कैलालीमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’ अन्तर्गत साढे ५ करोड अनुदान, ३७३ किसान लाभान्वित
कैलाली जिल्लाका १३ वटै स्थानीय तहमा गत आर्थिक वर्षमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’ अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी कुल ५ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। यस कार्यक्रमबाट जिल्लाका ३७३ जना किसान प्रत्यक्ष लाभान्वित भएका छन्। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कैलालीले दिएको जानकारीअनुसार किसानको आयआर्जन वृद्धि गर्दै स्थानीयस्तरमै व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माण गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।
केन्द्रका प्रमुख चन्द्रकान्त पन्तका अनुसार, यो अनुदान बाख्रापालन, भैँसीपालन, बङ्गुरपालन र मत्स्यपालनसम्बन्धी फार्म, किसान समूह तथा सहकारी संस्थाहरू मार्फत वितरण गरिएको छ। ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान अन्तर्गतका कार्यक्रमहरू भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन हुने व्यवस्था मिलाइएको प्रमुख पन्तले जानकारी दिए।
अनुदान वितरणको विस्तृत विवरणअनुसार, बाख्रापालनतर्फ चुरे गाउँपालिकाका ६७ फार्मलाई ४० लाख रुपैयाँ, मोहन्याल गाउँपालिकाका १० बाख्रा फार्म, तीन समूह र एक सहकारीलाई ४० लाख रुपैयाँ प्रदान गरिएको छ। यसैगरी, गौरीगङ्गा नगरपालिकाका २२ बाख्रा फार्मलाई ४० लाख रुपैयाँ र सोही नगरपालिकाका थप २० बाख्रा फार्मलाई ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। जोशीपुर गाउँपालिकाका तीन बाख्रा फार्मले पनि ४० लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्।
भैँसीपालनतर्फ लम्कीचुहा नगरपालिकाका १३ फार्मलाई ५० लाख रुपैयाँ, टीकापुर नगरपालिकाका सात फार्मलाई ५० लाख रुपैयाँ र जानकी गाउँपालिकाका तीन फार्मलाई ४० लाख रुपैयाँ वितरण गरिएको छ। भजनी नगरपालिकाका चार भैँसी फार्मलाई ४० लाख रुपैयाँ र धनगढी उपमहानगरपालिकाका २२ भैँसी फार्मलाई ५० लाख रुपैयाँ अनुदान दिइएको केन्द्रले जनाएको छ।
बङ्गुरपालनका लागि घोडाघोडी नगरपालिकाका चार फार्मलाई ४० लाख रुपैयाँ र कैलारी गाउँपालिकाका दुई बङ्गुर फार्म, दुई समूह तथा एक सहकारीलाई ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ। मत्स्यपालनतर्फ बर्दगोरिया गाउँपालिकाका तीन मत्स्य फार्मलाई ४० लाख रुपैयाँ अनुदान दिइएको छ।
विशेष पकेट क्षेत्र विकास कार्यक्रमका अतिरिक्त, कार्यालयले अन्य विभिन्न आयआर्जन सुधारका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। यसअन्तर्गत एकल महिला, कमैया, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गरी २१ समूहलाई बाख्रा तथा बङ्गुरपालनका लागि प्रति समूह १ लाख ७८ हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ।
सामुदायिक पशु व्यवस्थापन कार्यक्रमअन्तर्गत कैलालीका तीन गौशालाको थप व्यवस्थापनका लागि ९ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ। साथै, हलगोरु तथा राँगा पाल्दै आएका ५५१ जना किसानलाई प्रोत्साहन स्वरूप प्रति किसान २ हजार ७०० रुपैयाँका दरले कुल १४ लाख ८७ हजार रुपैयाँ वितरण गरिएको केन्द्रले जनाएको छ। यी सबै कार्यक्रमहरूले स्थानीयस्तरमा पशुपालन तथा मत्स्यपालन व्यवसायको विस्तारसँगै समग्र उत्पादन वृद्धि र किसानको आयआर्जनमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।
