डडेल्धुरा, कात्तिक १ गते। सुदूरपश्चिम प्रदेशका नौ महत्वपूर्ण भगवती मन्दिरमध्ये एक प्रसिद्ध उग्रतारा मन्दिरमा आइतबार भव्य अष्टिमी मेला सम्पन्न भएको छ। घटस्थापनाको दिनदेखि आठौँ दिनसम्म विशेष पूजा र उत्सवका साथ यो धार्मिक मेला लाग्ने परम्परा रहेको मन्दिरका पुजारी पण्डित लोकराज भट्टले जानकारी दिनुभयो। शनिबार साँझपख विधिवत पूजाआजा सम्पन्न भएपछि आइतबार बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको उहाँले बताउनुभयो।
अष्टिमीको विशेष अवसरमा उग्रतारा भगवती मन्दिरमा राँगा र बोकाको बलि चढाउने धार्मिक परम्परा सदियौँदेखि चलिआएको छ। भाकल पूरा भएका भक्तजनहरूले दाइन, दमाह, रुईसिङ, बिकुल, घण्ट, त्रिशूल लगायतका परम्परागत बाजागाजा, सुनचाँदीका आभूषणसहित राँगा लिएर मन्दिर पुग्ने गर्छन्। यो परम्पराले मन्दिरको सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउँछ।
मन्दिरको उत्पत्तिका बारेमा एक रोचक किम्बदन्ती प्रचलित छ। करिब दुई हजार पाँचसय वर्षअघि हालको अमरगढी नगरपालिका–८, लटाउली गाउँका साँकी जातिका एक स्थानीय व्यक्तिले खेत जोत्दै गर्दा हलोको फाली एउटा शिलामा लाग्यो र त्यहाँबाट रगत बग्न थाल्यो। माटोले रगत रोक्न प्रयास गर्दा पनि रोकिएन, तर आफूलाई खान ल्याएको खिचडीले रगत रोकेको विश्वास गरिन्छ। सोही घटनापछि उक्त स्थानमा देवी उत्पन्न भएको र दर्शन दिएको जनविश्वास छ। त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजाअर्चना हुँदै आएको छ। हाल पनि लटाउली गाउँका साँकी र भट्ट जातीका व्यक्तिहरू नै मन्दिरका पुजारी रहँदै आएका छन्।
बलिको परम्परामा सामुदायिक भूमिका स्पष्ट छ। साँकी जातीले अमरगढी नगरपालिका–तिलाडी पोखराका पार्की (हाल कैनी) जातीलाई राँगा काट्ने अनुमति दिने गर्छन्। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार, अष्टमीका दिन भगवतीको पूजाआजासहित मेला लगाएर राँगाको बलि सुरु हुन्छ र बलि दिइएका राँगाको मासु पार्की (कैनी) जातीले उपभोग गर्ने परम्परा छ। उहाँले भाकलका आधारमा मनोकामना पूरा भएपछि राँगा र बोकाको बलि दिने चलन रहेको बताउनुभयो।
अध्यक्ष साँकीका अनुसार, अष्टमी मेलासँगै बलि पूजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ। अष्टमीका दिन अमरगढी नगरपालिका ६ का दुुमडा र छचोडा गाउँ, अमरगढी नगरपालिका ८ को खनमडा गाउँ, र अमरगढी नगरपालिका ५ को जिलोडा गाउँबाट बाजागाजासहित देवताको आभूषण र डोली (देउरा) ल्याइने परम्परा छ। यी चारवटै गाउँबाट सुनचाँदीका गरगहनासहितको डोली, भोकर, बिकुल घण्टा, दाहिन दमाह बजाउँदै र नेताध्वजासहितको देउरो (शोभायात्रा) मन्दिरमा ल्याइन्छ। दशैँको दिन पूजाआजा सकिएपछि टीका लगाएर देउरो पुनः गाउँ फर्काउने धार्मिक परम्परा सदियौँदेखि चल्दै आएको छ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन अर्को ठूलो महापूजा र मेला लाग्ने गर्दछ, जसलाई ‘देइजात’ भनेर चिनिन्छ। प्राचीनकालमा यस स्थानमा गर्खाका लडाकुहरूबीच वीरताका साथ लडाइँ हुँदा रगतको खोला बगेको विश्वास गरिन्छ, जसलाई हाल ‘न्वाखोला’ को रूपमा नामकरण गरिएको छ।
