नाटक ‘माण्डवी’ ले समाजमा अदृश्य रहँदै आएका मानसिक स्वास्थ्यका जटिलता र गृहिणी महिलाका अव्यक्त सपना तथा श्रमलाई गहिरो रूपमा केलाएको छ। राम के.ए.सी.को लेखन तथा निर्देशनमा सद्भाव थिएटर नेपालले एक थिएटर नेपाल, थापागाउँमा मञ्चन गरिरहेको यो नाटक समकालीन समाजको ऐना बनेको छ।
बाहिरबाट हेर्दा सबै भौतिक सुखसुविधाले सम्पन्न माण्डवीको जीवन भित्रबाट अशान्त छ। माया गर्ने श्रीमान्, असल बच्चा र घर चलाउन चाहिने न्यूनतम सुविधा हुँदाहुँदै पनि उनको मन अशान्त रहन्छ। समाजले तोकेको ‘आदर्श’ गृहिणीको भूमिका निर्वाह गर्दै उनी सबेरै उठेर घरको कामधन्दामा लाग्छिन्, तर यो दैनिक जीवनको अन्तहीन चक्रभित्र उनी आफूलाई हराउँदै गइरहेकी छिन्। घरका ती चार भित्ताभित्रको संसार नै उनका लागि जीवन र संसार बनेको छ, जहाँ उनी चराचर वस्तुहरूसँग बोल्छिन्, हाँस्छिन् र आफ्ना अधूरा सपनाहरूसँग संवाद गर्छिन्। वास्तवमा, माण्डवी ‘स्माइलिङ डिप्रेसन’को शिकार भएकी छन्। यो नाटकले माण्डवीको भित्री संघर्ष, उनका अधूरा सपना र आधुनिक जीवनशैलीले मानवमा पारेको अदृश्य मानसिक असरको कथा भन्छ।
डेढ घण्टा लामो यो नाटकले प्रविधि, करिअर, सम्पत्ति र आधुनिकताको दौडधुपमा मान्छे बाहिरबाट जति सुखी र व्यवस्थित देखिए पनि भित्रबाट त्यति नै एक्लो, रित्तो र खण्डित हुँदै गएको वास्तविकता प्रस्तुत गर्छ। आधुनिक मानव सभ्यताको अदृश्य अन्तर्विरोध र मानसिक पक्षघात नाटक ‘माण्डवी’ को मूल विषय हो। घरेलु महिलाको कथा देखाउँदै, नाटकले दर्शकलाई आफ्नै जीवनका चार भित्ताभित्र थुनिएका आकांक्षा र गुम्सिएका चित्कारहरूसँग आमनेसामने गराउँछ, जुन यसको सबल पक्ष हो।
‘माण्डवी’ दार्शनिक संवादहरूले भरिपूर्ण छ। एउटा पारिवारिक कथा देखाइरहँदा यो नाटक अस्तित्ववादी दर्शनतिर मोडिन्छ। स्वतन्त्रता, मोह, सत्य र मिथ्या जस्ता विषयमा विचारोत्तेजक बहसहरू छन्। चरा र पिँजडाको रूपकमार्फत स्वतन्त्रताको जोखिम र भयावहतालाई दर्शाइएको छ। पिँजडाबाट उडेर खुला आकाशमा पुगेको चरा कसरी चिलहरूको आक्रमण र काँडाको झ्याङमा परेर रक्ताम्मे हुन्छ भन्ने प्रसङ्गले स्वतन्त्रताको भ्रम र यसको घातक यथार्थलाई देखाएको छ। त्यस्तै, बुद्ध दर्शन र शिव पुराणका सन्दर्भ जोड्दै पूर्णता र अपूर्णताको द्वन्द्वलाई बहसको विषय बनाइएको छ, जसले नाटकलाई बौद्धिक उचाइ प्रदान गर्छ।

यद्यपि, दार्शनिक संवादहरूको बाहुल्यताले नाटक केही हदसम्म व्याख्यात्मक र बोझिलो बन्न पुगेको छ। कथावस्तु र भावभूमि बलियो हुँदाहुँदै पनि दृश्यभाषा र मञ्चीय गतिशीलताको अभाव खड्किएको छ। यदि केही प्रसङ्गहरूलाई संवादभन्दा बढी दृश्यभाषा र मञ्चीय गतिशीलतामार्फत व्यक्त गरिएको भए नाटक अझ बढी प्रभावकारी र कसिलो बन्ने थियो। यसमा द्वन्द्वको पनि कमी छ, जसले गर्दा समान भाव बोकेका दृश्यहरू लामा र नीरस लाग्न सक्छन्। दृश्य परिवर्तनमा लाग्ने समय र औसत लाइटिङ (जस्तै: श्रीमानले ल्यापटप हेरेको दृश्यमा गरिएको प्रयोग खल्लो बनेको) जस्ता प्राविधिक पक्षमा सुधारको आवश्यकता देखिन्छ।

कलाकारहरूको अभिनय औसत रहे तापनि मुख्य पात्र माण्डवीको भूमिकामा निलीमा पाण्डेले मुस्कान र आँखाको निराशाबीचको सन्तुलनलाई बडो मार्मिक रूपमा पस्किएकी छिन्। अर्कोतिर, भीष्म राज जोशीले पिँजडा र बुबाको भूमिकामा करिब ७/८ वर्षपछि मञ्चमा फर्किएर नाटकमा नयाँ मोड ल्याउने काम गरेका छन्। एउटै कलाकारले भिन्नभिन्न पात्रहरू निभाएको प्रयोग भने प्रशंसनीय छ।
समग्रमा, ‘माण्डवी’ ले समाजले बेवास्ता गर्दै आएको मानसिक स्वास्थ्य र महिलाको अदृश्य श्रम तथा सपनालाई प्रकाशमा ल्याई महत्वपूर्ण विषयमा बहस सुरु गरेको छ। यसको गहन विषयवस्तु सराहनीय भए पनि मञ्चन शैलीमा थप परिष्कार आवश्यक देखिन्छ। यो नाटक असोज १४ गतेसम्म (मंगलबार बाहेक) एक थिएटर नेपाल, थापागाउँमा मञ्चन हुनेछ।
