काठमाडौँ, कात्तिक १० गते। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गतेका लागि तय गरेको राष्ट्रिय भेलाको तयारीलाई तीव्र पारेको छ। पार्टीको आन्तरिक जीवन सुदृढ गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे एकमत कायम गर्ने र जनजीविकाका सवालमा पार्टी पङ्क्तिलाई एकै बुझाइमा ल्याउने लगायतका महत्वपूर्ण उद्देश्य बोकेको यस भेलाको तयारी स्वरूप मंगलबार केन्द्रीय कार्यालयमा दोस्रो बैठक सम्पन्न भएको छ।
उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने केन्द्रीय कमिटीको तेस्रो बैठकको निर्णयलाई कार्यान्वयन गर्न भेला महत्वपूर्ण हुने बताउनुभयो। पौडेलले यस भेलाले पार्टी पङ्क्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले २०८२ सालको निर्वाचनको परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा परिभाषित गर्दै आगामी निर्वाचनमा एमालेको प्रभाव र सामर्थ्य पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय भेलामार्फत पार्टीलाई पुरानै राजनीतिक धारमा फर्काउँदै आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न सक्षम बनाइने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले आवश्यकता अनुसार सडक संघर्ष वा निर्वाचनका लागि तयारीसहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो। भेलाको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरसम्म व्यापक प्रचारप्रसारका माध्यमबाट पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो। भेलाको अध्यक्षता गर्नुभएका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले तयारीका क्रममा भएका कार्यप्रगतिबारे विस्तृत जानकारी गराउनुभयो।
ढकालका अनुसार, राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ। भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना र आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना प्रतिनिधिहरूको उपस्थिति सुनिश्चित गरिएको छ।
त्यसैगरी, ७७ जिल्ला कमिटी, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले एक हजार ५०६ जनाको सहभागिता रहनेछ।
संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना सांसद, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये १९६ जना मेयर तथा गाउँपालिका अध्यक्ष र ३४२ जना उपमेयर तथा गाउँपालिका उपाध्यक्षको सहभागिता रहने एमालेले जनाएको छ। विभिन्न जनसंगठनबाट ९६ जना प्रतिनिधिको पनि भेलामा उपस्थिति रहनेछ।
नेकपा (एमाले) ले यस राष्ट्रिय भेलालाई पार्टीको आन्तरिक एकतालाई थप सुदृढ गर्ने, संगठनलाई सक्रियता प्रदान गर्ने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिहरूका लागि पार्टी पङ्क्तिलाई एकताबद्ध र अनुशासित रूपमा परिचालन गर्ने एक महत्वपूर्ण अवसरका रूपमा लिएको छ। यस भेलाले पार्टीको आगामी कार्यदिशा तय गर्न निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
