नवलपुर सेवा समाज यू.ए.ई.को १२औँ अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न !!!
श्री नारायणी आधारभूत विद्यालय, देवचुली न.पा. १५ प्रगतिनगर, नवलपरासी (ब.स.पू.)
शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र नभई व्यक्तिको सम्पूर्ण जीवन निर्माण गर्ने आधारशिला हो। यो एउटा यस्तो सामाजिक प्रक्रिया हो, जसले व्यक्तिलाई अर्थपूर्ण, सम्मानजनक र जिम्मेवार जीवन जिउन सक्षम बनाउँछ। समाजको संरचना, विकास र परिवर्तनमा शिक्षाको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। कुनै पनि राष्ट्रको समृद्धि र उन्नतिको मूल आधार नै शिक्षित, सचेत र सक्षम नागरिक हुन् भन्ने कुरा सर्वविदितै छ।
नवलपुर सेवा समाज यू.ए.ई.ले वैदेशिक भूमिमा रहेर पनि आफ्नो मातृभूमि नवलपुर जिल्लाको शैक्षिक विकासलाई केन्द्रमा राख्दै विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। २०१६ मा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक युएईमा रहेका नवलपरासी पूर्व (सुस्ता) नवलपुर जिल्लाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकीकृत गर्दै “नवलपुर सेवा समाज यू.ए.ई.” को स्थापना गरिएको हो। यो संस्था नवलपुरबासीहरूको साझा छाता संगठनका रूपमा स्थापित भई शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग तथा मानवीय सेवामा समर्पित रहँदै आएको छ।
समाजले आफ्नो पाँचौं कार्यसमितिको वार्षिक कार्ययोजना अन्तर्गत नवलपुर जिल्लाभित्र रहेका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक उन्नयनका लागि अक्षय कोष स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट विद्यालय छनोट गरी कुल ८ वटा अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको थियो। यसै शृङ्खलामा १२औँ अक्षय कोष स्थापना कार्यक्रम श्री नारायणी आधारभूत विद्यालय, देवचुली न.पा. १५ प्रगतिनगरमा सफलतापूर्वक सम्पन्न भएको छ।
यस महत्वपूर्ण कार्यक्रममा नवलपुर सेवा समाज यू.ए.ई.का कोषाध्यक्ष श्री गोविन्द कँडेलज्यू, वरिष्ठ उपाध्यक्ष श्री विष्णुप्रसाद अधिकारीज्यू, सचिव श्रीमती बसन्ती रायमाझीज्यू, सल्लाहकार श्री नरजित राना ज्यू तथा कार्यक्रम संयोजक एवं केन्द्रीय सदस्य श्री पूर्ण राणाभाट ज्यूको विशेष उपस्थिति रहेको थियो। साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, देवचुली नगरका विशिष्ट व्यक्तित्वहरू, अभिभावकहरू तथा अन्य सरोकारवाला महानुभावहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य, मर्यादित र ऐतिहासिक बनाएको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले नवलपुर सेवा समाज यू.ए.ई.ले गरेको यस प्रकारको सामाजिक तथा शैक्षिक योगदानको खुलेर प्रशंसा गरेनु भएको थियो । शिक्षा नै राष्ट्र विकासको मेरुदण्ड हो भन्ने विचारलाई आत्मसात गर्दै गरिएको यस पहलले नवलपुर जिल्लाको शैक्षिक स्तर सुधारमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
अक्षय कोष स्थापनाको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई सहयोग पुर्याउनु हो। धेरै विद्यार्थीहरू आर्थिक अभावका कारण पढाइ छोड्न बाध्य हुने अवस्थालाई मध्यनजर गर्दै यस्तो कोषले उनीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूको भनाइमा यस्ता अक्षय कोषहरूले विद्यालयको शैक्षिक वातावरण सुधार्नुका साथै विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि र आत्मविश्वास वृद्धि गर्न मद्दत गर्छन्।
यस कार्यक्रमपछि विद्यालय परिसरमा उत्साहपूर्ण वातावरण देखिएको थियो। विद्यार्थीहरू, शिक्षकहरू तथा अभिभावकहरू सबैमा नयाँ आशा र प्रेरणा थपिएको छ। विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले यस प्रकारको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठूलो टेवा पुग्ने विश्वास गरेको यसै संस्थाका अध्यक्ष गोपाल पराजुलीले बताए।
नवलपुर सेवा समाज यू.ए.ई.ले विगतदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न विद्यालयहरूमा अक्षय कोष स्थापना गर्दै आएको छ। यसले केवल आर्थिक सहयोग मात्र नभई समाजमा शिक्षा प्रति सकारात्मक सोच विकास गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ। विदेशमा रहेर पनि आफ्नो गाउँ, समाज र मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्न पाउँदा सम्पुर्ण टिम खुसी भएको अध्यक्ष पराजुलीले बताए।
