काठमाडौं, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले आफू प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको तर पछि नाम हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । यस निर्णयले पार्टीको विधान र लोकतान्त्रिक निर्वाचनका आधारभूत सिद्धान्तको उल्लंघन गरेको उनको आरोप छ ।
मंगलबार निर्वाचन आयोगमा बुझाएको उजुरीमा शर्माले गण्डकी प्रदेशबाट आफू चौथो उच्च मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख गरेका छन् । उनको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाई पाँचौँ स्थानभन्दा तलका उम्मेदवारलाई समावेश गर्नु गैरकानुनी भएको उनको जिकिर छ । शर्माले पार्टीको संशोधित निर्णयले विधानको मर्म, विधायकी मनसाय तथा विधानको दफा २२ (४) को व्यवस्था र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल नखाने स्पष्ट पारेका छन् । उनले यस्तो परिमार्जित निर्णय वैधानिक, न्यायसंगत र विधिसम्मत नभएको ठहर गरेका छन् ।
स्मरण रहोस्, महाधिवेशनमा विभिन्न क्लस्टर मिलाउने क्रममा केही उम्मेदवारहरूले बढी मत प्राप्त गरे पनि निर्वाचित हुन नसकेको गुनासो आएपछि पार्टीको आन्तरिक निर्वाचन आयोगले केन्द्रीय सदस्यहरूको सूची हेरफेर गरेको थियो । उक्त हेरफेर प्रक्रियामा कृष्णमान श्रेष्ठसँगै शर्माको नाम पनि केन्द्रीय सदस्यको सूचीबाट हटाइएको थियो । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्यमा कायम गरिएको थियो । पार्टीको निर्वाचन आयोगले आफ्नो निर्णयमा भनिएको थियो, ‘महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको देखिएकाले निज ध्रुवकुमार थापामगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो ।’
पार्टीको आन्तरिक निर्वाचन आयोगको उक्त निर्णयलाई शर्माले आफूमाथिको व्यक्तिगत अन्याय मात्र नभई पार्टी महाधिवेशनका ९९३ जना प्रतिनिधिको जनादेशको समेत अवमूल्यन र अपमान भएको दाबी गरेका छन् । उनले आफ्नो वैधानिक निर्वाचित हैसियतलाई मिचेर गरिएको यो निर्णयले लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्नचिह्न खडा गरेको बताएका छन् । शर्माका अनुसार, निर्वाचित भइसकेको उम्मेदवारको नाम हटाई मत परिणामलाई नै उल्ट्याउने कार्य कुनै पनि हालतमा स्वीकार्य छैन र यसले पार्टीको आन्तरिक लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको छ ।
शर्माले निर्वाचन आयोगमार्फत आफ्नो नाम निर्वाचित केन्द्रीय सदस्यको रूपमा यथावत् कायम गर्न जोडदार माग गरेका छन् । उनले यस सम्बन्धमा गरिएको निर्णयको कानुनी र तथ्यगत आधार सार्वजनिक गर्न तथा आवश्यक स्पष्टीकरण उपलब्ध गराउन सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् । अन्यथा, आफ्नो संवैधानिक, राजनीतिक तथा कानुनी अधिकारको संरक्षणका लागि उपलब्ध सम्पूर्ण कानुनी उपचार र न्यायिक प्रक्रियाको अवलम्बन गर्न बाध्य हुने चेतावनीसमेत उनले उजुरीमा उल्लेख गरेका छन् । यसबाट उत्पन्न हुने सम्पूर्ण राजनीतिक, नैतिक र कानुनी जिम्मेवारी सम्बन्धित निकाय स्वयंले वहन गर्नुपर्नेछ भन्ने उनको अडान छ ।
