आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाण्डू महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ बीच प्रतिस्पर्धा हुँदैछ। यस निर्वाचनबाट दुईमध्ये कम्तीमा एक जना पराजित हुने निश्चित छ। नेपालको संसदीय इतिहासमा बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्मका उच्च पदस्थ व्यक्तिहरूले चुनावी हार बेहोरेका धेरै उदाहरण छन्। यस आलेखमा हामीले नेपालका प्रमुख राजनीतिक व्यक्तित्वहरूको चुनावी हारका केही महत्त्वपूर्ण घटनाक्रमको चर्चा गरेका छौँ।
तस्बिर स्रोत, Getty/NC/UML/OPMCM
नेपालको पहिलो संसदीय निर्वाचन, विसं २०१५ मा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ काठमाण्डू क्षेत्र नम्बर १ बाट प्रजातान्त्रिक योद्धा गणेशमान सिंहसँग पराजित भएका थिए। सोही चुनावमा तत्कालीन नेकपाका महासचिव केशरजङ्ग रायमाझी तथा पूर्वप्रधानमन्त्रीहरू केआई सिंह र टंकप्रसाद आचार्यले पनि हार बेहोरेका थिए। कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेको उक्त निर्वाचनमा बीपी कोइरालाबाहेक प्रायः सबै प्रमुख दलका नेताहरू पराजित बनेका थिए।
तस्बिर स्रोत, CPNUML
विसं २०४८ सालमा बहुदलीय व्यवस्था पुनर्वहाली भएपछिको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई काठमाण्डू क्षेत्र नम्बर १ मा नेकपा एमालेका लोकप्रिय महासचिव मदन भण्डारीसँग पराजित भएका थिए। मदन भण्डारीको निधनपछि २०५० मा भएको उपनिर्वाचनमा भने भट्टराई मदनपत्नी विद्या भण्डारीसँग पराजित भएका थिए।
तस्बिर स्रोत, Nepali Congress
विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले काठमाण्डू २ र रौतहट १ दुवै निर्वाचन क्षेत्रबाट हार बेहोरेका थिए। यद्यपि, निर्वाचनमा पराजित भए पनि उनलाई मनोनीत कोटाबाट संविधानसभा सदस्य बनाईएको थियो र पछि उनी प्रधानमन्त्री समेत बने। सोही निर्वाचनमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा, एमालेका प्रभावशाली नेता केपी ओली (झापामा), कांग्रेस उपसभापति सुशील कोइराला (बाँकेमा) लगायत थुप्रै प्रमुख नेताहरूले अप्रत्याशित हार भोगेका थिए। पछि नेपालकी पहिलो महिला राष्ट्रपति बनेकी विद्या भण्डारी पनि २०६४ सालमा काठमाण्डू क्षेत्र नम्बर ४ मा पराजित भएकी थिइन्।
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Getty Images
पहिलो संविधानसभा विघटनपछि विसं २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड काठमाण्डूमा पराजित भएका थिए। यद्यपि उनी सिरहाबाट निर्वाचित भएर संविधानसभामा प्रवेश गरे। सोही निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाल सर्लाहीमा पराजित भए पनि इलामबाट निर्वाचित भएका थिए। नयाँ संविधानले एक व्यक्तिलाई दुई स्थानबाट प्रतिस्पर्धा गर्न रोक लगाएपछि विसं २०७४ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन उपसभापति रामचन्द्र पौडेल (हालका राष्ट्रपति) तनहुँ १ बाट एमालेका किसान श्रेष्ठसँग पराजित भए। सोही चुनावमा राप्रपा अध्यक्ष कमल थापाले पनि मकवानपुर १ बाट हार बेहोरेका थिए।
तस्बिर स्रोत, RSS
विसं २०७९ सालको अघिल्लो संसदीय निर्वाचनमा मधेशकेन्द्रित राजनीतिमा उदाएका दुई पार्टीका अध्यक्ष, जसपा नेपालका उपेन्द्र यादव र जनमत पार्टीका सीके राउतबीच सप्तरी २ मा प्रतिस्पर्धा भयो। उक्त चुनावमा उपेन्द्र यादव राउतसँग पराजित भए। पछि उनी बारा २ मा भएको उपनिर्वाचनबाट संसद्मा प्रवेश गरे। निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङका अनुसार ठूला नेताहरू हार्दा संसद् कमजोर हुने भए पनि चुनावी प्रक्रियालाई उच्च पारदर्शी र कानुनसम्मत बनाउँदा परिणाम विश्वसनीय र स्वीकार्य हुने गर्दछ।
