मुक्तिनाथ (मुस्ताङ), भदौ १६ गते । मुस्ताङमा यस वर्ष उच्च घनत्वको स्याउ उत्पादनले उल्लेख्य सफलता प्राप्त गरेको छ । कृषकहरू बगैँचाबाटै आकर्षक मूल्यमा स्याउ बिक्री गरिरहेका छन् भने बजारमा यसको माग उच्च देखिएको छ । थासाङ गाउँपालिका–१, टुकुचेका निरज तुलाचन यस सफलताका एक प्रमुख उदाहरण हुन् । गत वर्ष ७० लाख रुपियाँको स्याउ बिक्री गर्नुभएका तुलाचनले यस वर्ष ५५ रोपनी क्षेत्रफलबाट उच्च घनत्वको स्याउ बिक्री गर्दै हुनुहुन्छ, जसबाट उत्पादन वृद्धि हुने संकेत मिलेको छ ।
तुलाचनले आफ्नै ५५ रोपनी र २७ रोपनी भाडाको जग्गामा गाला, किङरोड र गोल्डेन जस्ता उच्च घनत्वका नयाँ स्याउका बिरुवा लगाएर बगैँचा विस्तार गर्नुभएको छ । मुस्ताङ जिल्लाभर करिब एक सय कृषकहरू उच्च घनत्वको स्याउ खेतीमा संलग्न छन् । कृषक तुलाचनका अनुसार, “उच्च घनत्वको स्याउको उत्पादन बढेसँगै बजारमा पनि यसको माग धेरै छ, हामीले बारीबाटै राम्रो मूल्यमा बिक्री गर्न पाएका छौँ ।” उहाँले गाला र किङरोड जातको स्याउ प्रति केजी साढे दुई सय रुपियाँमा बगैँचामै व्यापारीलाई बिक्री गरिरहेको बताउनुभयो । कतिपय व्यापारीहरूले त काँचो स्याउ बोटमै खरिद गरी धमाधम टिप्न सुरु गरिसकेका छन् ।
उच्च घनत्वको स्याउ खेतीलाई जिल्लाका पाँचवटै स्थानीय तह, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा) तथा कृषि परियोजनाहरूले अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन्, जसले कृषकहरूलाई उत्साहित बनाएको छ । कृषि तथा पशु विकास कार्यालय मुस्ताङकी निमित्त प्रमुख बबिता नेपालीका अनुसार, जिल्लाभर ६५ हेक्टर क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेती गरिएको छ । उहाँले थप्नुभयो, “यसै हप्ता मुस्ताङको स्याउ बजारमा जान्छ । गुणस्तर उच्च भएकाले बजारमा माग पनि उच्च छ ।” यस वर्ष अनुकूल मौसम, सुव्यवस्थित बगैँचा व्यवस्थापन र रोगकीराको समस्यामा कमीका कारण उत्पादन बढ्ने तथा ढुवानीसमेत समयमै हुने अपेक्षा गरिएको छ ।
जिल्लाको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा कुल ६५ हेक्टर क्षेत्रफलमा उच्च घनत्वको स्याउ खेती फैलिएको छ । यस वर्ष यसबाट ८ हजार ४ सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । रैथाने स्याउका प्रजातिहरू भदौ २२ गतेपछि बजारमा आउनेछन् । भदौ महिनामै उत्पादन हुने उच्च घनत्वको स्याउले भारतीय स्याउलाई विस्थापित गर्ने व्यवसायी जिना तामाङले बताउनुभयो । गत वर्ष मुस्ताङबाट स्थानीय र उच्च घनत्वको स्याउ गरी कुल ११ अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको थियो, उच्च घनत्वको स्याउको प्रति हेक्टर उत्पादन स्थानीयको तुलनामा दोब्बरभन्दा बढी पाइएको थियो ।
तल्लो क्षेत्र पहिले स्याउ उत्पादनको प्रमुख केन्द्र मानिन्थ्यो । तर, जलवायु परिवर्तनका कारण पछिल्लो समय लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा समेत स्याउ खेती विस्तार भएको छ । स्थानीय तहका कृषि शाखामार्फत औजार वितरण, आधुनिक प्रविधि, समयमै मलजल र प्राविधिक तालिमका कारण मुस्ताङको स्याउ रसिला, गुलिया, ठूलो आकारका र धेरै दिनसम्म ताजा रहने भएकाले बजारमा यसको माग निरन्तर उच्च रहँदै आएको छ ।
