
दुर्गा प्रसाईं । फाइल फोटो
१७ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहानैदेखि उनको निवासलाई घेरा हाली उनलाई नियन्त्रणमा लिएको हो ।
प्रसाईंको पारिवारिक स्रोतका अनुसार बिहान करिब ६ बजेदेखि नै प्रहरी टोली उनको सूर्यविनायकस्थित निवास वरिपरि तैनाथ थियो । करिब पौने आठ बजेतिर प्रहरीले पक्राउ पुर्जी थमाएर उनलाई लगेको थियो । उक्त पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख गरिएको छ । प्रसाईंलाई हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रसाईंको यो पक्राउ पछिल्लो समय उनको राजनीतिक अभियान र सरकारविरोधी गतिविधिहरूको निरन्तरताको बीचमा आएको छ । उनले नेतृत्व गरेको महाअभियानले राष्ट्रियता, हिन्दु धर्मको पुनःस्थापना, र आर्थिक सुधार लगायतका विभिन्न माग राख्दै आएको छ । विगत केही महिनादेखि उनी बैंकिङ प्रणालीको खारेजी र राष्ट्र बैंकका गभर्नरसहित उच्च अधिकारीहरूको राजीनामाको माग गर्दै आन्दोलित थिए । उनको अभियानले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन र जनसभाहरू आयोजना गर्दै आएको छ ।
गत फागुन ४ गते पनि उनी काठमाडौंमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका थिए । त्यसबेला उनलाई १३ फागुनमा सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चले पर्याप्त आधार र प्रमाण बिना लामो समय थुनामा राख्न नमिल्ने भन्दै उनलाई रिहा गर्न आदेश दिएको थियो ।
प्रसाईंको लगातारको पक्राउ र रिहाइले नेपालको राजनीतिक वृत्तमा उनको अभियान, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक शान्ति कायम राख्ने विषयमा बहस सिर्जना गरेको छ । प्रहरीले सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा पटक-पटक उनलाई नियन्त्रणमा लिने गरेको छ भने प्रसाईं पक्षले यसलाई आफ्नो आवाज दबाउने प्रयासको रुपमा व्याख्या गर्दै आएका छन् । उनलाई पक्राउ गरिनुले आगामी दिनमा उनको अभियान थप चर्किने वा त्यसले नयाँ मोड लिने सम्भावना रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
