काठमाडौँ, असोज ३० गते। बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ सुरक्षाकर्मी परिचालन गरेको छ। चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा ल्याएको हो।
योजनाअन्तर्गत चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र अवैध हुन्डीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणलाई प्राथमिकता दिइएको छ। अन्तर्राष्ट्रिय सीमा नाकाहरूबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार एवं तस्करी रोक्न समेत विशेष निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) अबिनारायण काफ्लेका अनुसार असोज २१ गतेदेखि लागू भएको यस विशेष सुरक्षा योजनाले अपराध रोकथाम, सक्रिय प्रहरी परिचालन, सडक दुर्घटना न्यूनीकरण र प्रविधिको अधिकतम प्रयोगमा जोड दिएको छ। डीआइजी काफ्लेले हाल देशभरको शान्ति सुरक्षा सन्तोषजनक रहेको बताउँदै भन्नुभयो, “आम नागरिकले चाडपर्व सुरक्षित रूपमा हर्षोल्लासका साथ मनाउन सकून् भनेर नेपाल प्रहरी कार्ययोजनासहित काम गरिरहेको छ।”
चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा कुल ५० हजार ४५८ प्रहरी परिचालन गरिएको छ। प्रदेशगत विवरणअनुसार, कोशी प्रदेशमा आठ हजार १३३, लुम्बिनी प्रदेशमा सात हजार ९२१, काठमाडौं उपत्यकामा सात हजार ६६८, मधेश प्रदेशमा सात हजार २३०, गण्डकी प्रदेशमा पाँच हजार १८८, कर्णाली प्रदेशमा पाँच हजार ३१४, बागमती प्रदेशमा चार हजार ४९९ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५०५ प्रहरी खटाइएका छन्। चाडपर्वमा सार्वजनिक यातायातमा बढ्ने यात्रुको चाप, बजारमा हुने भीडभाड र घर खाली गरेर बाहिरिने नागरिकको संख्यालाई ध्यानमा राखी त्यस्ता क्षेत्रमा सुरक्षा निगरानी बढाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।
यात्रु ठगी, बढी भाडा असुली र आवागमनका क्रममा उत्पन्न हुन सक्ने समस्या सम्बोधन गर्न देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यसैगरी, सीमावर्ती क्षेत्रमा आउने नागरिकलाई लक्षित गरी १०८ स्थानमा पनि सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सार्वजनिक यातायातको यात्रा सुरक्षित बनाउन बस छुट्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवन गरे–नगरेको र सवारी साधनको अवस्थाबारे जाँच गर्ने व्यवस्था मिलाइएको छ। लामो दूरीका सवारी साधनमा दुईजना चालक भए–नभएको तथा यान्त्रिक अवस्था जाँचलाई पनि प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। राजमार्गमा यात्रुले खाना तथा अन्य उपभोग्य सामग्री खरिद गर्दा ठगी, बढी मूल्य असुली, कालोबजारी र म्याद गुज्रिएका सामग्रीको बिक्री रोक्न सम्बन्धित निकायसँगको समन्वयमा अनुगमन भइरहेको छ।
दसैँ मनाउन घर छाडेर बाहिरिने नागरिकको संख्या बढ्दा घरमा चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राखी प्रहरीले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। घर खाली गरेर बाहिरिँदा सामाजिक सञ्जालमा आफू बाहिर गएको सूचना सार्वजनिक नगर्न, बहुमूल्य गरगहना तथा अन्य सामग्री घरमा नराख्न र झ्यालढोका राम्रोसँग बन्द गरी ताल्चा लगाउन प्रहरीले अनुरोध गरेको छ। सम्भव भएसम्म अतिरिक्त सुरक्षा ताल्चा प्रयोग गर्न, ग्यास तथा बिजुलीको व्यवस्था सुरक्षित बनाउन र छिमेकी वा नजिकको प्रहरी कार्यालयलाई घर खाली रहनेबारे जानकारी दिनसमेत प्रहरीले सुझाव दिएको छ। प्रवक्ता काफ्ले भन्नुहुन्छ, “घर खाली गरेर बाहिर जाँदा सामाजिक सञ्जालमा आफू बाहिर गएको सूचना राख्ने प्रवृत्तिलाई रोक्नुपर्छ। घरको सुरक्षा व्यवस्था मिलाएर र छिमेकी तथा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर जान हामीले अनुरोध गरेका छौँ।”
यस वर्षको सुरक्षा योजनामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिइएको छ। प्रमुख सहरी क्षेत्र तथा संवेदनशील स्थानमा सीसीटीभीमार्फत निगरानी गर्नुका साथै आवश्यकताअनुसार ड्रोन, तालिमप्राप्त कुकुर र प्रहरी कर्मचारीले लगाउने बडी क्यामेरासमेत प्रयोग गरिएको छ। सुरक्षा निकायबीच समन्वय र तत्काल सूचना आदान–प्रदानको व्यवस्था मिलाइएको छ। प्रविधिबाट प्राप्त सूचनाका आधारमा सुरक्षा परिचालनलाई प्रभावकारी बनाउने प्रयास गरिएको डीआइजी काफ्लेले बताउनुभयो।
चाडपर्वको समयमा डिजिटल तथा वित्तीय ठगीका घटना बढ्न सक्ने भएकाले बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै फोन गर्ने वा विभिन्न प्रलोभन देखाएर ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण माग्ने व्यक्तिबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ। चिट्टा परेको भन्दै रकम माग्ने, शङ्कास्पद लिङ्क पठाउने तथा अनलाइन कारोबारका नाममा ठगी गर्ने गतिविधिबाट जोगिन प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक नागरिकको सुरक्षालाई पनि यस विशेष योजनामा समेटिएको छ। चाडपर्वमा हुन सक्ने जुवातास, अवैध सट्टेबाजी र लागुऔषधको ओसारपसार तथा बिक्रीवितरणजस्ता गतिविधि नियन्त्रण गर्न समेत प्रहरी कर्मचारीलाई सक्रियतापूर्वक परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मातहतका कार्यालय प्रमुखहरूलाई चाडपर्व सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। प्रहरीले चाडपर्वलाई सुरक्षित बनाउन सुरक्षा निकायको प्रयाससँगै नागरिकको सहकार्य अपरिहार्य रहेको जनाउँदै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन र आवश्यक सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ।
