अमेरिकी भन्सार शुल्कको दबाबमा इयु: व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र कसरत
स्ट्रासबर्ग (फ्रान्स), जेठ ५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ र कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली सङ्घ (इयु) अमेरिका-इयु व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र दबाबमा परेको छ । करिब एक वर्षदेखि अड्किएको यो सम्झौता कार्यान्वयनका लागि इयुका सदस्य राष्ट्र, संसद् र वार्ताकारहरू मङ्गलबार राति फ्रान्सको स्ट्रासबर्गमा निर्णायक छलफलमा जुटेका छन् ।
यसअघि गत जुलाईमा वासिङ्टन र इयुबीच अधिकांश युरोपेली वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लगाउने एक प्रारम्भिक सहमति भएको थियो । स्कटल्यान्डको टर्नबेरीमा अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयनबीच उक्त सहमति भए पनि त्यसको अन्तिम कानूनी पाठमा अझै सहमति जुट्न सकेको छैन । ट्रम्प प्रशासनले सम्झौता तत्काल कार्यान्वयन नभए जुलाई ४ पछि युरोपेली वस्तुमाथि अझ कडा शुल्क लगाइने चेतावनी दिएको छ । विशेष गरी युरोपेली कार र ट्रकमा हालको १५ प्रतिशत शुल्क बढाएर २५ प्रतिशतसम्म पुर्याउन सकिने सङ्केत वासिङ्टनले दिएको छ । अमेरिकास्थित इयु मिसनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत ‘सम्झौता भनेको सम्झौता हो’ भन्दै टर्नबेरी सहमतिप्रति इयु प्रतिबद्ध रहनुपर्ने सन्देश दिएको थियो ।
यही दबाबका बीच युरोपेली संसद् र सदस्य राष्ट्रका प्रतिनिधि मङ्गलबार राति स्ट्रासबर्गमा भेला भएका हुन् । उनीहरूको मुख्य उद्देश्य ट्रम्पले तोकेको समय सीमाभित्र सहमति जुटाएर एक वर्षभन्दा लामो समयदेखि चलिरहेको ट्रान्सअटलान्टिक व्यापार तनाव अन्त्य गर्नु रहेको छ । ट्रम्पले यसअघि स्टिल, एल्युमिनियम र सवारी साधनका पार्टपुर्जामा उच्च कर लगाएर विश्वव्यापी व्यापार प्रणालीलाई झट्का दिनुभएको थियो, जसले युरोपेली अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पारेको थियो । अमेरिका इयुको सबैभन्दा ठूलो व्यापार साझेदार भएकाले दुवै पक्ष पूर्ण व्यापार द्वन्द्वतर्फ जान चाहँदैनन् । दुई पक्षबीचको वार्षिक व्यापार सम्बन्ध करिब १६ खर्ब युरो अर्थात् १९ खर्ब अमेरिकी डलर बराबरको रहेको छ । त्यसैले दुवै पक्ष दीर्घकालीन अस्थिरता अन्त्य गर्न इच्छुक देखिएका छन् ।
हाल इयुको घुमाउरो अध्यक्षता गरिरहेको साइप्रसले आफ्नो प्राथमिकता ‘इयु-अमेरिका संयुक्त वक्तव्यको शीघ्र कार्यान्वयन’ रहेको स्पष्ट पारेको छ । तर, सम्झौता कार्यान्वयन सहज छैन । मार्चमा युरोपेली संसद्ले अमेरिकी पक्षले अस्वीकार्य मानेका केही संशोधन थपेपछि प्रक्रिया थप जटिल बनेको थियो । अहिले ती संशोधन हटाउन संसद्माथि दबाब बढेको छ । युरोपेली संसद्को व्यापार समितिका प्रमुख बन्र्ड ल्याङले दुवै पक्षबीच पर्याप्त प्रगति भइसकेको र नयाँ प्रस्तावमार्फत अन्ततः सहमति नजिक पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । यद्यपि संसदभित्र विभिन्न राजनीतिक समूहबीच अझै मतभेद कायम छ ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयन आबद्ध युरोपियन पिपुल्स पार्टी (इपिपी) सम्झौता तत्काल लागु गर्नुपर्ने पक्षमा देखिएको छ । इपिपी सांसद जेल्जाना जोभ्कोले सम्झौता अन्ततः पूरा हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । इपिपीलाई दक्षिणपन्थी इसिआर समूहले पनि समर्थन गरेको छ । तर समाजवादी र डेमोक्रेट समूहसहित केही राजनीतिक शक्तिले युरोपेली उद्योग र कामदारको सुरक्षालाई प्राथमिकता दिनुपर्ने अडान राखेका छन् । समाजवादी सांसद क्याथलीन भ्यान ब्रेम्प्टले आफ्नो समूह रचनात्मक रूपमा वार्तामा सहभागी हुने भए पनि युरोपेली व्यवसाय र श्रमिकको स्थिरता तथा सुरक्षा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
विवादको मुख्य विषय मध्ये एउटा ‘निलम्बन प्रावधान’ बनेको छ । यदि अमेरिकाले भविष्यमा सम्झौताको शर्त उल्लङ्घन गरे इयुले अमेरिकी निर्यातकर्तालाई दिइएको विशेष भन्सार सुविधा हटाउन सक्ने व्यवस्था संसद्ले कडा बनाएको छ । त्यसै गरी ‘सूर्योदय’ र ‘सूर्यास्त’ प्रावधानलाई लिएर पनि मतभेद देखिएको छ । यी प्रावधान अनुसार अमेरिकाले आफ्ना प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन गरेपछि मात्रै इयुले सम्झौताको केही भाग लागु गर्नेछ भने सन् २०२८ सम्म नबीकरण नभए सम्झौता स्वतः समाप्त हुनेछ । हरित दलकी सांसद अन्ना काभाजिनीले सहमतिको सम्भावना सकारात्मक देखिए पनि सदस्य राष्ट्रले संसदका मुख्य मागमा अझ लचकता देखाउनुपर्ने बताउनुभयो । उहाँले ट्रम्पमाथि पूर्ण भरोसा गर्न नसकिने भन्दै इयुले आफ्नो सुरक्षा संयन्त्र बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
रासस/एएफपी
