तस्बिर स्रोत, Oleksandr Hanzha / Dnipropetrovsk regional administration
तस्बिरको क्याप्शन, मध्य युक्रेनको क्रिभी री सहरस्थित शपिङ सेन्टरको भग्नावशेषमा अझै केही मानिसहरू फसेका बताइएको छ
युक्रेनमा पछिल्लो समय रुसी आक्रमणले तीव्रता पाउँदै गएको छ। शनिवार बिहानै किएभ र जापोरिजा सहरमा भएका छुट्टाछुट्टै हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। किएभमा बलिस्टिक क्षेप्यास्त्रको चेतावनी जारी भएसँगै एउटा गोदाममा भएको आगलागीमा एक जनाको मृत्यु भएको हो भने, जापोरिजा सहरमा भएको ड्रोन हमलामा अर्का एक जनाले ज्यान गुमाएका छन्।
यसअघि शुक्रवार मध्य युक्रेनको क्रिभी री सहरमा भएको ‘डबल-ट्याप’ ड्रोन आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो। सहरकै सबैभन्दा ठूलो शपिङ मलमा लक्षित गरी गरिएको उक्त हमलामा २३ जना बालबालिकासहित १३० जना घाइते भएका छन्। यस घटनामा अझै नौ जना हराइरहेको जानकारी दिइएको छ। सामान्यतया ‘डबल-ट्याप’ आक्रमण भन्नाले प्रारम्भिक हमलाको केही मिनेटपछि ठिक सोही स्थानलाई लक्षित गरी गरिने दोस्रो, योजनबद्ध आक्रमणलाई बुझिन्छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको यस आक्रमणलाई “पूर्णतः निन्दनीय र घृणित” भन्दै भर्त्सना गरेका छन्। उनका अनुसार यो आक्रमण “दुई चरणमा” भएको थियो, जहाँ दोस्रो प्रहार उद्धार तथा आकस्मिक सेवाका कर्मचारीहरूलाई लक्षित गरी गरिएको थियो। बीबीसीले पुष्टि गरेको भिडिओ फुटेजमा डिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा पहिले नै आगलागी भइरहेको उक्त शपिङ सेन्टरमा दोस्रो ड्रोनले प्रहार गरेको स्पष्ट देखिन्छ। यस विषयमा रुसी सेनाले भने हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
डिनिप्रोपेत्रोभ्स्क क्षेत्रका प्रमुख ओलेक्स्यान्डर हान्साले शुक्रवार साँझसम्म १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए, जसमा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका दुई जना पनि सामेल थिए। खोजी तथा उद्धारकार्य जारी रहँदा थप एक जनाको शव भग्नावशेषबाट निकालिएको थियो, जसले मृतकको सङ्ख्या १६ पुर्याएको छ। हान्साले टेलिग्राममार्फत् दिएको जानकारीअनुसार क्रिभी री शपिङ सेन्टरमा अझै नौ जना हराइरहेका छन्, जसमा दुईजना बालबालिका छन्। घाइते १३० जनामध्ये २९ जनाको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ। क्रिभी रीका मेयर ओलेक्स्यान्डर भीलकूलले रुसी ड्रोनहरू “अत्यन्तै न्यून उचाइमा” उडिरहेको बताउँदै आक्रमणकारीहरूलाई “पशु”को संज्ञा दिएका छन्। उनले केही मानिसहरू बेपत्ता रहेको र उनीहरूले फोनको जबाफ नदिएको पनि उल्लेख गरे।
तस्बिर स्रोत, DSNS / Dnipropetrovsk region
तस्बिरको क्याप्शन, आक्रमणबाट बाँचेकाहरूलाई मनोवैज्ञानिक सहयोग प्रदान गर्न विशेष रूपमा प्रशिक्षित स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिएको छ।
क्रिभी रीको घटनाबाहेक, युक्रेनको दक्षिणी माइकोलेभ क्षेत्रमा भएका छुट्टाछुट्टै रुसी आक्रमणमा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने, उत्तरपूर्वी खार्किभ क्षेत्रमा थप दुई जनाले ज्यान गुमाएका छन्। दक्षिणी सहर जापोरिजामा एउटा ट्याक्सी नजिकै ड्रोन विस्फोट हुँदा तीन जना घाइते भएका थिए। यसअघि बिहीबार युक्रेनको राजधानी किएभमा भएको ठूलो रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलामा १७ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका थिए। रातभर सहरका विभिन्न भागमा रहेका आवासीय भवन र गोदामहरूमा आक्रमण भएका थिए, जसले एउटा बाल अस्पताल र विद्यालयमा समेत क्षति पुर्याएको थियो।
यसैबीच, युक्रेनी सेनाले रुसको भित्री क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्र र सैन्य हवाई अड्डामा आक्रमण गरेको जनाएको छ। किएभले हालैका महिनाहरूमा रुसी ऊर्जा पूर्वाधारका साथै ठूला गोदामहरूमा आक्रमण तीव्र पारेको छ। युक्रेनको दाबीअनुसार युद्धका लागि आर्थिक स्रोत जुटाउन रुसलाई सहयोग गर्ने भएकाले ती सबै वैध निशाना हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेका थिए र हाल दक्षिणपूर्वी युक्रेनको करिब पाँचौँ भाग मस्कोको नियन्त्रणमा छ।
