इन्धनको मूल्यमा भएको असामान्य वृद्धिका कारण पाकिस्तान सुपर लिग (पिएसएल) को आगामी संस्करण दर्शकविहीन स्टेडियममा आयोजना गरिने भएको छ। यसअघि ६ वटा सहरमा आयोजना गर्ने तयारी गरिएको पिएसएलका खेलहरू अब लाहोर र कराचीमा मात्रै सीमित हुनेछन्। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का शीर्ष अधिकारीहरूले यो जानकारी दिएका हुन्। यस वर्षको पिएसएलको उद्घाटन आगामी बिहीबार गद्दाफी स्टेडियममा हुने तय भएको छ, तर अब उद्घाटन समारोह पनि रद्द गरिएको छ।
पाकिस्तानमा इन्धनको मूल्य अकासिनुको मुख्य कारण अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपश्चात मध्यपूर्वी क्षेत्रमा फैलिएको द्वन्द्वलाई मानिएको छ। यो द्वन्द्व थप लम्बिन सक्ने र त्यसले इन्धनको मूल्यमा थप वृद्धि ल्याउन सक्ने अनुमान गरिएको छ। इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण पाकिस्तान सरकारले आफ्ना नागरिकहरूलाई अनावश्यक आवतजावत सीमित गर्न आग्रह गरेको छ। पिसिबीका अध्यक्ष मोहसिन नक्भीले वर्तमान युद्ध कति समयसम्म चल्नेछ भन्नेबारे यकिन नभएको उल्लेख गर्दै यो निर्णय लिनु आवश्यक रहेको बताएका छन्।
अध्यक्ष नक्भीले भनेका छन्, ‘हामी जनतालाई आवतजावत सीमित गर्न आग्रह गरिरहेका छौं। यस्तो अवस्थामा हरेक दिन हजारौं दर्शकलाई रंगशालामा आउन भन्नु उचित हुँदैन। त्यसैले, इन्धन संकट जारी रहुन्जेल दर्शकविहीन खेलहरू गराउने निर्णय गरेका छौं। यो हाम्रा लागि निकै कठिन निर्णय हो, तर यो आवश्यक थियो। साथै, प्रतियोगिताको उद्घाटन समारोह पनि रद्द गरिनेछ।’ यस निर्णयले पिएसएलको गरिमामा केही असर पर्ने भए तापनि देशको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यो कदम चालिएको उनको भनाइ छ।
पिसिबीले दर्शकविहीन खेल गराउने निर्णयसँगै बिक्री भएका सबै टिकटको रकम ७२ घण्टाभित्र फिर्ता गरिने जानकारी दिएको छ। यसबाहेक, गेट आम्दानीबाट हुने घाटाको क्षतिपूर्ति सम्बन्धित फ्रेन्चाइज मालिकहरूलाई दिने व्यवस्था गरिने पनि नक्भीले बताएका छन्। यस निर्णयबाट रावलपिन्डी, फैसलाबाद, मुल्तान र पेसावरका समर्थकहरूले पिएसएलका खेलहरू आफ्नो सहरमा हेर्न पाउने छैनन्। यस सन्दर्भमा नक्भीले विशेष गरी ती चार सहरका समर्थकहरूसँग माफी मागेका छन्।
‘हामीले आवतजावत सीमित गर्नुपर्ने अवस्था छ र हाम्रा स्रोतहरूको अत्यधिक प्रयोग गर्न चाहँदैनौं,’ नक्भीले थपे, ‘विशेष गरी पेसावरका दर्शकहरूसँग माफी चाहन्छु, जहाँ पहिलो पटक पिएसएलका खेलहरू आयोजना हुने तयारी थियो। तर, दर्शक नै नहुने भएपछि त्यहाँ गएर खेल सञ्चालन गर्नुको कुनै अर्थ थिएन।’ यो निर्णय गर्नुअघि पाकिस्तानका प्रधानमन्त्री तथा पिसिबीका संरक्षक सेहबाज सरिफले आठवटै फ्रेन्चाइजका प्रतिनिधिहरूसँग परामर्श गरेको जानकारी पनि उनले दिए। त्यो बृहत् छलफलपश्चात् नै खेल हुने मैदानको संख्या घटाउने र खाली मैदानमा आयोजना गर्ने निर्णय भएको थियो।
यसैबीच, इन्धन संकट र सुरक्षाका कारण देखाउँदै केही विदेशी खेलाडीहरूले व्यक्तिगत कारणले पिएसएलबाट आफ्नो नाम फिर्ता लिएका छन्। नाम फिर्ता लिने खेलाडीहरूमा अस्ट्रेलियाका ज्याक फ्रेजर म्याकगर्क र स्पेन्सर जोनसन, दक्षिण अफ्रिकाका ओटनिल बार्टम्यान र वेस्ट इन्डिजका गुडाकेश मोती जस्ता प्रमुख खेलाडीहरू रहेका छन्। यसले प्रतियोगिताको आकर्षणमा केही कमी ल्याउन सक्ने भए तापनि पिसिबीले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्दै प्रतियोगितालाई सफल पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: ९ चैत्र २०८२ १०:०२ सोमबार
