असार २५, २०८३ बिहीबार
मन्त्री-प्रधानमन्त्रीविरुद्ध बोले जेल जानुपर्ला: अध्यक्ष ओलीको कटाक्ष, सरकारको सय दिने कार्यक्षमतामाथि प्रश्न
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र कटाक्ष गर्दै मन्त्री तथा प्रधानमन्त्रीविरुद्ध बोल्दा वा लेख्दा सजग रहन चेतावनी दिएका छन्। नत्र झ्यालखाना जानुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो। पार्टी मुख्यालय च्यासलमा बिहीबार आयोजित निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारका क्रियाकलापमाथि टिप्पणी गर्नेहरुलाई अप्रत्यक्ष रुपमा धम्की दिइएको संकेत गरेका हुन्।
अध्यक्ष ओलीले सञ्चारमाध्यम र नागरिक समाजलाई लक्षित गर्दै भने, ‘मन्त्री–प्रधानमन्त्रीका विरुद्ध नलेख्नु होला, नबोल्नु होला, प्रसारण गर्दा होस पुर्याउनु होला। नत्र झ्यालखाना जानु पर्ला, बरु हामीलाई गाली गर्नुहोला।’ उनले आफूहरुलाई जति गाली गरे पनि हुने तर सरकारमा रहेकाहरुलाई आलोचना गर्न नपाइने अवस्था आएको भन्दै व्यंग्य गरे। यो भनाइले सरकारले आलोचनाप्रति अनुदारता देखाएको र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको सन्देश दिएको विश्लेषण गरिएको छ।
सरकारको सय दिने कार्यसम्पादनमाथि कठोर टिप्पणी गर्दै अध्यक्ष ओलीले जनमानसमा निराशा मात्रै छाएको दाबी गरे। ‘सय दिनमा सरकारले जनतालाई रुवाउने बाहेक खुशी हुने कुनै काम गरेको छैन,’ उनले भने, ‘देशमा खुशी हुनका लागि राति अबेरसम्म विश्वकप फुटबल खेल हेर्नुको विकल्प छैन।’ यो भनाइले सरकार जनजीवनका आधारभूत समस्या समाधान गर्न असफल भएको र जनतालाई मनोरञ्जनमा मात्रै सीमित हुन बाध्य पारेको उनको आशय थियो।
अध्यक्ष ओलीले वर्तमान सरकारलाई ‘भाँडोमा उम्लिएको दूध’ सँग तुलना गर्दै सरकारको खुट्टा भुइँमा नभएको र कर्तव्यबोध शून्य रहेको बताए। उनले सरकारको दिशाहीनता र जनसरोकारप्रतिको उदासिनतामाथि गम्भीर प्रश्न उठाए। ‘सरकारलाई कति नम्बर दिने भन्ने कुरा जनता र सञ्चारमाध्यमकै हातमा छ,’ उनले भने, ‘तर मसँग सरकारलाई दिनुपर्ने नम्बर छैन।’ उनले सरकारको सय दिनको समीक्षा निराशाजनक रहेको र यसले देशको आर्थिक तथा सामाजिक अवस्था झन् खराब बनाउँदै लगेको आरोप लगाए।
कार्यक्रममा ‘एमाले सकियो’ भन्ने टिप्पणीप्रति पनि अध्यक्ष ओलीले कडा प्रतिवाद गरे। ‘एमाले सकिन नभई देश बनाउन र सफलता प्राप्त गर्न जन्मिएको पार्टी हो,’ उनले दृढतापूर्वक भने। उनले एमाले देश र जनताको हितमा निरन्तर क्रियाशील रहने र यसको भविष्य उज्ज्वल रहेको जिकिर गरे। सोही कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्ताहरूलाई एमालेमा स्वागत गरेका थिए। नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई उनले एमालेमा प्रवेश गराएका हुन्। यसले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
