असोज ८, २०८३ बिहीबार १७:२०:११
बर्दिबास: मधेश प्रदेशमा यस वर्ष रोपिएको धानबालीमा डढुवा, ब्लास्ट (मरुवा) र ब्याक्टेरियल लिफ ब्लाइट (बीएलबी) लगायतका विभिन्न रोगको संक्रमण व्यापक रूपमा देखिएको छ। प्रदेशस्तरीय बाली संरक्षण प्रयोगशाला, सिरहाले गरेको परीक्षणमा धानमा पातको फेद डढुवा रोगको प्रकोप सबैभन्दा बढी पाइएको छ। यो रोगका कारण धानको पात रातो भई बोट नै परालजस्तो सुकेर नष्ट हुने गरेको छ, जसले किसानहरूलाई ठूलो चिन्तामा पारेको छ।
प्रयोगशालाले साउनदेखि असोज ७ गतेसम्म धानमा देखिएका रोगहरूको ६६ वटा नमूना संकलन गरेको थियो। उक्त संकलित नमूनाहरूको नतिजाअनुसार २७ वटामा पातको फेद डढुवा रोग, १८ वटामा ब्लास्ट रोग र १६ वटामा ब्याक्टेरियल लिफ ब्लाइट (बीएलबी) रोगको संक्रमण पुष्टि भएको छ। यसबाहेक, ५ वटा नमूनामा किराको प्रकोप पनि फेला परेको छ। यस तथ्यांकले धानबालीमा डढुवा रोगको प्रमुखतालाई स्पष्ट पारेको छ।
बाली संरक्षण प्रयोगशाला, सिरहाका प्रमुख कोमल रिजालका अनुसार, यस वर्ष धानमा ब्लास्ट (मरुवा) र बीएलबी रोगको संक्रमणसँगै फेद डढुवा रोग मुख्य समस्याका रूपमा देखा परेको छ। उनले गत चैते धानमा पनि पर्सा जिल्लामा खैरो फड्के किराको प्रकोप ‘ब्रेकआउट’ कै अवस्थामा पुगेको स्मरण गराउँदै, “किराले धानको बोटलाई सुकाएर परालजस्तो बनाइदिन्छ भने मरुवा रोग लाग्यो भने धान खेती नै साखाप पारिदिन्छ,” भन्दै रोगको गम्भीरता औंल्याए।
महोत्तरीको पाटुका किसान प्रेमबहादुर माझीले धानबालीमा रोगको संक्रमण तीव्र गतिमा फैलिएपछि किसानहरू गम्भीर चिन्तामा डुबेको बताएका छन्। यस वर्ष मधेस प्रदेशका कुल ३ लाख ७३ हजार ६९३.२९ हेक्टर (९७.७१ प्रतिशत) जमिनमा धान रोपाइँ भएको थियो। धानमा बाला लाग्ने बेलामै विभिन्न प्रकारका रोगहरूको आक्रमण बढेपछि किसानहरू आजित भएका छन्। पाटुकी किसान टिकामाया विश्वकर्माले धानको पातमा ‘राते’ रोग लागेर सुक्ने र धानको घोगामा ‘गबरा’ रोगको संक्रमणले किसानहरूलाई हैरान पारेको गुनासो गरिन्।
बर्दिबास नगरपालिका–३, माथिल्लो पाटुका प्रेमबहादुर माझीको जस्तै समस्या तराई–मधेसका लाखौं किसानले भोगिरहेका छन्। किसानहरूले सरकारका सम्बन्धित निकायबाट यस समस्याबारे कुनै सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। यद्यपि, बर्दिबास नगरपालिकाको कृषि विकास शाखाकी कृषि अधिकृत वर्षा सुवेदीले धानमा लागेको रोगबारे विस्तृत अध्ययन गर्न चाँडै नै खेतमै पुग्ने तयारी भइरहेको जानकारी दिएकी छिन्।
बिजलपुराका किसान रामप्रकाश महतोले रासायनिक मल, उन्नत बीउ, सिँचाइको अभाव र महँगीको मार खेप्दै ठूलो लगानीमा धान खेती लगाएका किसानहरू अहिले बालीमा रोगको संक्रमणले गर्दा थप तनावमा फसेको बताए। रोगले खेतमा धमाधम बाली नष्ट हुन थालेपछि किसानहरूको होसहवास उडेको छ र उनीहरू आफ्नो जीविकोपार्जनमाथि गम्भीर संकट आएको महसुस गरिरहेका छन्।
