काठमाडौं । तिहारको महत्वपूर्ण पर्व भाइटीकाको अवसरमा काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा विशेष चहलपहल देखिएको छ । हरेक वर्ष भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुल्ने यो मन्दिर दाजुभाइ तथा दिदीबहिनी नभएका वा पारिवारिक कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेकाहरूका लागि टीका लगाउने प्रमुख गन्तव्य बनेको छ ।
मन्दिरसम्म पुग्ने साँघुरो पुलमा बिहानैदेखि टीका लगाउन आउनेहरूको बाक्लो उपस्थिति थियो । भक्तजनहरू मन्दिरतर्फ अघि बढिरहेका देखिन्थे भने कतिपय टीका लगाएर फर्किँदै थिए । दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने यस पवित्र अवसरमा मन्दिर परिसरमा विशेष रौनक छाएको थियो ।
मन्दिरको भित्री भाग तथा बाहिरी परिसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको निधारमा परम्परागत सप्तरङ्गी टीका लगाइदिइरहेका दृश्यहरू मनमोहक थिए । टीका लगाइदिने र मखमली, सयपत्रीका माला पहि¥याइदिने परम्परागत विधि उत्साहका साथ सम्पन्न भइरहेको थियो । दिदीबहिनीले दाजुभाइलाई सेलरोटी, अनरसा, मिठाई लगायतका सगुन दिएर आशीर्वाद प्रदान गरिरहेका थिए भने दाजुभाइले पनि दक्षिणा तथा उपहार दिँदै सम्मान प्रकट गरिरहेका थिए । यसले भाइटीका पर्वको पारिवारिक आत्मीयता र सांस्कृतिक महत्वलाई झल्काएको थियो ।
यस वर्ष पनि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको भाइटीकाले हजारौं दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकअर्काप्रति सद्भाव र प्रेम साटासाट गर्ने अवसर प्रदान गरेको छ । विशेषगरी दिदीबहिनीबाट टीका लगाउन नपाएका दाजुभाइका लागि यो मन्दिर वैकल्पिक व्यवस्थाका रूपमा स्थापित भएको छ, जहाँ धर्मशास्त्रअनुसार टीका लगाउने व्यवस्था मिलाइएको हुन्छ । यसले आधुनिक जीवनशैलीमा पनि परम्परागत मूल्यमान्यताको महत्वलाई जीवन्त राख्न मद्दत पु¥याएको छ ।
नेपाली संस्कृतिको यो अनुपम पर्वको महत्व बुझ्नका लागि केही विदेशी पर्यटकहरू पनि रानीपोखरीको अवलोकनमा पुगेका थिए । उनीहरूले स्थानीयहरूसँगै पर्वको चहलपहल अवलोकन गर्दै कतिपयले टीका लगाएर नेपाली संस्कृतिमा घुलमिल हुने प्रयास गरेका थिए । यसले पर्वको राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चासो र आकर्षण बढेको संकेत गरेको छ ।
समग्रमा, ६ कात्तिकको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीका पर्वको उत्साह, आत्मीयता र परम्पराको जीवन्त केन्द्रबिन्दु बनेको थियो । यसले नेपाली समाजमा दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र सम्बन्ध र तिहार पर्वको सांस्कृतिक विरासतलाई अझ सुदृढ बनाएको छ ।









