सप्तरी: सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको बलानबिहुल गाउँपालिका वडा नम्बर २, दिगियामा विशेष सुराकीको आधारमा आइतबार राति खटिएको संयुक्त प्रहरी टोलीले ५८ किलो गाँजा बरामद गरेको हो। प्रहरीले स्थानीय किशुन देव यादवको निर्माणाधीन तीनतले पक्की घरमा छापा मार्दा उक्त परिमाणको लागुऔषध फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीका अनुसार, घटनास्थलबाट घरधनी ४५ वर्षीय किशुन देव यादव र सोही घरको दोस्रो तलामा सुतिरहेका अर्का ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डम्बरबहादुर पुरीको कमान्ड तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि धनुषाबाट खटिएका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा रहेको संयुक्त टोलीले उक्त घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको तल्लो तलामा सेतो प्लास्टिकका तीनवटा बोराभित्र लुकाएर राखिएको अवस्थामा गाँजाजस्तो देखिने उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै आरोपित, बरामद गरिएको ५८ किलो गाँजा र घटनासँग सम्बन्धित अन्य सामग्रीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
