२ मार्च २०२६
नेपाल प्रहरीले हालै आफ्नो मुख्यालय, नक्साल, काठमाण्डूमा आर्टिफिशल इन्टेलिजेन्स एन्ड एड्भान्स्ड एनालिटिक्स सेल (एआई-एएसी) सञ्चालनमा ल्याएको छ। मुलुकमा साइबर अपराध तथा भ्रामक एवं मिथ्या सूचनाले सुरक्षा चुनौती बढाइरहेका बेला यस सेलको स्थापनाले विशेष महत्त्व राखेको छ। नेपालले गत वर्ष मात्र एआई नीति ल्याएको भए तापनि, एआईको प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सहकार्य गर्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमवार उक्त सेलको औपचारिक उद्घाटन गरेका थिए। यसै सन्दर्भमा, बीबीसी न्यूज नेपालीका गनी अन्सारीले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेसँग कुराकानी गरेका छन्।
तस्बिर स्रोत, Nepal Police
एआई सेल स्थापनाका प्रमुख उद्देश्यहरू के हुन्?
प्रवक्ता काफ्लेका अनुसार, एआईको संस्थागत अवलम्बन, सक्रिय गुप्तचरी तथा पूर्वचेतावनी प्रणाली विकास, सूचना-हेरफेर नियन्त्रण, साइबर तथा डिजिटल अपराध गुप्तचरी सुदृढीकरण, एआईको सहायतामा अनुसन्धान र न्यायिक गुणयुक्त डिजिटल प्रमाण प्रणाली विकास, एआईको दुरुपयोग पहिचान तथा प्रतिरक्षात्मक सामर्थ्य विस्तार गर्नु यस सेलका मुख्य लक्ष्य हुन्।
प्रहरीको एआई सेलले कस्ता कार्यहरू गर्छ?
यो सेलले वर्तमानमा बढ्दै गइरहेका साइबर अपराध, गलत तथा मिथ्या सूचना, सङ्गठित आपराधिक सञ्जाल, वित्तीय अपराध र सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियानजस्ता राष्ट्रिय सुरक्षा चुनौतीहरू नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसका लागि जेनरेटिभ एआई, लार्ज ल्याङ्ग्वेज मोडल्स, मशीन लर्निङ तथा प्रेडिक्टिभ एनालिटिक्समा आधारित विश्लेषण प्रणाली प्रयोग गरिनेछ।
तस्बिर स्रोत, Getty Images/BBC
एआई सेलको संरचना र विस्तार योजना के छ?
प्रारम्भिक चरणमा यो सेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय अन्तर्गत रहेको छ, जहाँ हाल छ जना अनुभवी प्रहरी अधिकृत कार्यरत छन्। पाँचवटा डेस्कमार्फत् चौबिसै घण्टा निगरानी गरिन्छ। भविष्यमा, एक प्रहरी उपरीक्षक (एसपी) को कमान्डमा १६ जनाको दरबन्दी सिर्जना गरी पूर्णस्तरमा काम गर्ने र क्रमशः प्रदेश तहसम्म यसलाई विस्तार गर्ने लक्ष्य छ।
सेलले कसरी काम गर्छ, स्वस्फूर्त रूपमा वा उजुरीमा आधारित भएर?
यो सेल उजुरीमा भन्दा पनि हरेक गलत, मिथ्या सूचना र डीपफेकको चौबिसै घण्टा स्वस्फूर्त रूपमा निगरानी गर्नेछ। कानुनको उल्लङ्घन भएको पाइएमा कानुन कार्यान्वयनका लागि सम्बन्धित यूनिटलाई जानकारी गराएर आवश्यक कारबाही तथा रोकथामका कार्यहरू अगाडि बढाइनेछ। सामाजिक सञ्जालको दुरुपयोग भएमा कानुनी कारबाही हुनेबारे नागरिकलाई सचेत गराउनु यसको प्रमुख उद्देश्य हो।
आसन्न चुनावमा एआईबाट सिर्जित भ्रामक सूचना र घृणापूर्ण अभिव्यक्ति नियन्त्रणमा यसको भूमिका कस्तो रहन्छ?
एआई सेलले चुनावमा एआईबाट सिर्जित भ्रामक सूचना र घृणापूर्ण अभिव्यक्तिहरूको नजिकबाट निगरानी गर्नेछ। यसका अतिरिक्त, साइबर ब्युरो, जिल्ला तहका साइबर प्रहरी र निर्वाचन आयोगका विशेषज्ञहरूसँग समन्वय गरी निर्वाचन सुरक्षालाई असर गर्ने सूचनाहरूलाई समयमै सम्बोधन गरिनेछ।
तस्बिर स्रोत, Reuters
व्यक्तिगत सामाजिक सञ्जालका खाताहरू बन्द गराउने वा निलम्बन गर्ने कार्यमा पनि यसको संलग्नता रहन्छ?
आवश्यक देखिएमा नेपाल प्रहरीको साइबर ब्युरोमार्फत् त्यस्ता खाताहरूमाथि कारबाही अगाडि बढाउन सकिन्छ।
एआई सेलले काम थालेपछि केही व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइसकिएको भनिएको छ, केकस्ता गतिविधिमा उनीहरू संलग्न थिए?
एआईबाट सिर्जित गलत तथा भ्रामक सूचनासहितका भिडिओहरू अपलोड गरेको पाइएकाले केही व्यक्तिहरूलाई सम्बन्धित जिल्लाहरूमार्फत् कानुनी दायरामा ल्याइएको छ।
त्यस्ता व्यक्तिलाई कस्तो कारबाही हुन्छ?
साइबर कानुनको उल्लङ्घन भएमा सोहीअनुसार कारबाही हुनेछ। सामान्य प्रकृतिका भए त्यस्ता सामग्री हटाउन लगाई भविष्यमा त्यस्ता कार्य नगर्ने प्रतिबद्धता जनाएमा कानुनबमोजिम छोड्ने गरिन्छ।
प्रहरीले यो कदमबाट अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्दैन भनी कसरी सुनिश्चित गर्छ?
प्रहरीले कानुनको उल्लङ्घन वा कानुनले बर्जित गरेका कार्यहरूमा मात्र कदम चाल्छ। यसले अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको असर गर्दैन। नेपाल प्रहरी संविधान र कानुनप्रदत्त नागरिकका हकअधिकारको सदैव पालनकर्ता हो।
बीबीसी न्यूज नेपालीका सामग्रीहरू युट्युब, फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि उपलब्ध छन्।
