काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच जनताका सरोकारका विषयमा निरन्तर र सार्थक संवाद हुनुपर्नेमा जोड दिएका छन् । ३३ औं मदन-आश्रित दिवसका अवसरमा ‘मदन-आश्रित प्रतिष्ठान’ द्वारा काठमाडौँमा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा बोल्दै महासचिव पोखरेलले वर्तमान अवस्थामा यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरूबीच जनसरोकारका मुद्दामा उचित संवाद हुन नसकेको टिप्पणी गरे ।
महासचिव पोखरेलले राज्यका तीन प्रमुख अङ्गहरू – व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच आवश्यक समन्वयको अभाव खड्किएको औँल्याए । उनले राष्ट्र निर्माणमा युवा शक्तिको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै सूचना प्रविधि र शिक्षाका माध्यमबाट युवाहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्न नेकपा (एमाले)ले गहन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरेलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण सङ्घर्षबाट मात्र परिवर्तनको अनुभूति दिन सकिने जननेता मदन भण्डारीको विचारलाई स्मरण गरे ।
महासचिव पोखरेलले गत निर्वाचनको परिणामबाट एमालेले महत्वपूर्ण पाठ सिकेको उल्लेख गर्दै आगामी दिनमा जनमुखी नीति र कार्यक्रमका साथ जनताका माझमा जाने स्पष्ट पारे । उनले पार्टीले आफ्ना वैचारिक अडानहरूलाई समयसापेक्ष परिमार्जन गर्दै र जनताका वास्तविक समस्याहरूलाई सम्बोधन गर्ने गरी नयाँ रणनीतिहरू निर्माण गर्ने योजना रहेको बताए । राजनीतिक स्थिरता र सुशासनका लागि दलहरूबीचको सहमति र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
गोष्ठीमा बोल्दै मदन-आश्रित प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवालीले ‘जबज’ ले प्रतिपादन गरेका लोकतान्त्रिक मूल्यमान्यताहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले युवाहरूलाई सही राजनीतिको धारमा अग्रसर गराउन जबजका सिद्धान्तहरूले मार्गनिर्देशन गर्न सक्ने धारणा राखे । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले युवाहरूको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन सरकार र राजनीतिक दलहरूले ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष विनायक शाहले युवाहरूको आवाज सुन्न र उनीहरूका समस्या समाधान गर्न राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताए । नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजालले युवाहरूलाई राजनीतिक प्रक्रियामा सक्रिय सहभागी गराउनका लागि प्रेरणादायी वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । सूचना प्रविधि विज्ञ ई. रमेश पौडेलले आधुनिक प्रविधिको प्रयोगमार्फत युवाहरूलाई आत्मनिर्भर र सक्षम बनाउन सकिने सम्भावनाबारे प्रकाश पारे । वक्ताहरूले संयुक्त रूपमा युवाशक्तिको भावनालाई मनन गर्दै सरकार र राजनीतिक दलहरूले राष्ट्रिय हितमा काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानको वार्षिक मुखपत्रको विमोचन समेत गरिएको थियो ।
