वीरगन्जस्थित नेशनल मेडिकल कलेजले स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सकहरूलाई अस्पताल तथा छात्रावास खाली गर्न उर्दी जारी गरेको छ। असोज ८ गते कलेजले जारी गरेको सूचनामा आवासीय चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टल, कोठा तथा क्वार्टर खाली गर्न निर्देशन दिइएको छ।
कलेजले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई यस ब्याचका विद्यार्थीहरूलाई फिर्ता गर्न औपचारिक आग्रह गरेको जनाएको छ। सोही सूचनामार्फत प्रथम वर्षका आवासीय चिकित्सकहरूका लागि निर्धारण गरिएका कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, तथा वार्ड/इमर्जेन्सी ड्युटी लगायतका सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरिएको छ।
कलेज प्रशासनले आवासीय चिकित्सकहरूको निरन्तर आन्दोलनपश्चात् उक्त कदम चालेको बुझिएको छ। आवासीय चिकित्सकहरूले कलेजसमक्ष विभिन्न माग राख्दै आएका थिए।
यस निर्णयसँगै आफूहरू अन्योलमा परेको र कलेजले अन्याय गरेको आवासीय चिकित्सकहरूको गुनासो छ। उनीहरूका अनुसार, कलेजले देशभर अन्यत्र नभएको ३६ घण्टासम्मको लामो ड्युटी लगाउने, अनावश्यक रूपमा हाजिरी काटिदिने र विभिन्न बहानामा कारबाही गर्ने गरेको थियो।
यी समस्या समाधानका लागि भन्दै स्नातकोत्तर तहका तीनै वर्षका आवासीय चिकित्सकहरूले भदौ २९ गते कलेजका प्रिन्सिपलको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। उनीहरूका मुख्य मागहरूमा रेजिडेन्टहरूमाथि गरिएको स्वेच्छाचारी कारबाही फिर्ता लिनुपर्ने, ड्युटी समय व्यवस्थित गर्नुपर्ने, अनावश्यक हाजिरी काट्न नपाइने र तोकिएको निर्वाह भत्ता समयमै उपलब्ध गराउनुपर्ने लगायतका विषयहरू समावेश थिए।
माग सम्बोधनका लागि २ दिनको अल्टिमेटम दिए पनि कलेज प्रशासनले बेवास्ता गरेपछि भदौ ३१ गतेदेखि आवासीय चिकित्सकहरूले अस्पताल परिसरमा धर्ना सुरु गरेका थिए। असोज ३ गते कलेज प्रशासनले वार्ताका लागि बोलाए पनि उनीहरूका माग सम्बोधन नभएको र उल्टै धम्की तथा दबाब दिएको चिकित्सकहरूको आरोप छ।
यस प्रकरणलाई लिएर आवासीय चिकित्सकहरूले काठमाडौं आई शिक्षा मन्त्री सस्मित पोखरेललाई भेटेर आफ्ना समस्याबारे जानकारी गराएका थिए। मन्त्री पोखरेलले चिकित्सा शास्त्र अध्ययन संस्थान र चिकित्सा शिक्षा आयोगलाई यस विषयमा तत्काल समाधान खोज्न निर्देशन दिएका थिए।
कलेजको पछिल्लो निर्देशनपश्चात् आवासीय चिकित्सकहरू थप अन्योलमा परेका छन्। “वर्षा भइरहेको अवस्थामा हामी आफ्ना सामान बोकेर कहाँ जाने, यो सम्भव छैन,” एक आवासीय चिकित्सकले आफ्नो समस्या व्यक्त गरे। कलेजले उचित व्यवस्थापन नगरेको खण्डमा आफूहरूलाई अन्यत्र अध्ययनको व्यवस्था मिलाइदिन सरकार तथा चिकित्सा शास्त्र अध्ययन संस्थान समक्ष उनीहरूले आग्रह गरेका छन्।
नेशनल मेडिकल कलेजमा स्नातकोत्तर तह पहिलो वर्षमा करिब ५० जना आवासीय चिकित्सकहरू अध्ययनरत छन्। गत वैशाखको दोस्रो सातादेखि उनीहरूको ड्युटी सुरु भएको थियो। तीन वर्षका लागि बुझाउनुपर्ने करिब २२ लाख रुपैयाँ शुल्कमध्ये उनीहरूले हालसम्म ८ लाख रुपैयाँ कलेजलाई बुझाइसकेका छन्।
