सन् २०२६ को सुरुवाती चार महिना (जनवरी-अप्रिल) अवधिमा अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ५२ हजार ४ सय ८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। यस अवधिमा भित्रिएका कूल पर्यटकमध्ये ६८ प्रतिशत अर्थात् १ लाख ४ हजार २ सय २७ जना सार्क मुलुकका रहेका छन्। बाँकी ४८ हजार २ सय ५९ जना पर्यटक भने अन्य तेस्रो मुलुकका पाहुना हुन्। पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा भ्रमणमा आउने पर्यटकमध्ये सार्क मुलुकका पाहुनाको बाहुल्यता बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
सार्क मुलुकका पर्यटकहरूमध्ये पनि भारतीय पाहुनाहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। यसको प्रमुख कारण अन्नपूर्ण क्षेत्रभित्र अवस्थित मुक्तिनाथ मन्दिरको धार्मिक यात्रा मानिएको छ। मुक्तिनाथ दर्शनका लागि आउने भारतीयहरू यसै तथ्याङ्कमा गणना हुन्छन्। यद्यपि, हालका दिनमा धार्मिक यात्राबाहेक पदयात्राका लागि आउने सार्क मुलुकका अन्य पर्यटकको संख्या पनि बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। एक्याप प्रमुख रविन कडरियाका अनुसार, “भारतीय धार्मिक पाहुनाको आगमन बढेकाले स्वाभाविक रूपमा सार्क मुलुकका पाहुनाको संख्यामा वृद्धि देखिएको छ। तर, पछिल्लो समय धार्मिक बाहेक पदयात्राकै लागि आउने सार्क मुलुकका अन्य पर्यटक पनि उल्लेख्य छन्।” नेपालमा भारतबाहेक बंगलादेश, भुटान र श्रीलंकाका पर्यटकको आगमन पनि बढ्दै गएको र यी मुलुकहरू नेपाल भित्रिने शीर्ष १० मुलुकभित्र पर्छन्।
तेस्रो मुलुकका पाहुनाको आगमन पछिल्लो समय विभिन्न कारणले प्रभावित हुन थालेको कडरियाले बताए। विशेषगरी मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण पर्यटक आगमनमा प्रत्यक्ष असर परेको छ। योपटक मुख्य सिजनमै पनि मध्यपूर्वको तनावले तेस्रो मुलुकका पर्यटकको आगमनलाई प्रभावित पारेको थियो, तर सार्क मुलुकका पाहुनाको आगमनमा भने कुनै प्रभाव नपरेको उनले उल्लेख गरे।
कोरोना भाइरस संक्रमणअघि र पछिको अवस्थामा पर्यटक आगमनको प्रवृत्ति ठ्याक्कै उल्टो बनेको छ। कडरिया भन्छन्, “कोरोनाअघि अन्नपूर्ण क्षेत्रमा तेस्रो मुलुकका पाहुना बढी हुन्थे र सार्क मुलुकका पाहुना कम थिए। अहिले सार्क मुलुकका पाहुना बढी हुन थालेका छन् र तेस्रो मुलुकका पाहुनाको आगमन कमजोर बनेको छ।” सन् २०२० पछिका वर्षहरूमा अन्नपूर्ण क्षेत्रमा सार्क मुलुकका पाहुनाको बाहुल्यता कायम रहेको उनले बताए। सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा कुल २ लाख ९९ हजार ८ सय ३१ जना पर्यटक पुगेका थिए। तीमध्ये ४१ प्रतिशत (१ लाख २२ हजार २ सय ३) जना तेस्रो मुलुकका पाहुना थिए भने ५९ प्रतिशत (१ लाख ७७ हजार ६ सय २८) जना सार्क मुलुकका थिए।
हालैको तथ्याङ्क अनुसार, सन् २०२६ को अप्रिल महिनामा मात्रै अन्नपूर्ण क्षेत्रमा ६२ हजार ८ सय ७२ जना पर्यटक पुगेका थिए। यो संख्या अघिल्लो वर्षको सोही महिना (अप्रिल २०२५) मा ४४ हजार ७ सय ६३ थियो। सरकारले पदयात्रामा जाने पाहुनाका लागि विभिन्न सहजताहरू पनि प्रदान गरिरहेको सन्दर्भमा आगामी दिनमा सार्क मुलुकका पाहुनाको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।
मासिक तथ्याङ्क हेर्दा, २०२६ जनवरीमा अन्नपूर्ण क्षेत्रमा जाने १६ हजार ५ सय ५४ जनामध्ये सार्कका पाहुनाको संख्या ३ हजार ५ सय ७ थियो। फेब्रुअरीमा कूल २१ हजार ४० जना पाहुनामध्ये १२ हजार ३ सय ३८ जना सार्कका र ८ हजार ६ सय २ जना तेस्रो मुलुकका थिए। त्यस्तै, मार्च महिनामा आएका ४८ हजार ५ सय १३ जना पाहुनामध्ये सार्क मुलुकका ३२ हजार २० र तेस्रो मुलुकका १६ हजार ४ सय ९३ जना थिए।
पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछाने पनि मध्यपूर्वको तनावले अमेरिकी र युरोपेली मुलुकका पाहुना प्रभावित भएको स्वीकार्छन्। “दक्षिण एसियाली मुलुकका पाहुनाको आवागमन सहज छ। अझ भारतीय पाहुना त स्थलमार्गबाटै आउन सक्छन्, जसले गर्दा सार्कका पाहुनाको आगमन बढिरहेको छ,” लामिछानेले भने। मध्यपूर्वको तनावका कारण योपटक तेस्रो मुलुकका पाहुनाको आगमनमा कम्तीमा १० प्रतिशत गिरावट आएको र अप्रिल महिनामा मात्रै सात प्रतिशत कमी देखिएको उनले बताए। दक्षिण एसियाली मुलुकहरूमा पर्यटन प्रवर्द्धन गर्न सकेमा नेपालको पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने उनको भनाइ छ।
