नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको ग्लोबल हेल्थ कमिटीले गम्भीर असन्तोष व्यक्त गरेको छ। कमिटीले काउन्सिलको यो निर्णय न्यायोचित नभएको र गैरआवासीय नेपाली चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रहार भएको ठहर गरेको छ।
शुक्रबार बसेको ग्लोबल हेल्थ कमिटीको बैठकमा सहभागी विज्ञहरूले काउन्सिलको पछिल्लो कदमप्रति तीव्र आपत्ति जनाएका छन्। उनीहरूले ६३ वर्ष पुरानो ऐनको प्रावधान टेकेर गरिएको यो निर्णय वर्तमान संविधानको भावना विपरीत रहेको तर्क गरेका छन्। संविधानले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेकाले बसोबासका आधारमा चिकित्सकहरूको पेशागत अधिकार खोस्नु अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ। विशेषगरी, गैरआवासीय नेपाली हैसियतका ३६ जना चिकित्सकको लाइसेन्स खारेजीले उनीहरूको वृत्तिविकासमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
प्रभावित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना लाइसेन्स खारेज गरिएको कमिटीका विज्ञहरूले जनाएका छन्। यसलाई प्रक्रियागत त्रुटि र मनमानी निर्णय भनिएको छ। बैठकमा सरकारको ‘दोहोरो मापदण्ड’ माथि पनि प्रश्न उठाइएको छ। सरकारले एकातर्फ ‘सीप हस्तान्तरण (स्किल ट्रान्सफर)’ को कुरा गर्ने तर अर्कोतर्फ विदेशमा सीप आर्जन गरेका दक्ष जनशक्तिलाई निरुत्साहित गर्ने कार्यले विरोधाभासपूर्ण नीति लिएको प्रष्ट भएको उनीहरूको टिप्पणी छ। यसले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन चाहने डायस्पोराका चिकित्सकहरूमा निराशा उत्पन्न भएको छ।
प्रा. डा. सुनील साहको अध्यक्षतामा सम्पन्न बैठकले सन् २०२५–२०२७ कार्यकालका लागि उहाँलाई नै नवगठित एनआरएनए ग्लोबल हेल्थ कमिटीको अध्यक्षमा चयन गरेको छ। २५ सदस्यीय यस समितिमा नेपालसहित अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका विभिन्न देशबाट डाक्टर, नर्स, प्यारामेडिक्स तथा जनस्वास्थ्य विज्ञलगायत विविध विधाका स्वास्थ्य विज्ञ तथा पेशाकर्मीहरूको प्रतिनिधित्व रहेको छ। समितिमा दक्षिण अफ्रिकाकी डा. सरिता पाण्डे, बेलायतका प्रा. डा. पदम सिम्खडा र एनआरएनए सचिव प्रसुना कडेल सहअध्यक्षका रूपमा रहेका छन्।
समितिका अध्यक्ष डा. साहले एनआरएनए ग्लोबल हेल्थ कमिटीको मुख्य लक्ष्य नेपाल र विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरू (डायस्पोरा) बीचको सम्बन्ध विस्तार गर्नु रहेको बताएका छन्। उनले समितिले चिकित्सा शिक्षा, तालिम, स्वास्थ्य सेवामा नवप्रवर्तन तथा नेपालमा रणनीतिक लगानी आकर्षणमा विशेष ध्यान दिने उल्लेख गरे। विदेशमा रहेका नेपाली विज्ञहरूको ज्ञान र सीपलाई नेपालको दिगो स्वास्थ्य विकासमा अधिकतम उपयोग गर्न नेपाल सरकार तथा सम्बन्धित नियामक निकायहरूसँग सक्रिय समन्वय गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। नवनिर्मित समितिले विश्वभर छरिएका नेपाली स्वास्थ्यकर्मीहरूलाई समेट्दै स्वास्थ्य क्षेत्रमा सहकार्य, ज्ञान आदानप्रदान तथा नेपाल लगायत विभिन्न देशमा स्वास्थ्य सेवा सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
