काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा विश्व क्रिकेटका ख्यातिप्राप्त खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा ह्वात्तै बढाएको छ । अष्ट्रेलियाका डेविड वार्नर, दक्षिण अफ्रिकाका डेविड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता चर्चित खेलाडी यतिबेला नेपालमा छन् । प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनुका साथै, उनीहरूले सामाजिक सञ्जालमार्फत नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको प्रचारप्रसार गर्दा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुगेको छ ।
विश्वभर ठूलो सङ्ख्यामा समर्थक र दर्शक भएका यी खेलाडीहरूले नेपालको प्राकृतिक सुन्दरता, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपालीको आतिथ्यको खुलेर प्रशंसा गरिरहेका छन् । उनीहरूले नेपालमा बिताएका अविस्मरणीय क्षण, घुमफिरका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालप्रति चासो बढेको छ । यसबाट विदेशी पर्यटकको आगमनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ, जसले समग्र पर्यटन क्षेत्रलाई नयाँ गति दिनेछ ।
अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गर्नुभएको थियो । सगरमाथाको प्रत्यक्ष दृश्यबाट गहिरो प्रभावित वार्नरले आफ्नो अनुभव इन्स्टाग्राममा साझा गर्दै नेपालको अनुपम प्राकृतिक सुन्दरताको प्रशंसा गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो । आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो । तस्बिर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन् । यो संसार कति विशाल र अद्भुत छ भन्ने महसुस गराउने क्षणमध्ये यो पनि एक हो ।” वार्नरले नेपालीको न्यानो आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि खुलेर प्रशंसा गर्नुभएको छ । नेपाल प्राकृतिक सुन्दरताले मात्र नभई यहाँका मानिसको सरलता, व्यवहार र आत्मीयताले पनि विशेष रहेको उहाँको भनाइ छ । पहिलोपटक नेपाल आउनुभएका वार्नर एनपिएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेलिरहनुभएको छ र ब्याटिङमा प्रभावशाली प्रदर्शन गरिसक्नुभएको छ । उहाँको उपस्थितिले एनपिएलप्रति अन्तरराष्ट्रिय क्रिकेटप्रेमीको चासोसमेत बढाएको छ ।
यसैगरी, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र यहाँको क्रिकेट वातावरणबाट निकै प्रभावित हुनुभएको छ । पहिलोपटक नेपाल आउनुभएका उहाँले यहाँका हिमाली दृश्य र वातावरणको प्रशंसा गर्दै आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताउनुभएको छ । “नेपाल साँच्चै सुन्दर ठाउँ हो । यहाँ आएपछि देखिने प्राकृतिक दृश्य र हिमालहरूले मन लोभ्याउँछन् । यहाँको सुन्दरता र वातावरण अविश्वसनीय छ । आगामी दुई–तीन साता नेपालमा बिताउन पाउँदा म निकै उत्साहित छु”, मिलरले नेपाल आइपुगेलगत्तै भन्नुभएको थियो । उहाँले नेपालको क्रिकेट विकास र यहाँका समर्थकको उत्साहको पनि प्रशंसा गर्नुभएको छ । मिलरले नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको देश भएको उल्लेख गर्दै नेपालीको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जालाई प्रशंसनीय बताउनुभएको छ । “नेपाल क्रिकेटमा तीव्र रूपमा अघि बढिरहेको देश हो । यहाँका मानिसहरू क्रिकेटलाई निकै माया गर्छन् । उनीहरूको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जा साँच्चै प्रशंसनीय छ । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल देख्छु”, उहाँले थप्नुभयो । मिलर यस सिजनको एनपिएलमा कर्णाली याक्सबाट खेलिरहनुभएको छ र प्रतियोगितामा आफ्नो पहिलो खेलमै अविजित ९३ रनको पारी खेल्दै उत्कृष्ट क्षमता प्रदर्शन गरिसक्नुभएको छ ।
बङ्गलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधि सम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहनुभएको छ । उहाँका पोस्टले नेपालबारे अन्तरराष्ट्रिय क्रिकेट समर्थकमाझ थप चासो सिर्जना गर्न सहयोग पुर्याएको छ ।
एनपिएलमा सहभागी विदेशी खेलाडीको गतिविधि क्रिकेट मैदानमा मात्र सीमित छैन । उनीहरूले नेपालको प्राकृतिक तथा सांस्कृतिक पक्षलाई नजिकबाट नियाल्ने र आफ्ना अनुभव सामाजिक सञ्जालमार्फत विश्वभरका समर्थकमाझ पुर्याउने महत्वपूर्ण अवसर पाएका छन् । यसले नेपाली क्रिकेटको अन्तरराष्ट्रिय पहिचान विस्तारसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ ।
