तस्बिर स्रोत, Reuters
समानुपातिकतर्फको मतगणना सम्पन्न भइसक्दा पनि नयाँ सरकार गठनका निम्ति अझै कम्तीमा एक साता लाग्ने देखिएको छ। निर्वाचन आयोगले अन्तिम मतपरिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाएपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार उक्त प्रतिवेदन तयार हुन थप एक साता लाग्न सक्ने अनुमान गरिएको छ।
जीसीले बीबीसीसँगको कुराकानीमा भन्नुभयो, “आयोगले प्रतिवेदन बुझाइसकेपछि संसद् डाकेर संसदीय प्रक्रियाअनुसार अघि बढ्ने वा प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा संवैधानिक निकायले निर्णय गर्नेछन्। प्रतिवेदन बुझाएसँगै आयोगको भूमिका समाप्त हुन्छ।”
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बीबीसीसँगको कुराकानीमा प्रधानमन्त्री पद सम्बन्धी प्रक्रियागत विषयहरू भने पार्टीले टुङ्ग्याउन बाँकी रहेको बताउनुभयो। अहिलेसम्मको मतगणनाअनुसार उक्त दलले प्रत्यक्षतर्फ १२५ सिट जितेको र समानुपातिक मतपरिणाममा पनि अग्रस्थानमा रहेको जानकारी गराइएको छ। रावलले भन्नुभयो, “बालेन शाह प्रधानमन्त्री बन्नुहुन्छ भन्नेमा हामीमा दुईमत छैन, किनभने त्यो सम्झौता गरेरै अघि बढिसकेको कुरा हो।” उहाँले दलका तर्फबाट प्रधानमन्त्रीको दाबेदारबारे राष्ट्रपतिको कार्यालय वा संसद सचिवालयलाई जानकारी दिने प्रक्रियामा भने अझै छलफल नभएको स्पष्ट पार्नुभयो। प्रतिनिधिसभा निर्वाचनअघि नै संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह बन्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने गरी दुई पक्षबीच सात बुँदे सहमति भएको सार्वजनिक भएको थियो।
तस्बिर स्रोत, Getty Images
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार समानुपातिकतर्फ दलहरूले पाउने सिट सङ्ख्या टुङ्ग्याउन केही समय लाग्नेछ। सो सङ्ख्या टुङ्गिएपछि दलहरूलाई समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस गर्न समय दिइनेछ। यी सबै प्रक्रिया पूरा भएपछि मात्र आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउनेछ, जसमा करिब एक साता लाग्न सक्नेछ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनका निम्ति आह्वान गर्नुहुनेछ। उक्त उपधारामा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ। संविधानको धारा ७६ को उपधारा ८ ले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैँतीस दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने उल्लेख गरेको छ।
सरकार गठनका सन्दर्भमा प्रधानमन्त्रीको नियुक्ति पहिले हुने कि सांसदहरूको शपथ भन्ने विषयमा कानुनविद्हरूबीच मतभेद देखिएको छ। कतिपयले सांसदको रूपमा शपथ लिएपछि मात्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने तर्क गरेका छन् भने अन्यले स्पष्ट बहुमतको अवस्थामा संसद्को पहिलो बैठक बस्नुअघि नै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने धारणा राखेका छन्। सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले कानुनमा यस विषयमा स्पष्ट व्यवस्था नभएको र दुवै तरिका अभ्यासमा रहेको बताउनुभयो। उहाँका अनुसार मुख्य दलले जे भन्छ, त्यही अभ्यास हुने गरेको छ। सामान्यतयाः दलको नेता चुनिएर सदनमा आएपछि मात्रै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने चलन भए पनि २०७४ सालको निर्वाचनपछि केपी ओली संसदीय दलको नेता नतोकिई पार्टीको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएको उदाहरण रहेको संसद् सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराईले स्मरण गराउनुभयो। उहाँले उक्त अभ्यासलाई अनुचित भन्दै कानुनमा स्पष्ट व्यवस्था नभए पनि संसदीय व्यवस्थामा प्रचलित परम्पराको पालना हुनुपर्नेमा जोड दिनुभयो। यद्यपि, संविधानविद् पूर्णमान शाक्यले नेपालमा दुवै प्रक्रियाले मान्यता पाएको धारणा व्यक्त गर्नुभयो। उहाँले बहुमतप्राप्त दलका सांसदहरूले संसदीय दलको नेता घोषणा गरेपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न संविधानले खासै बाधा नगर्ने र स्पष्ट बहुमतको अवस्थामा पहिले सदनको बैठकको आवश्यकता महसुस नहुने बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सहप्रवक्ता रावलले समानुपातिकतर्फको मतगणनाको परिणाम आएसँगै त्यस पार्टीबाट चयन हुने उम्मेदवारहरूको नाम टुङ्ग्याउने कामलाई प्राथमिकतामा राखिने र त्यसपछि छिट्टै प्रधानमन्त्री नियुक्तिको प्रक्रियामा प्रवेश गरिने बताउनुभयो। उहाँले त्यस विषयमा तत्काल छलफल नभए पनि ‘आजभोलिमै’ निर्णय हुने जानकारी गराउनुभयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
