नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालको परराष्ट्र नीतिको महत्त्वमाथि प्रकाश पार्दै छिमेकी मुलुकहरूसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता औँल्याएकी छन्। भूराजनीतिक संवेदनशीलतालाई मनन गर्दै नेपालले सदैव रणनीतिक सन्तुलन कायम राख्नुपर्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउण्डेशन, भक्तपुरले आज आयोजना गरेको एक माल्यार्पण तथा स्मृति सभामा बोल्दै नेत्री कोइरालाले यो धारणा व्यक्त गरेकी हुन्। उनले नेपालले पञ्चशीलका सिद्धान्तहरूमा आधारित भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्, जसले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वको मार्ग प्रशस्त गर्दछ।
नेत्री कोइरालाले छिमेकी मुलुकहरूसँगको सुमधुर सम्बन्धले राष्ट्रिय स्थिरतामा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। उनका अनुसार, “हामीले कुनै पनि मुलुकको पक्ष वा विपक्षमा नलागी सबै छिमेकी तथा मित्रराष्ट्रहरूसँग समान व्यवहार गर्नुपर्छ। यसले मुलुकभित्रको अस्थिरतालाई समाप्त पार्न मद्दत गर्छ र राष्ट्रिय एकता एवं विकासका लागि अनुकूल वातावरण सिर्जना गर्छ।” एक सन्तुलित र तटस्थ परराष्ट्र नीतिले नेपालको रणनीतिक महत्त्वलाई जोगाउँदै विश्व मञ्चमा यसको भूमिकालाई पनि सुदृढ बनाउने उनको भनाइ थियो।
कार्यक्रममा नेत्री कोइरालाले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको अतुलनीय योगदानको स्मरण गरिन्। उनले भनिन्, “तत्कालीन माओवादीलाई मूलधारको राजनीतिमा ल्याई शान्ति प्रक्रियामा सामेल गराउन गिरिजाबाबुले खेलेको भूमिका ऐतिहासिक महत्त्वको छ। आफ्नै पार्टीका सयौँ कार्यकर्ताले ज्यान गुमाएको अवस्थामा र आगामी निर्वाचनमा पार्टीको हार निश्चित हुँदा पनि देशलाई द्वन्द्वबाट मुक्त गराउनका लागि उनले देखाएको दूरदर्शिता, त्याग र साहस प्रशंसनीय छ।” गिरिजाबाबुको दृढता र अथक नेतृत्वबिना माओवादी शान्ति प्रक्रियामा आउन सम्भव थिएन भन्ने उनको जिकिर थियो। यसले नेपाललाई लामो राजनीतिक संक्रमणबाट बाहिर ल्याई लोकतान्त्रिक गणतन्त्रको जग बसाल्न महत्त्वपूर्ण आधार तयार गरेको थियो।
नेपाली कांग्रेसको वर्तमान अवस्थाबारे बोल्दै नेत्री कोइरालाले पार्टीलाई थप एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “नेपाली कांग्रेस सधैँ राष्ट्रप्रति जिम्मेवार पार्टी हो र मुलुकको लोकतान्त्रिक आन्दोलनमा यसले अग्रणी भूमिका खेल्दै आएको छ। निर्वाचनमा केही हारबेग भएको अवस्थामा पनि आत्तिनुपर्ने आवश्यकता छैन, किनभने कांग्रेस अझै पनि मुलुकको बलियो राजनीतिक शक्ति हो।” उनले विगतका गल्ती-कमजोरीहरूको समीक्षा गर्दै पार्टीलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउनुपर्नेमा जोड दिइन्।
“कुनै पनि राष्ट्रिय समस्याको समाधान गर्ने क्षमता नेपाली कांग्रेससँग छ,” उनले थपिन्, “त्यसैले हामीले विगतबाट पाठ सिकेर अझ सशक्त र सुदृढ भएर अगाडि बढ्नुपर्छ।” उनले नेपालको लोकतान्त्रिक आन्दोलन र विकासमा बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाजस्ता अग्रज नेताहरूले पुर्याएको योगदानको उच्च कदर गर्दै उनीहरूको त्याग, संघर्ष र प्रेरणालाई सधैँ स्मरण गर्नुपर्ने बताइन्।
नेत्री कोइरालाले भावी नेपाल युवाहरूको काँधमा रहेकाले पार्टीका हरेक संरचनामा युवाहरूको सक्रिय प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “युवाहरूले इतिहासबाट उचित पाठ सिक्दै राष्ट्र निर्माण र समृद्धिको महाअभियानमा अग्रसर हुनुपर्छ।” युवा नेतृत्वको विकास र उनीहरूको ऊर्जालाई राष्ट्रिय हितमा उपयोग गर्न सके मात्र मुलुकले तीव्र विकासको बाटो समात्न सक्ने उनको विश्वास थियो।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र कांग्रेस नेता एवं पूर्वसांसद सुनिल शर्मालगायतका वक्ताहरूले पनि गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरेका थिए। उनीहरूले कोइरालाले देखाएको साहस, दूरदर्शिता र राष्ट्रप्रतिको समर्पणलाई सधैँ स्मरणीय रहने बताए।
प्रकाशित: ७ चैत्र २०८२ २१:५५ शनिबार
