तस्बिर स्रोत, EPA
इरानको इस्लामिक गणतन्त्र अहिले एक निर्णायक मोडमा उभिएको छ। शनिवार बिहान सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको निवासमा भएको हमला र त्यसपछिका घटनाक्रमले मध्यपूर्वमा नयाँ भूराजनीतिक हलचल ल्याएको छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा उनको निवास परिसरमा ठूलो क्षति देखिएको थियो। प्रारम्भमा इरानी अधिकारीहरूले खामेनेईलाई सुरक्षित स्थानमा सारिएको बताए पनि, सरकारी टेलिभिजनमा हुने भनिएको उनको सम्बोधन हुन सकेन।
शनिवार साँझ इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले टेलिभिजनमार्फत सर्वोच्च नेता “अब नरहेको थुप्रै सङ्केतहरू” मिलेको घोषणा गरे। इजरेली र अमेरिकी सञ्चारमाध्यमहरूले उनको निधनको पुष्टि गरेका विवरणहरू दिए। इरानी अधिकारीहरूले दाबी अस्वीकार गरिरहे पनि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामाजिक सञ्जाल पोस्टपश्चात् इरानको सरकारी टेलिभिजनले खामेनेईको निधन भएको औपचारिक पुष्टि गर्यो।
इरानको उतारचढावपूर्ण इतिहासमा यो कठिन समय भए पनि, शक्तिशाली धर्मगुरु तथा सैन्य कमान्डरहरूले यस्तो स्थितिका लागि पूर्वतयारी गरेका थिए। गत जुनमा भएको युद्धमा इजरेलले पहिलो रातकै आक्रमणमा परमाणु वैज्ञानिक तथा सुरक्षा प्रमुखहरूलाई मारेको थियो। त्यसबेला खामेनेई पनि निसाना हुन सक्ने स्पष्ट सन्देश दिइएको थियो। युद्धभरि खामेनेई विशेष भूमिगत बङ्करमा बसी, माथिल्लो तहमा रिक्तता हुन नदिन तत्काल पदस्थापनका लागि सुरक्षा अधिकारीहरूको सूची तयार पारेका थिए। ‘असेम्बली अफ एक्स्पर्ट्स’ ले सम्भावित उत्तराधिकारीबारे छलफल गर्दै आएको थियो, जसमा उनका छोरा मोज्तबा लगायतको नाम चर्चामा थियो।

तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई इजरेली तथा अमेरिकी हमलामा शनिवार मारिएपछि मानिसहरू तेहरानमा शोकमा भेला भएका छन्
यसपटकको हमलामा सर्वोच्च नेता मात्र नभई अन्य वरिष्ठ अधिकारीहरू पनि मारिएको बताइएको छ। नयाँ जिम्मेवारी सम्हाल्नु पर्ने अधिकारीहरूले आफूहरू अडिग रहेको र उत्तराधिकारी चयन प्रक्रिया सहज हुनेछ भनी विश्वलाई सन्देश दिनु आवश्यक छ। खामेनेईको ३६ वर्षीय शासनको अन्त्य उनका समर्थकहरू, विशेषगरी इस्लामिक रेभलुश्नरी गार्ड्स कोर (आईआरजीसी) तथा इस्लामिक क्रान्तिका समर्थकहरूका लागि ठूलो धक्का हो। तर, तेहरान र कराजका गल्लीहरूमा उनको निधनको खबर सुनेर उत्सव मनाइरहेका मानिसहरूको भिडिओ बीबीसीले पुष्टि गरेको छ।

तस्बिर स्रोत, Airbus
तस्बिरको क्याप्शन, तेहरानस्थित आयातोल्लाह अली खामेनेईको निवास परिसरमा हमला अघि र पछिको दृश्य देखिने भूउपग्रहबाट खिचिएको तस्बिर
पश्चिमा जगत्, विशेषगरी संयुक्त राज्य अमेरिकाप्रति गहिरो सशङ्क खामेनेईले इरानभित्र कठोर शासन चलाए। सुधारका आह्वान तथा विरोध प्रदर्शनहरूको दमन गर्दै उनले आफ्नो पकड कायम राखेका थिए। इजरेल र अमेरिकासँगको प्रत्यक्ष सैन्य टकरावका माझ देशभित्र परिवर्तनका निम्ति आवाज उठ्न थालेपछि उनले जीवनकै सबभन्दा ठूलो चुनौती बेहोरेका थिए। हालै तेहरान पुग्दा सुरक्षा दमनका कारण उत्पन्न पीडा र आक्रोश ताजै थियो।
खामेनेईको शासनको अचानक अन्त्यपश्चात् अब प्रश्नहरू उनका उत्तराधिकारीतर्फ सोझिने छन्। यो परिवर्तनले ४७ वर्ष पुरानो इस्लामिक गणतन्त्रको दिशा बदल्न सक्छ वा सक्दैन भन्ने प्रमुख चासोको विषय बनेको छ। जोसुकै उत्तराधिकारीका रूपमा आए पनि, तिनको मुख्य लक्ष्य वर्तमान व्यवस्थाको रक्षा गर्नु हुनेछ, जसले धर्मगुरु तथा शक्तिशाली सुरक्षा फौजलाई सत्तामै राखिरहन्छ। अन्त्यभन्दा निकै पर रहेको यो युद्ध अहिले अनपेक्षित र खतरनाक तरिकाले चलिरहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि उपलब्ध छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्रीहरू हेर्न सक्नुहुन्छ। साथै, बीबीसी नेपाली सेवाको कार्यक्रम सोमवारदेखि शुक्रवारसम्म बेलुकी पौने नौ बजे रेडिओमा सुन्न सक्नुहुन्छ।
