दशैं, नेपाली हिन्दू धर्मावलम्बीहरूको महान् पर्व, आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरेर प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक मान्यतासँग जोडिएको यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ। जमरा राख्ने, नवरात्रभर देवीको पूजा गर्ने तथा विजया दशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने यसका प्रमुख परम्परा हुन्। दशैं पारिवारिक मिलन, आत्मीयता र खुसी साटासाट गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ।
तर, आधुनिक समयमा, विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दशैंको मूल मर्ममाथि केही प्रश्नहरू खडा भएका छन्। खुसी बाँड्ने नाममा कतिपय अवस्थामा देखावटी प्रतिस्पर्धा, सामाजिक तुलना र ईर्ष्याको प्रवृत्ति झाँगिएको देखिन्छ। टीका, जमरा, नयाँ लुगा, पशुबलि र मासुका परिकारका तस्बिरहरूमा आत्मीयताभन्दा प्रदर्शन हावी भएको अनुभव गर्न सकिन्छ। आफ्नै खुसीका लागि पर्व मनाउनुको सट्टा अरूलाई देखाउनका लागि मनाउने र अरूका तस्बिर हेरेर आफूलाई पनि त्यस्तै प्रस्तुत गर्नुपर्ने दबाब महसुस गर्ने प्रवृत्तिले सम्बन्धलाई जोड्ने प्रविधिलाई देखावटी प्रतिष्ठाको बजारमा परिणत गरिदिएको छ।
सामाजिक सञ्जालमा दशैंको खुसी बाँड्ने नाममा अराजक, अश्लील र सामाजिक मर्यादाविपरीतका सामग्री प्रस्तुत गर्ने ‘भाँडतन्त्र’ पनि बढेको छ। धेरै ‘लाइक’ र ‘कमेन्ट’ पाउनकै लागि मर्यादाको सीमा नाघ्ने, असामाजिक व्यवहारलाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्ने र त्यसैलाई लोकप्रियताको मापदण्ड ठान्ने प्रवृत्तिले समाजमा नकारात्मक असर पारिरहेको छ। यो कुनै व्यक्तिको स्वतन्त्रतामाथिको हस्तक्षेप नभई, स्वतन्त्रताको नाममा विवेक, मर्यादा र सामाजिक जिम्मेवारीलाई बेवास्ता गर्ने प्रवृत्तिमाथिको आलोचना हो। चेतनाको कमी भन्नाले औपचारिक शिक्षाको अभाव मात्र होइन, आफ्नो व्यवहारको उद्देश्य, त्यसको प्रभाव र सामाजिक जिम्मेवारीबारे सोच्न नसक्नु पनि हो।
परम्परा र विधिविधानको अभ्यासमा पनि विवेकको प्रश्न उठ्छ। पशुबलि वा मासुका परिकार बनाउनु आफैंमा गलत नभए पनि, परम्पराको अर्थ नबुझी डर, दबाब वा देखासिकीमा गरिने अभ्यासले आस्थाको साटो अनावश्यक भय र आर्थिक बोझ थपेको छ। टीका लगाउने क्रममा बालबालिकाको भावना बिर्सनु, मनमा रिस र कुण्ठा राखेर आशीर्वाद दिनु वा श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा पनि औपचारिकता खोज्नुले पर्वको वास्तविक मर्मलाई कमजोर बनाउँछ। आशीर्वादको अर्थ निधारमा लगाइने अक्षतामा भन्दा मनमा पालिने शुभेच्छा र व्यवहारमा देखिने सद्भावमा निहित हुन्छ। त्यस्तै, आफ्नो परम्परा मान्नु स्वाभाविक हो, तर त्यसलाई अरूमाथि थोपर्नु वा फरक अभ्यास गर्नेलाई हेप्नु उचित होइन।
पर्वको खुसीका पछाडि लुकेको अदृश्य श्रमलाई पनि बिर्सन मिल्दैन, जसमा प्रायः महिलाको ठूलो योगदान हुन्छ। घरको सरसफाइदेखि खाना पकाउनेसम्मका काममा महिलाको अत्यधिक श्रम खर्च हुन्छ, जबकि अन्य सदस्यहरू उत्सव मनाउन व्यस्त हुन्छन्। पर्व सबैको हो भने यसको तयारी र जिम्मेवारी पनि सबैले समान रूपमा बाँड्नुपर्छ। यसका साथै, दशैंमा घर पुग्न नसक्ने वा नयाँ लुगा किन्न नसक्ने हजारौं मानिसहरूको बाध्यता र पीडालाई पनि संवेदनशीलतापूर्वक बुझ्न आवश्यक छ। मासिक १८-२० हजार रुपैयाँ कमाउने र परिवारलाई खर्च धान्नै मुस्किल पर्ने व्यक्तिले चाहेर पनि घर जाने खर्च जुटाउन नसक्ने परिस्थितिमा सामाजिक सञ्जालमा देखिने चमकधमकले उनीहरूको पीडामा थप नुनचुक छर्छ।
अन्ततः, सामाजिक सञ्जाल आफैंमा समस्या होइन, त्यसको विवेकपूर्ण प्रयोग महत्वपूर्ण हो। प्रविधिले टाढिएका परिवारलाई जोड्न र खुसी बाँड्न सक्छ, तर यसको अविवेकी प्रयोगले यसलाई उच्छृङ्खल प्रदर्शन, देखावटी प्रतिष्ठा र ईर्ष्याको मञ्च पनि बनाउन सक्छ। दशैंको वास्तविक मर्म बाहिरी प्रदर्शनमा होइन, मनको शुद्धता, सम्बन्धको गहिराइ, मानवीय संवेदनशीलता र विवेकपूर्ण अभ्यासमा भेटिन्छ। घर पुग्न नसक्ने वा मनले चाहेर पनि मनाउन नसक्नेहरूको बाध्यता बुझ्न सक्नु नै हाम्रो सामाजिक चेतनाको प्रमाण हो।
