तस्बिर स्रोत, Planet labs PBC and Airbus
तस्बिरको क्याप्शन, यूएईस्थित अल सादर र अल रुवाईस रेडारस्थलहरूमा पुगेको क्षति
मध्यपूर्वमा अमेरिकाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूमा इरानले गरेका आक्रमणहरूका कारण युद्धको पहिलो दुई सातामा मात्र करिब ८० करोड डलर (झन्डै सवा खर्ब रुपैयाँ) बराबर क्षति भएको एक नयाँ विश्लेषणले देखाएको छ। सेन्टर फर स्ट्राटजिक एन्ड इन्टर्न्याश्नल स्टडिज (सीएसआईएस)को प्रतिवेदन र बीबीसीले गरेको विश्लेषणअनुसार, अमेरिका र इजरेलको आक्रमण लगत्तै इरानले गरेका प्रतिकारका बेला सबभन्दा धेरै क्षति भएको थियो। यस क्षेत्रमा रहेका अमेरिकी ठेगानाहरूमा इरानी प्रहारले भएका क्षतिका पूर्ण विवरण अझै प्रस्ट भइसकेको छैन।
अमेरिकी सैन्य संरचनाहरूमा पुगेको ८० करोड डलर बराबरको क्षति यसअघि ठानिएभन्दा धेरै हो र यसले युद्ध जारी रहँदा अमेरिकालाई चर्को मूल्य पर्दै जाने देखाउँछ। सीएसआईएसका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सह-लेखक मार्क कान्किआनले “उक्त क्षेत्रमा भएका अमेरिकी अखडाहरूमा भएका क्षतिको न्यून आकलन गरिएको छ” भन्नुभयो। यसबारे प्रतिक्रिया माग गर्दा अमेरिकी रक्षा मन्त्रालयले यूएस सेन्ट्रल कमान्डलाई सोध्न भन्यो, जसका अधिकारीहरूले प्रतिक्रिया दिन अस्वीकार गरे।
इरानको प्रतिकारात्मक कारबाहीहरूले अमेरिकी हवाई प्रतिरक्षा तथा भूउपग्रह-सञ्चार प्रणालीहरूलाई निसाना बनाएको थियो। ती प्रणाली जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई) र अन्य मध्यपूर्वी देशहरूमा थिए। क्षतिको ठूलो अंश जोर्डनमा अवस्थित थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको रेडारमा भएको प्रहारले पुर्याएको थियो। सीएसआईएसको बजेट दस्तावेज विश्लेषण अनुसार उक्त एएन/टिपीवाई-२ रेडार प्रणालीको लागत करिब ४८ करोड ५० लाख डलर पर्छ।
इरानी हमलाले सो क्षेत्रमा रहेका अमेरिकी अखडा तथा अमेरिकी सेनाले प्रयोग गर्ने गरेका सैन्य इलाकाका भवनहरू तथा अन्य संरचनाहरूमा थप ३१ करोड डलर बराबरको क्षति पुगेको छ। बीबीसी भेरिफाईले भूउपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दा कम्तीमा तीनवटा हवाई सैन्य अखडामा इरानले एकपटकभन्दा धेरै हमला गरेको देखिएको छ। यसरी पटकपटक हमला गरिनु निश्चित् अमेरिकी अखडालाई निसाना पार्ने इरानको कोसिस हो। रुसले तेहरानलाई अमेरिकी सैन्य फौजबारे खुफिया जानकारी दिएको विवरण पनि आएका छन्।
भूउपग्रहबाट लिइएका तस्बिरहरूले कुवेतस्थित अलि अल-सलिम, कतारस्थित अल-उदैद र साउदी अरेबियास्थित प्रीन्स सुल्तान लगायतका तीनवटा हवाई सैन्य अखडामा द्वन्द्वको भिन्न समयमा ताजा क्षतिहरू पुगेको देखाउँछ। फेब्रुअरी २८ मा इरानविरुद्ध इजरेली हमलामा राष्ट्रपति ट्रम्पले अमेरिकालाई जोडेपछि भएका घटनाहरूमा १३ अमेरिकी सैनिकको ज्यान गइसकेको छ। ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए)का अनुसार, १४ सय गैरसैनिकसहित हालसम्म युद्धमा ३२ सयको ज्यान गइसकेको छ।

राष्ट्रपति ट्रम्पले इरानको परमाणु कार्यक्रम नष्ट गर्ने, उसको परम्परागत सैन्य क्षमता निस्तेज बनाइदिने अनि इरानी सत्ताले सो क्षेत्रमा उपयोग गर्दै आएका समूहहरूलाई दिँदै आएको समर्थनको अन्त्य गर्ने आफ्ना लक्ष्यहरू हासिल गर्नेतर्फ अमेरिका सही मार्गमा रहेको बताएका छन्। उनले ह्वाइटहाउसमा आयोजित एक समारोहमा “हामीले इरानमा निकै राम्रो गरिरहेका छौँ” भन्नुभयो। तर युद्धका कारण स्ट्रेट अफ होर्मुज जलमार्गमा भएको अवरोध, युद्ध कति लम्बिएला भन्ने र कतै ट्रम्पले स्थल सेना पनि परिचालन गर्छन् कि भन्ने अनिश्चयले गर्दा विश्व अर्थतन्त्र खलबलिएको छ।
भूउपग्रहबाट खिचिएका तस्बिरहरूको विश्लेषणलाई त्यस्ता तस्बिर लिने मुख्य अमेरिकी निकायहरूले लागु गरेका प्रतिबन्धले असर पारेको छ। तर, यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्वार्थकाविरुद्ध इरानी प्रतिकारात्मक कार्यहरूबाट तिनको निश्चित् प्रवृत्ति फेला पार्न सम्भव छ, जसमा रेडार तथा भूउपग्रह प्रणालीलाई निसाना बनाइएको देखिन्छ। भूउपग्रहबाट लिइएका तस्बिरले दुईवटा रेडोम्स ध्वस्त पारिएको देखाएको छ।
कुवेतस्थित अमेरिकी सैन्य केन्द्र क्याम्प अरिफ्जान र साउदी अरेबियास्थित प्रीन्स सुल्तान हवाई सैन्य अखडामा रहेका रेडार स्थलहरूमा प्रहार भएका छन्। प्रीन्स सुल्तान हवाई सैन्य अखडा क्षेत्रमा थाड हवाई प्रतिरक्षा प्रणालीको रेडार सामग्रीबाट धुवाँ उडिरहेको तस्बिरमा देखिन्छ। यूएई र जोर्डनमा रहेका थाड प्रणालीमा अझ थप क्षति पुगेका देखिन्छन्। यी प्रणाली क्षतिग्रस्त भएपछि अमेरिकाले दक्षिण कोरियामा परिचालित थाड प्रणालीका सामग्रीलाई मध्यपूर्वमा सार्नु परेको विवरण आएका छन्।
इरानी हमलाले पुगेको क्षतिको मूल्य अमेरिकाले यस युद्धका निम्ति गरेको कुल खर्चको निकै सानो अंश हो। रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार युद्धको पहिलो ६ दिनमै ११.३ अर्ब डलर खर्च भएको थियो, जुन पहिलो १२ दिनमा साढे १६ अर्ब डलर पुगेको सीएसआईएसले जनाएको छ। पेन्टागनले युद्धका निम्ति थप २०० अर्ब डलर बजेट माग गरेको छ। रक्षा मन्त्री पिट हेग्सेथले “दुष्ट मानिसहरूलाई मार्न पैसा चाहिन्छ” भन्नुभयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
