२०८० भदौमा भएको जेनजी आन्दोलनको आडमा कारागारबाट फरार भएका कतिपय गम्भीर प्रकृतिका अपराधीहरू नौ महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन्, जसले प्रहरी प्रशासनलाई चुनौती थपेको छ। सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य सुटर बाबु थापा पनि फरार सूचीमा छन्। थापालाई प्रहरीले दुई वर्ष सात महिनाको सघन निगरानीपछि पक्राउ गरेको थियो। तत्कालीन प्रहरी महानिरीक्षक स्वयं उपस्थित भई सार्वजनिक गरेका थापालाई ‘घाँटीमा अड्किएको काँडा’ ठानिएको थियो। तर, २०८० भदौ २३ र २४ गतेको आन्दोलनको मौकामा उनी केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली नौ महिनादेखि खोजीमा खटिए पनि पत्ता लाग्न सकेको छैन। प्रहरीका अनुसार थापा नेपालभित्रै भेष बदल्दै, ठाउँ परिवर्तन गर्दै लुकिरहेका छन्। उनी मोबाइल प्रयोग गर्दैनन्, बरु आवश्यक पर्दा अरूको मोबाइल मागेर सम्पर्क गर्ने गरेको पाइएको छ, जसले उनलाई पछ्याउन जटिल बनाएको छ।
बाबु थापाले २०६९ जेठ १८ गते यूएन पार्कमा न्यायाधीश बमको गोली हानी हत्या गरेका थिए। प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण चुरेभावर राष्ट्रिय पार्टीको विवादमा बमले गरेको फैसला रहेको खुलेको थियो। सर्वोच्च अदालतको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि थापाले आफ्नो राजनीतिक भविष्य समाप्त भएको महसुस गरी हत्याको योजना बनाएको पाइएको थियो। थापाले करण भनिने शिव चौधरीसहित दीपककुमार कर्ण, सञ्जय स्माइली मगर र प्रेमराज खड्कासँग मिलेर बमको हत्या गरेका थिए। यस घटनामा थापासहित चार जनालाई जन्मकैद र प्रेमराज खड्कालाई पाँच वर्ष कैद सजाय तोकिएको थियो।
नक्कली भारु नोट कारोबारी लाल मोहम्मद हत्याका मुख्य सार्पसुटर गुड्डु पटेल पनि जेनजी आन्दोलनकै बेला केन्द्रीय कारागारबाट भागेका थिए। भारतको बिहार मोतिहारीका गुड्डु पटेलले २०७९ असोज ३ गते गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरेका थिए। गुड्डुको सम्बन्ध भारतीय ‘अन्डरवर्ल्ड डन’ बब्लु श्रीवास्तवसँग रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०८१ फागुन १८ गते टोखामा गोली हानी पक्राउ गरेको गुड्डु जेनजी आन्दोलनको मौकामा फरार भए र अहिलेसम्म फेला परेका छैनन्। प्रहरी अधिकारीहरूका अनुसार उनी भारत पुगिसकेको अनुमान छ। मोहम्मदको हत्यामा भारतीय गुप्तचरी निकायको समेत भूमिका रहेको विश्लेषण गरिएकाले गुड्डुको पुन: पक्राउ असम्भवप्रायः रहेको प्रहरीको भनाइ छ।
जेनजी आन्दोलनका क्रममा देशभरका २८ कारागार र ९ बाल सुधार गृहबाट १४ हजार ५५५ कैदीबन्दी फरार भएका थिए। तीमध्ये ४ हजार १६ जना अझै फरार सूचीमा छन्। कारागार व्यवस्थापन विभागका अनुसार, फरार हुनेमध्ये ३ हजार ३९० जना नेपाली र ६१८ जना विदेशी नागरिक छन्। फरार विदेशी कैदीहरूमध्ये अधिकांश भारत र चीनका छन्, जसको पुन: पक्राउ पर्ने सम्भावना न्यून देखिन्छ। फरार भएकाहरूमा हत्या, बलात्कार, मानव बेचबिखन र लागुऔषधजस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू रहेका छन्। यी सार्पसुटर र गम्भीर अपराधीहरूको निरन्तरको अनुपस्थिति अनुसन्धान अधिकृतहरूका लागि समेत सुरक्षा चुनौती बनेको छ, जसले कानून प्रवर्तन र सार्वजनिक सुरक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।
