काठमाडौँ, वैशाख २९ गते । नेपाल भाषा साहित्यको विकास र उत्थानमा विशिष्ट योगदान पुर्याउनुभएका प्रसिद्ध इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधरलाई ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२’ बाट सम्मानित गरिएको छ । उहाँलाई नगद एक लाख रुपियाँसहित उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार यसपटक प्राध्यापक तुलाधरको पोल्टामा परेको हो । यो पुरस्कार यसअघि वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीजस्ता दिग्गज व्यक्तित्वले प्राप्त गरिसक्नुभएको छ, जसले तुलाधरको सम्मानको गरिमालाई अझ बढाएको छ ।
पुरस्कार छनोट समितिका संयोजक एवम् प्रतिष्ठानका पूर्व उपाध्यक्ष जितपाल किँरातले प्राध्यापक तुलाधरको गहन अध्ययन, अनुसन्धान र निरन्तरको सेवालाई मध्यनजर गर्दै विभिन्न तथ्याङ्कगत खोज तथा निर्धारित प्रक्रिया पूरा गरी उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानले नेपाली आदिवासी जनजातिका भाषा, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन गरेको प्रयासमा प्राध्यापक तुलाधरको योगदान उच्च मूल्याङ्कन गरिएको हो ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा र प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख राम मादेनले प्राध्यापक तुलाधरको योगदानको प्रशंसा गर्दै उहाँलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्राध्यापक प्रेमशान्ति तुलाधरको व्यक्तित्व र योगदान
विसं २००८ मा काठमाडौँको भोटाहिटीमा जन्मनुभएकी प्राध्यापक प्रेमशान्ति तुलाधर नेपालभाषा साहित्यका एक जीवन्त धरोहर हुनुहुन्छ । उहाँको विद्वत्ता र योगदान बहुआयामिक रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट एम.ए. (अर्थशास्त्र) मा महिला विद्यार्थीमध्ये सर्वप्रथम हुनुभएकी उहाँ नेपालभाषामा एम.ए. गर्ने पनि पहिलो महिला हुनुहुन्छ । यो दुर्लभ उपलब्धिले उहाँको उच्च शैक्षिक क्षमता र बहुभाषिक दख्खललाई उजागर गर्दछ । अर्थशास्त्रमा सर्वप्रथम हुँदा उहाँले चौधरी सुवर्ण पदक प्राप्त गर्नुभएको थियो भने नेपालभाषामा सर्वप्रथम हुँदा महेन्द्र विद्याभूषण सुवर्ण पदक तथा नेपालभाषा केन्द्रीय विभागबाट चैनलाकौल पुरस्कार प्राप्त गर्नुभएको थियो ।
प्राध्यापक तुलाधरले आफ्नो जीवनको लामो कालखण्ड अध्यापन कार्यमा समर्पित गर्नुभयो । उहाँले पद्मकन्या क्याम्पसमा नेपालभाषा विषयमा ३५ वर्षसम्म अध्यापन गर्नुभयो भने त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागमा पाँच वर्षसम्म प्राध्यापन गरी अनगिन्ती विद्यार्थीलाई दीक्षित गर्नुभएको छ ।
उहाँको साहित्यिक योगदान अतुलनीय छ । नेपालभाषाको साहित्यिक इतिहास लेखन र समालोचनामा उहाँको विशेष दख्खल रहेको छ । नेपालभाषा एकेडेमीबाट प्रकाशित उहाँको ‘नेपालभाषा साहित्यया इतिहास’ नामक कृति नेपालभाषा विषयको बी.ए. तथा एम.ए. तहमा पाठ्यपुस्तकको रूपमा पढाइन्छ, जसले भावी पुस्ताका लागि मार्गदर्शकको काम गरेको छ । उहाँको पहिलो रचनाको रूपमा ‘जीवन व सङ्घर्ष’ निबन्ध नेपालभाषाको ‘सितु’ पत्रिकामा प्रकाशित भएको थियो ।
प्राध्यापक तुलाधरले थुप्रै मौलिक कृतिहरू रचना गर्नुका साथै महत्वपूर्ण पुस्तकहरूको सम्पादन पनि गर्नुभएको छ । उहाँका प्रमुख कृतिहरूमा नेपालभाषा काव्य परम्पराय् कवि व्यथितया काव्य, न्हू बाखं पुचः या बाखं, सुगत सौरभ महाकाव्यया बारे छुं., जिगु सिर्जनाया पुचः, नेपालभाषाया पुनर्जागरणकालया महारथीपिं, नेपालभाषाया हाला म्येय् छपुलु, नेपालभाषा साहित्यको इतिहास (नेपाली अनुवाद), नेवार जातिका अभौतिक संस्कृति र नेपालभाषाको आख्यान साहित्यमा नारी स्रष्टाहरु पर्दछन् । यसैगरी, उहाँले नेपालभाषा व थ्वया साहित्य विभागीय गोष्ठि, लोक साहित्य, विष्णु अल्पज्ञया जि व जिया दुने, नेपाल संवत व शंखधर साख्वाः, नेवाः लोकवार्ता लगायतका पुस्तक सम्पादन गरी नेपालभाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
उहाँलाई नेपालभाषा साहित्यको क्षेत्रमा प्रदान गरिने सर्वोच्च सम्मानहरूबाट पनि विभूषित गरिसकिएको छ । श्रेष्ठ सिरपा, वैकुण्ठ लार्काल सिरपा, गिरिधरलाल नेपालभाषा सिरपाा र भाषा थुवाः सम्मान जस्ता प्रतिष्ठित पुरस्कार तथा सम्मानबाट उहाँलाई पुरस्कृत एवम् सम्मानित गरिसकिएको छ । यी सम्मानहरूले प्राध्यापक तुलाधरको अथक परिश्रम र साहित्यप्रतिको समर्पणलाई पुष्टि गर्दछन् ।
