१९ भदौ, सिन्धुपाल्चोक । बुवाको हात समातेर विद्यालय जाने उमेरकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्की अहिले आफ्नै बुवाको किरिया बस्न विवश भएकी छिन् । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बुवा पदम कार्की बेपत्ता भएपछि खुश्बुले हिन्दु संस्कारअनुसार किरियाको जिम्मेवारी सम्हालेकी हुन् । परिवारकी जेठी छोरी १४ वर्षीया खुशी कार्की स्वास्थ्यका कारण बुवाको किरिया बस्न नसक्ने भएपछि यो अपत्यारिलो जिम्मेवारी कान्छी छोरी खुश्बुले आफैं अघि सरेर लिएकी हुन् ।
मेलम्चीघ्याङस्थित विद्यालयमा कक्षा ६ मा अध्ययनरत खुश्बु अहिले किरियाको कोराभित्र बुवाको सम्झनामा डुबेकी छिन् । उनको सानो उमेर भए पनि मनमा बुवाको अभाव र पीडाको भारी ठूलो छ । बुवाको भौतिक उपस्थिति नभए पनि हिन्दु संस्कारमा १३ दिनसम्म किरिया बस्दा मृतकको आत्माले मोक्ष पाउँछ भन्ने गहिरो विश्वासका साथ उनले यो कठिन कार्यमा आँट गरेकी हुन् । खुश्बुको मनमा अझै एउटा सानो आशा जीवितै छ – कतै बुवा फर्किएर आउनुहुन्छ कि !
“म छोरी भए पनि बुवा बेपत्ता भएपछि सामाजिक परम्पराअनुसार किरिया बसेकी हुँ,” उनले भावुक हुँदै भनिन्, “१३ दिनको काम गर्नु मेरो कर्तव्य हो । बुवाको १३ दिनको कामकाज गर्दा उहाँले मोक्ष पाउनुहुन्छ भन्ने लागेर आँट गरेकी हुँ । दाजुभाइ नभए पनि बुवाको शोकमा मैले जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने लाग्यो ।” आफ्नै मनले अह्राएअनुसार परम्परा अँगालेर काजकिरियामा बसेकी खुश्बुले आफूले लिएको जिम्मेवारी सहज नभएको बताइन् । “मेरो कापी–किताब बोकेर स्कुल जाने उमेर हो । तर जिम्मेवारीले थिचेपछि यो काम पूरा गर्न लागेकी हुँ,” उनले थपिन्, “किरिया बसेको बेला कतै बुवा फुत्त आइहाल्नुहुन्छ कि जस्तो पनि लाग्छ ।” उनी बुवा आउने आशले कोरा बसेकै अवस्थामा बाटोतिर हेरिरहेकी हुन्छिन् ।
परिवारको मुख्य आधार पदम कार्की करिब दुई दशकदेखि भ्यान चलाउँदै आएका थिए । सामान्य आर्थिक अवस्था रहेको कार्की परिवारको घरखर्च चलाउने र दुई छोरीको पालनपोषण गर्ने आधार नै पदमको ड्राइभिङ पेसा थियो । दुई छोरीका लागि पदम केवल बुवा मात्र थिएनन्, उनी सिंगो परिवारको भरोशा र भविष्यका आधार थिए । छोरीहरूलाई पढाउने, घरखर्च जुटाउने र परिवारको भविष्य बनाउने जिम्मेवारी बोकेर उनी वर्षौंदेखि गाडीको स्टेयरिङ समाउँदै आएका थिए । रसुवाबाट काठमाडौं सामान ल्याउँदै गर्दा पदम भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए । परिवारको भविष्यका लागि गरेको त्यही यात्रा अहिले कार्की परिवारका लागि जीवनकै सबैभन्दा पीडादायी बनेको छ ।
बुवाको शवसमेत फेला नपरेको अवस्थामा काजकिरिया गर्नुपर्दा खुश्बुको मनमा पीडा र अन्योल दुवै छ । बुवा जीवितै हुनुहुन्छ कि छैनन् भन्ने यकिन नहुँदा परिवारका सदस्यहरू पनि गहिरो शोकमा छन् । तर, हिन्दु संस्कारअनुसार बुवाप्रतिको कर्तव्य पूरा गर्नुपर्छ भन्ने भावनाले उनी आफैं कोरा बसेकी हुन् । बुवाको मृत्यु पुष्टि नभएकै अवस्थामा खुश्बुलाई किरियामा राख्ने निर्णय परिवारका लागि सहज थिएन, तर बुवाप्रतिको कर्तव्य पूरा गर्न आफू तयार रहेको खुश्बुले बताएकी छिन् । ११ वर्षकी खुश्बुले बुवाको सम्झनामा गरेको यो कर्म परिवारका लागि मात्र होइन, समाजकै लागि एउटा भावुक र कर्तव्यपरायण उदाहरण बनेको छ ।
बाढीले देशभर धेरै परिवारलाई आफन्तविहीन बनाएको छ । धेरै घरमा आज पनि बेपत्ताको खोजी जारी छ । आफन्त फर्केर आउने आशामा धेरै परिवार दिनरात बाटो हेरिरहेका छन् । त्यही पीडाको एउटा प्रतिनिधि कथा बनेकी छिन् खुश्बु । परिवार पाल्न वर्षौंसम्म संघर्ष गरेका पदम कार्की आज आफ्नै परिवारका लागि सम्झना र प्रतीक्षा बनेका छन् । कोरा बसेकी छोरी खुश्बु एउटै कुरा भनिरहेकी छिन्, “बुवा फर्केर आउनुहोस्, म तपाईंलाई कुरिरहेकी छु ।”
