तस्बिरको क्याप्शन: इजरेल र अमेरिकाले आक्रमण गरेपछि इरानले पनि विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ। तस्बिर स्रोत: Reuters
इरानले इजरेलमाथि गरेको क्षेप्यास्त्र तथा ड्रोन हमलापछि मध्यपूर्वमा तनाव बढेको छ। यस घटनाले कतार, संयुक्त अरब एमिरेट्स (यूएई) र बाहरेनमा रहेका नेपाली समुदायमा कस्तो असर परेको छ भन्ने विषयमा बीबीसी नेपालीले त्यहाँका नेपालीहरूसँग कुराकानी गरेको छ।
कतारको राजधानी दोहामा बस्ने गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रबिन मगरले आइतवार सामान्य रूपमा काममा गएको बताएका छन्। उनले भने, “बाटोमा गाडीहरू चलेकै छन्। सुपरमार्केट, ब्याङ्कहरू खुलेकै छन्। स्कूलहरू चाहिँ बन्द छन्। सकिन्छ भने घरबाटै काम गर्न भनिएको छ।”
त्यस्तै, यूएईको दुबईमा बस्ने विकास शाहीले पनि त्यहाँको अवस्था सामान्य रहेको जानकारी दिए। विगतमा यूएईको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष रहिसकेका शाहीले भने, “यहाँ प्रहार भएका क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक आकाशमा नै खसाइँदो रहेछ। त्यसैले स्थिति नियन्त्रणमै भएको देखिन्छ।” बाहरेनका भुवन बिमलीले पनि अहिलेसम्म स्थिति ठिकै रहेको बताएका छन्।
विस्फोटनको आवाजले त्रास
इजरेल र अमेरिकाले शनिवार इरानमाथि हमला गरेपछि इरानले इजरेलका अतिरिक्त कतार, यूएई, बाहरेनसहित वरपरका देशहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको थियो। कतारमा अमेरिकी सेनाको अल उदैद हवाई अखडा र यूएईमा पनि अमेरिकी सेनाको अखडा छ भने बाहरेनमा अमेरिकी जलसेना यूएस फिफ्थ फ्लीटको मुख्यालय छ। इरानले ती स्थानहरूलाई लक्षित गरी प्रत्याक्रमण गरेको जनाएको छ। यद्यपि, धेरैजसो आक्रमणलाई प्रतिरोध गरी निस्तेज पारिएको बताइएको छ।
आकाशमै क्षेप्यास्त्र निष्क्रिय बनाउँदा पनि विस्फोटनका आवाज आउने र टुक्राटाक्री खस्ने जोखिम रहने बताइन्छ। दोहाका रबिन मगरले शनिवार दिउँसो र राति तथा आइतवार बिहान पनि कैयौँ पटक विस्फोटनको आवाज सुनेको बताए। उनले भने, “हिजो दिउँसो विस्फोटनका आवाजहरू एकदम सुनियो। राति चाहिँ मिसाइलहरू झरेको र यहाँको सुरक्षा निकायले प्रतिरोध गरेको पनि आकाशमा देखियो। आइतवार बिहान पनि विस्फोटनका आवाज सुनिएको थियो।” बाहरेनका भुवन बिमलीले त्यस्ता आवाज सुन्दा डर लागे पनि आफूहरू काममा लागिरहेको बताए। उनले आइतवार घरबाटै काम गरेको जानकारी दिए। दुबईबाट विकास शाहीले अवस्था खराब नहोस् भन्ने आशा व्यक्त गरे।

तस्बिरको क्याप्शन: दोहामा बस्ने रबिन मगरले शनिवार र आइतवार विस्फोटनका आवाजहरू सुनिएको बताए। तस्बिर स्रोत: Rabin Magar
‘सावधान सन्देश’
रबिन मगरले मोबाइलमा चेतावनीमूलक सन्देश आउने गरेको र त्यसका आधारमा मानिसहरूले सावधानी अपनाउने गरेको बताए। उनका अनुसार, “कुनै घटना हुन आँटेको छ भने त्यस्तो सूचना आउने रहेछ। कुनैमा सचेत रहन भनिएको हुन्छ त कुनैमा बाहिरै ननिस्कन भनिएको हुन्छ। त्यो सूचना आएको केही बेरमा मात्र बम पड्केको वा मिसाइलको आवाजहरू सुनिन्छ।” बाहरेनमा पनि मोबाइलमा त्यस्ता सन्देशका साथै बाहिर पनि साइरन बजाएर मानिसहरूलाई सुरक्षित रहन भन्ने गरिएको भुवन बिमलीले बताए। दुबईका विकास शाहीले पनि आक्रमण हुन लागेमा बाहिर ननिस्कनु भन्ने सन्देश मोबाइलहरूमा आइरहेको जानकारी दिए।

तस्बिरको क्याप्शन: मानिसहरूका मोबाइलमा सजग रहन सावधान गराउने सन्देशहरू अलार्मसहित आएको उनीहरूले बताए। तस्बिर स्रोत: Rabin Magar
नेपालीहरूको अवस्था कस्तो?
गत वर्ष जुनमा पनि इरानमा आक्रमण भएपछि कतारस्थित अमेरिकी हवाई अखडामा इरानले प्रत्याक्रमण गरेको थियो। दोहाका रबिन मगरका अनुसार, “लामो समयदेखि यहाँ बसेकाहरू अलिकति जानकार हुन्छन्। तर भर्खर भर्खर यहाँ आएका नेपालीहरू भने अलि बढी त्रसित भएको पाइएको छ।” दुबईका विकास शाहीले नेपालीहरू चिन्तित र हतोत्साह त भएको तर कुनै समस्या भने आइपरेको खबर नभएको बताए। बाहरेनका भुवन बिमलीले “यस्तो बेला डर त अलिअलि लागिहाल्छ” भने।

तस्बिरको क्याप्शन: शनिवार जेबेल अली बन्दरगाहलगायत दुबईमा कैयौँ क्षेप्यास्त्र तथा ड्रोन हमलाको प्रतिरोध गरिएको अधिकारीहरूले बताएका छन्। तस्बिर स्रोत: Reuters
‘सुरक्षा पहिलो प्राथमिकता’
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म खाडीमा नेपालीहरू कुनै गम्भीर समस्यामा परेको जानकारी प्राप्त नभएको बीबीसीलाई बताएका छन्। जारी तनावबीच नेपाली नागरिकहरूको सुरक्षा प्रमुख प्राथमिकता रहेको उनले स्पष्ट पारे। “अवस्था बिग्रिएर भोलि उद्धार नै गर्नुपर्ने स्थिति आयो भने त्यो तहमा पनि हाम्रो कुरा हुन्छ। अहिले चाहिँ सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका छौँ,” प्रवक्ताले भने। खाडी क्षेत्रमा झन्डै २० लाख नेपालीहरू रहेकाले तिनको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै उनले सबै नियोगहरूलाई नजिकबाट सम्पर्कमा रहन निर्देशन दिइएको जानकारी दिए। काठमाण्डूबाट पनि शनिवारदेखि नै आवश्यक समन्वय भइरहेको उनले बताए।
सम्बन्धित देशहरूमा रहेका दूतावासहरूमार्फत् नेपालीहरूलाई घरभित्रै रहन र बाहिर ननिस्कन अनुरोध गरिएको प्रवक्ता क्षेत्रीले बताए। “सम्बन्धित सरकारहरूले सुरक्षाबारे दिएका निर्देशनहरूलाई अक्षरशः पालना गर्न, एकअर्काको र दूतावासको सम्पर्कमा रहन अनि कुनै खालको समस्या भए तुरुन्त दूतावास अथवा तत् विषय हेर्ने निकायसँग सम्पर्क गर्न हामीले भनेका छौँ,” उनले थपे।
राष्ट्रिय मानव अधिकार आयोगले आइतवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यक अनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने भन्दै सरकारले तथ्याङ्क सङ्कलन गर्ने, जानकारी लिने अनि जोखिममा रहेकाहरूलाई उद्धार गर्नाका लागि पहलकदमी लिन आह्वान गरेको छ।
मन्त्रालयले इजरेल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म आफ्नो योजना स्थगित गर्ने सुझाव दिएको छ। मध्यपूर्वका अन्य देशमा भएका नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न भनिएको छ।
आवश्यक परे तल उल्लिखित माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ:
काठमाण्डूस्थति परराष्ट्र मन्त्रालय
फोनः +977-9862678437
इमेलः waa@mofa.gov.np
तेल अभिभस्थित नेपाली दूतावास
फोनः +972-545582077
इमेलः telaviv@nepalembassyil.com
दोहास्थित नेपाली दूतावास
फोनः +974-66214419
इमेल: eondoha@mofa.gov.np
