राजविराज, असोज २६ गते । विजयादशमीलाई लक्षित गरी सप्तरीको राजविराज नगरपालिका–४ स्थित माछा हटियामा सञ्चालनमा आएको खसीबोका बजारमा व्यवस्थापन, मूल्य पारदर्शिता, सुरक्षा र अनुगमनको कमजोर अवस्थाले उपभोक्ता तथा व्यवसायी दुवै प्रभावित बनेका छन् । चाडपर्वको चहलपहलसँगै खरिदबिक्री बढे पनि उचित मूल्य र व्यवस्थित बजारको सुनिश्चितता हुन सकेको छैन।
राजविराज नगरपालिकाको माछा हटियादेखि गजेन्द्र चोकसम्म करिब पाँच सय मिटरको सडक खण्डमा खसीबोकाको किनबेच भइरहेको छ । यस बजारमा सप्तरीका विभिन्न ग्रामीण क्षेत्रका किसानहरूका साथै छिमेकी जिल्ला सिरहा, लहान तथा सीमावर्ती भारतीय बजारबाट समेत व्यापारीहरू आफ्ना खसीबोका बिक्री गर्न आउने गर्छन्। कतिपय किसान आफैँले पालेका खसीबोका लिएर बजार पुग्ने गरेका छन्।
चाडपर्वको बेला अत्यधिक उपभोक्ताको भीडभाड हुने यस बजारमा खसीबोकाको मूल्यसूची राखिएको छैन। मूल्य नियन्त्रण र बजार व्यवस्थापनका लागि सम्बन्धित निकायका प्रतिनिधिहरूको नियमित उपस्थिति पनि नदेखिँदा व्यापारी र किसानहरूले आफूखुसी मूल्य निर्धारण गर्ने प्रवृत्ति बढेको छ। यसले गर्दा उपभोक्ताहरूलाई उचित मूल्यमा खसीबोका खरिद गर्न कठिनाइ भएको स्थानीयको गुनासो छ।
व्यापारी राजेन्द्र यादवका अनुसार खसीबोका बिक्री गरेबापत प्रतिगोटा दुई सय रुपियाँ ‘बट्टा’ तिर्नुपर्ने बाध्यता रहेको छ। नगरपालिकाले ‘बट्टा’ असुली गरे पनि बजारको व्यवस्थापन सन्तोषजनक नरहेको उहाँको गुनासो छ। ‘बट्टा’ असुलीअनुसार आवश्यक सुविधा, सुरक्षा र व्यवस्थित खरिदबिक्रीको वातावरण नबन्दा किसान, व्यापारी र उपभोक्ता सबै प्रभावित भएको उहाँले बताउनुभयो।
राजविराज नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले नगरपालिकाले आफ्ना कर्मचारी कम्प्युटर अपरेटर शीतल दासको नाममा ‘अमानत’ मार्फत ‘बट्टा’ असुली गरिरहेको पुष्टि गर्नुभयो। खसीबोका बिक्री गरेबापत प्रतिगोटा दुई सय रुपियाँ ‘बट्टा’ तोकिएको भए पनि खरिदबिक्री मूल्य निर्धारणको जिम्मेवारी नगरपालिकाले नलिएको उहाँले प्रस्ट पार्नुभयो।
स्थानीय उपभोक्ता डोमन साहले खसीबोका बजार पनि नगरमा लाग्दै आएको साप्ताहिक हाटबजारकै शैलीमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँका अनुसार बजारमा मूल्यसूची राख्ने, खरिदबिक्रीलाई व्यवस्थित गर्ने र पर्याप्त सुरक्षा प्रबन्ध मिलाउनेजस्ता आधारभूत कार्यहरू पनि भएका छैनन्। नियमित बजार अनुगमनको अभावमा उपभोक्ताहरूलाई खसीबोकाको वास्तविक मूल्यबारे जानकारी पाउनसमेत कठिनाइ भइरहेको उहाँको भनाइ छ।
दसैँका बेला जिल्लाका विभिन्न मन्दिरहरूमा खसीबोकाको बलि दिने तथा मासुको खपत अत्यधिक बढ्ने भएकाले बजारमा माग उच्च हुने गर्छ। यस्तो अवस्थामा मूल्यमा मनपरी, अस्वस्थ प्रतिस्पर्धा र उपभोक्ता ठगिने जोखिम झनै बढ्छ। मूल्यसूची राख्ने, खरिदबिक्रीलाई पारदर्शी बनाउने, सुरक्षा व्यवस्था मिलाउने तथा नियमित अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकार र सम्बन्धित निकायको भए पनि राजविराजको यस विशेष खसीबोका बजारमा त्यसको अभाव स्पष्ट देखिएको छ।
यसैबीच, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले केही दिनअघि विभिन्न तीन–चार स्थानमा बजार अनुगमन गरिएको जानकारी दिनुभयो। दसैँलगायत चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार हालसम्म राजविराजको खसीबोका बजारमा अनुगमन गरिएको छैन तर अब शीघ्र उक्त बजारमा पनि अनुगमन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
चाडपर्व लक्षित बजार अनुगमनको तयारी भइरहँदा उपभोक्ताको प्रत्यक्ष सरोकार जोडिएको खसीबोका बजारमै मूल्यसूची, सुरक्षा र व्यवस्थापनको अभाव देखिनु चिन्ताजनक छ। ‘बट्टा’ असुलीमा मात्र सीमित नभई बजारलाई व्यवस्थित बनाउने, मूल्य पारदर्शिता कायम गर्ने र उपभोक्तालाई ठगीबाट जोगाउनेतर्फ नगरपालिका तथा अन्य सरोकारवाला निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
