११ असोज, चितवन। अविरल वर्षाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब चार घण्टापछि दिउँसो १२ः१५ बजेदेखि पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा खसेको लेदोसहितको पहिरो हटाएपछि पोखरातर्फ जाने तथा पोखराबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारी साधनहरुले गन्तव्यतर्फ आवतजावत गर्न थालेका छन्।
सडक डिभिजन कार्यालय चितवनका अनुसार, बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। निरन्तरको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए। यसबाट लामो समयदेखि जाममा परेका यात्रु तथा मालवाहक सवारी चालकहरुलाई राहत मिलेको छ।
यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गतको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा ठूला र साना पहिरो खसेका छन्, जसले गर्दा सडक अवरुद्ध बनेको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार, यस खण्डमा बिहानैदेखि पहिरो खस्ने क्रम जारी छ।
विशेषगरी शीलतबजार नजिक लेदो र रुखसहितको पहिरो खसेर सडक छेउ भासिएको छ भने बेनिघाट बजार नजिकको गोमती खोलामा खसेको लेदोसहितको पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ। कृष्णभीरमा माथिबाट लेदोसहितको ठूलो पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। ज्यामिरेघाटस्थित चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा पनि सडक अवरुद्ध छ। हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा भने ठाउँठाउँमा ढुङ्गासहितका साना पहिरा खसेका छन्, जसले आवतजावतमा बाधा पुर्याएको छ।
फिस्लिङ आसपासमा रहेका विभिन्न तीन स्थानमा गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको ठूलो पहिरो खसेको छ। सोही खण्डमा करिब ३० मिटरजति सडकको आधा भाग चर्किएको अवस्थामा रहेको मिश्रले बताए। चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ। धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको जानकारी दिइएको छ भने सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको छ।
घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा र लेदोसहित आएको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको सूचना अधिकारी मिश्रले स्पष्ट पारे। सबै प्रभावित क्षेत्रमा पहिरो पन्छाउने काम युद्धस्तरमा भइरहेको छ। सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण र जनशक्ति पहिरो हटाउने कार्यमा परिचालन गरिएको छ। इञ्जिनियर मिश्रका अनुसार, अब कुनै ठूलो पहिरो नखसेमा साँझसम्ममा अवरुद्ध सबै सडकखण्ड पन्छाएर सवारी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। निरन्तरको वर्षाले गर्दा काममा केही चुनौती थपिएको उनले बताए।
