा भएमा मात्र विवाह गर्नु । अझ विवाहलाई कुनै भोगविलासको लागि नलिएर सृष्टिको प्रक्रियाको रूपमा यसलाई लिनु ।
त्यसैले हाम्रा शास्त्रहरूले कुनै भोगवादी शिक्षालाई कहिले पनि जोड दिएनन्, दिए त केवल योगवादी शिक्षालाई । भोगले रोगी बनाउँछ, कामान्ध बनाउँछ, पापी बनाउँछ भने योगले निरोगी बनाउँछ, आत्मालाई परमात्मासँग मिलाउन सिकाउँछ, पापकर्मबाट टाढा हुन सिकाउँछ । हाम्रा शास्त्रले भन्छन् –
“मात्रा स्वस्रा दुहित्रा वा न विविक्तासनो भवेत् ।
बलवानिन्द्रियग्रामो विद्वांसमपि कर्षति ।।”
अर्थात् अरू त कुरै छोड तिमीलाई जन्म दिने आमा, तिम्री पत्नीकि आमा, तिम्रा दिदीबहिनी र छोरीहरूसँग पनि एक्लै एकान्तमा नबस । किनकि कस्ता कस्ता विद्वान् भन्ने महापुरुषलाई त उनीहरूका इन्द्रियहरूले ढलाइदिन्छन्, मतिभ्रम गराइदिन्छन् भने तिम्रो त कुरै छोड ।
विशेष गरेर नयाँ शिक्षाको लागू भएपछि नेपालमा लागू भएको शिक्षा प्रणालीले हामीलाई हामी ऋषि मुनीका सन्तान नभई बाँदरका सन्तान हौँ भन्न सिकायो । त्यसको फलस्वरुप विस्तारै विस्तारै पतनोन्मुख गराउँदै समाजमा यो किसिमको अवस्था ल्याइपुर्यायो । त्यसैले त योगी नरहरिनाथले भन्नुहुन्थ्यो – शिक्षासुधारे सकलसुधारः शिक्षाविकारे सकलविकारः । यसरी पतनोन्मुख समाज अझ विशेष गरेर २०६२/२०६३ पछि त झनै कुनै अनुशासनमा नरहेको कुरा स्पष्ट छँदैछ ।
यसपछि आएका मुखियाहरू हाम्रा वैदिक आचरणका विरुद्ध लाग्ने खालका भए । बकाइदासँग छाती फुलाएर ती मुखियाहरूले “धर्म भन्ने चिज नै छैन । परलोक भन्ने चिज त झन् छँदै छैन । नराम्रो काम गरेर परलोक गएपछि दण्ड पाइन्छ भन्ने कुरा बेकार हो । यो एकवारको जुनीमा मनलाग्दो काम गर । आफूलाई इच्छा लागेको काम गर । लुटेर ढाँटेर छलेर भएपनि टन्न खाऊ मोटाऊ । किनकि यो खरानी भएर जाने शरीर पनि कहिँ फर्केर आउँछ र” भन्ने खालको राक्षसी पेटारे शिक्षा आम समुदायमा दिन थाले । पाठ्यक्रमबाट नैतिक शिक्षालाई हटाए । विदेशी रक्सि खानुलाई आधुनिक संस्कारको रूपमा परिभाषित गरी हाम्रा वैदिक मान्यताहरूलाई अन्धविश्वासको रूपमा अर्थ्याए । परधन पत्थर समान परनारी माता समान भन्ने कुरालाई हावामा उडाए । नारी स्वतन्त्रताका नाममा अनावश्यक वेथिति निम्ताए ।
यसैको परिणामस्वरुप हो सन्दीप लामिछाने प्रकरण । त्यसैले हाम्रा नैतिक शिक्षाका मान्यताहरूलाई अन्धविश्वासका नाममा आगो लगाउने अन्धवादीहरू, यौनशिक्षाका नाममा ९-१० कक्षाका कलिला विद्यार्थीहरूलाई How to use condom सिकाउने अन्धशिक्षाविद्हरू, एड्स शिक्षाका बारेमा “ड्राइभर दाइ छ छैन कन्डम…” भन्दै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट फुक्ने फुकाउने अन्धस्वास्थ्यविद्हरू र living together को अवैदिक जङ्गली नियम बनाउने अन्धकानूनविद् यसका प्रमुख दोषी हुन् भने छोराछोरीहरूलाई आफ्नो घरमा धर्मानुकूल आचरण दिन नसकेका ड्याडी मम्मीहरू पनि यस्तो घटना हुनुको दोस्रो कारकतत्त्व हुन् ।
