काठमाडौँ, जेठ १० गते । चालिस वर्षमुनिका युवाहरूको सक्रियतामा स्थापित परोपकारी संस्था राउन्ड टेबल नेपालले आफ्नो २७ औँ वार्षिकोत्सव तथा महत्वाकांक्षी ‘एजुकेट अ चाइल्ड’ परियोजनाको १० औँ वार्षिकोत्सव एकसाथ भव्यताका साथ मनाएको छ । शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित नहोस् भन्ने मूल मर्मका साथ सञ्चालित यस परियोजनाअन्तर्गत यस वर्ष देशभरका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई बृहत् छात्रवृत्ति प्रदान गरिएको छ ।
देशभर करिब ६०० जना युवा सदस्यहरू आवद्ध रहेको राउन्ड टेबल नेपालले स्थापनाकालदेखि नै सामाजिक रूपान्तरण र शिक्षामा पहुँच विस्तारलाई प्रमुख एजेन्डाका रूपमा अङ्गीकार गर्दै आएको छ । युवाहरूको सशक्तिकरण र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थापित यो संस्थाले हरेक वर्ष आफ्नो स्थापना दिवसलाई सामाजिक हितका कार्यहरूसँग जोड्दै आएको छ । यसपटक राउन्ड टेबल नेपालले धनगढी, जनकपुर, सर्लाही, बुटवल, चितवन, नेपालगन्ज, विराटनगर, धरान, वीरगन्ज र काठमाडौँ लगायतका विभिन्न दुर्गम तथा शहरी क्षेत्रका दशभन्दा बढी स्थानमा एकैसाथ छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरेको थियो । यसले संस्थाको राष्ट्रव्यापी उपस्थिति र शिक्षामा समान पहुँचको प्रतिबद्धता झल्काएको छ ।
राउन्ड टेबल नेपालका सदस्य साकेत अग्रवालले जानकारी गराउनुभएअनुसार, ‘एजुकेट अ चाइल्ड’ परियोजना राउन्ड टेबल नेपालको गौरवपूर्ण अभियान हो, जसले बालबालिकाको उज्ज्वल भविष्यका लागि शैक्षिक अवसर सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । अग्रवालले भन्नुभयो, “विगत १० वर्षदेखि सञ्चालित यस परियोजनामार्फत हालसम्म एक हजारभन्दा बढी विद्यार्थीहरूलाई नियमित रूपमा छात्रवृत्ति प्रदान गरी शिक्षामा पहुँच स्थापना गर्न सहयोग पुर्याएका छौँ । यसले आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य भएका विपन्न वर्गका विद्यार्थीहरूलाई विद्यालयको पहुँचमा ल्याउनुका साथै उनीहरूको पढाइ निरन्तरतामा ठूलो टेवा पुगेको छ।” यो परियोजनाले लक्षित विद्यार्थीहरूको शैक्षिक शुल्क, पाठ्यपुस्तक, स्टेशनरी तथा अन्य आवश्यक खर्चहरूमा सहयोग प्रदान गर्दै उनीहरूलाई गुणस्तरीय शिक्षाको अवसर उपलब्ध गराउँदै आएको छ ।
यसै सन्दर्भमा, काठमाडौँको कालोपुलस्थित अर्किड गार्डेन नेपालमा एक विशेष समारोहको आयोजना गरी राजधानीका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरियो । उक्त समारोहमा उद्योगपति तथा समाजसेवी राजेन्द्र खेतान प्रमुख अतिथि रहनुभएको थियो भने रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि खेतानले शिक्षामा लगानी नै राष्ट्रको भविष्यमा गरिने सर्वोत्तम लगानी भएको बताउँदै राउन्ड टेबल नेपालको यस प्रशंसनीय कार्यको उच्च मूल्यांकन गर्नुभयो । उहाँले युवाहरूको यस्तो परोपकारी भावना र सामाजिक उत्तरदायित्वले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने धारणा व्यक्त गर्दै संस्थाको दीर्घायुको कामना गर्नुभयो ।
विशिष्ट अतिथि डा. मल्लले पनि राउन्ड टेबल नेपालले शिक्षा र सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै विद्यार्थीहरूलाई लगनशील भई अध्ययन गर्न प्रेरित गर्नुभयो । उहाँले यस्ता संस्थाहरूको सक्रियताले मात्र समाजमा सबैलाई समान अवसर उपलब्ध गराउन सकिनेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित अतिथिज्यूहरूले विद्यार्थीहरूलाई छात्रवृत्तिका साथै उनीहरूको शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । यस अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
छात्रवृत्ति वितरण समारोहका अतिरिक्त राउन्ड टेबल नेपालले सोही अवसरमा विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू पनि सम्पन्न गरेको जनाएको छ । विद्यार्थी तथा उपस्थित समुदायलाई लक्षित गरी निःशुल्क आँखा जाँच, निःशुल्क दन्त परीक्षण जस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको थियो । यी शिविरहरूले विद्यार्थी र उनीहरूका परिवारको सामान्य स्वास्थ्य अवस्थाको परीक्षण गरी आवश्यक परामर्श तथा उपचारमा सहयोग पुर्याएको थियो । यसैगरी, कार्यक्रममा उपस्थित बालबालिका तथा विद्यार्थीहरूलाई स्टेसनरीका सामान, शैक्षिक सामग्रीका साथै पौष्टिक खाजा वितरण गरिएको थियो । विद्यालयहरूको शैक्षिक वातावरण सुधार गर्नका लागि आवश्यक फर्निचरसमेत वितरण गरिएको राउन्ड टेबल नेपालले जानकारी दिएको छ । यी कार्यहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।
राउन्ड टेबल नेपालले आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य र अन्य परोपकारी क्षेत्रमा अझ सक्रियताका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाका प्रतिनिधिहरूले यस प्रकारका कार्यक्रमहरूले युवाहरूलाई सामाजिक सेवामा लाग्न उत्प्रेरित गर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
