तस्बिर स्रोत, Getty Images
तपाईँ हात लागेको कुरा रोज्नु हुन्छ कि त्यसको २० गुणा बढी पाउन जोखिम लिनुहुन्छ?
तपाईँलाई हाताहाती ५० हजार अमेरिकी डलर पाउने वा १० लाख डलर जित्ने आधा-आधा सम्भावनामध्ये एउटा विकल्प रोज्ने मौका दिइयो भने कुन रोज्नुहुन्छ? हालै अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान गर्ने एक संस्थाले ब्रिटेनका ४,६०० जना वयस्कहरूलाई यो प्रश्न सोध्यो। सर्वेक्षणमा करिब तीन-चौथाइ अर्थात् ७३ प्रतिशत मानिसहरूले आफूले तत्काल ५०,००० डलर लिने विकल्प रोज्ने बताए। पाँच जनामध्ये एकजना भन्दा केही बढी अर्थात् २१ प्रतिशतले १० लाख डलर जित्ने आधा सम्भावनाको विकल्प रोजे भने बाँकी ६ प्रतिशतले निर्णय गर्न सकेनन्।
उक्त सर्वेक्षणमा लिङ्गका आधारमा स्पष्ट विभाजन देखियो। जोखिम नलिईकन ५० हजार पाउने विकल्प रोज्ने ८२ प्रतिशत महिला थिए भने ६३ प्रतिशत पुरुष देखिए। सुरुमा यो सर्वेक्षण यूकेमा मात्र गरिएको थियो, जसको नतिजाले सामाजिक सञ्जालमा व्यापक बहस निम्त्यायो। केही टिप्पणीकर्ताले “ब्रिटेन सायद पृथ्वीकै सबैभन्दा जोखिम मोल्न नचाहने समाज हुनुपर्छ” भनी टिप्पणी गरे। तर, के यो बुझाई सही हो त?
हात लागेको कुरा
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, हामी एक मात्र गणितीय हिसाब गरेर आर्थिक निर्णय लिँदैनौँ
यो धारणालाई बीबीसीका अर्थशास्त्र सम्पादक फैसल इस्लामले चुनौती दिएका छन्। उनी यो प्रश्नलाई केवल सम्भाव्यताको दृष्टिकोणबाट मात्र हेर्नु अति साँघुरो बुझाई हुनसक्ने बताउँछन्। इस्लामका अनुसार सिक्का टस गर्ने विकल्प रोज्नेहरू आफूलाई चतुर ठान्छन् र ५०,००० डलर स्वीकार गर्नुलाई मूर्खता ठान्छन्। तर यो व्यवहारवादी अर्थशास्त्रको ‘निर्णय सिद्धान्त’ को आधारभूत कुरा हो, जहाँ हाम्रो दिमागले सम्भाव्यतालाई नतिजाले गुणा गरेर निकालिने ‘अपेक्षित मूल्य’ मात्रै हिसाब गर्दैन।
इस्लाम १८औँ शताब्दीका स्वीस गणितज्ञ ड्यानियल बर्नूलीले तीन शताब्दीअघि विकास गरेको अवधारणालाई उद्धृत गर्दै मानिसहरूले पैसाको मूल्याङ्कन विशुद्ध गणितीय तरिकाले मात्र नभई व्यक्तिगत मूल्यका आधारमा गर्ने बताउँछन्। छोटकरीमा, कुनै कुराको मौद्रिक मूल्य र त्यो मुद्राको व्यक्तिगत मूल्य हरेक मानिसका हकमा एउटै हुँदैन।
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, स्वीस गणितज्ञ ड्यानियल बर्नूलीलाई चित्रहरूमा देख्न सकिन्छ
बर्नूलीको कार्यले घट्दो ‘मार्जिनल युटिलिटी’को अवधारणाको जग बसाल्न मद्दत गर्यो। यस अवधारणा अनुसार मानिसले कुनै वस्तु जति धेरै प्राप्त गर्दै जान्छ, त्यसबाट पाउने फाइदा वा सन्तुष्टि हरेक थप एकाइसँगै घट्दै जान्छ। यसलाई यसरी बुझ्न सकिन्छ:
- शून्य अवस्थाबाट ५०,००० डलरसम्म पाउँदा जीवन नाटकीय रूपमा बदलिन सक्छ।
- ५०,००० डलरबाट थपिएर १,००,००० डलरसम्म पाउँदा थप सहयोग भए पनि खासै ठूलो परिवर्तन नलाग्न सक्छ।
- तर ९,५०,००० डलर बाट थपिएर १० लाख डलर पुग्दा त्यसले स्थितिमा खासै ठूलो फरक नपर्न सक्छ।
यो पृष्ठभूमिमा धेरै ब्रिटिशहरूले भोगिरहेको अहिलेको आर्थिक दबावको अवस्थामा ५०,००० डलर पक्का गरी पाउनु निकै आकर्षक कुरा हो। यो यूकेमा पूरा समय काम गर्ने मानिसहरूको औसत वार्षिक तलबभन्दा १०,००० डलर बढी हो। तर मानिसहरूलाई जोखिम नलिईकन ५०,००० डलर रोज्न प्रेरित गर्ने अर्को महत्त्वपूर्ण तत्त्व ‘प्रोस्पेक्ट थ्योरी’ पनि हो।
गुम्ने डर
ड्यानियल कानेमन र आमोस ट्वर्स्कीको सन् १९७९ को ऐतिहासिक अनुसन्धानबाट ‘प्रोस्पेक्ट थ्योरी’ अगाडि आएको हो, जसलाई व्यवहारवादी अर्थशास्त्रको जग मानिन्छ। उनीहरूले विभिन्न आर्थिक नतिजाहरूबीच मानिसहरूले कसरी छनोट गर्छन् भन्नेबारे प्रभावशाली निष्कर्षहरू निकाले।
तस्बिर स्रोत, Getty Images
यो सिद्धान्तले मानिसहरू साना सम्भाव्यताहरूलाई बढी र ठूला सम्भाव्यताहरूलाई कम महत्त्व दिने तथा पैसा र जोखिमबारे निर्णयहरू एउटा आधार बिन्दुबाट लिने देखाउँछ। जस्तै, बाजीमा १० डलर हार्दा त्यसलाई फिर्ता ल्याउने लोभमा अर्को १० डलर बाजी राख्न तयार भइन्छ, तर सुरुमै २० डलर बाजी राख्न हिचकिचाइन्छ। यसले व्यक्ति वस्तुगत नभई आफ्नो सन्दर्भको आधार बिन्दुबाट सोच्ने देखाउँछ।
उक्त अध्ययनको चर्चित निष्कर्ष छ: “नाफाभन्दा घाटाको आकार ठूलो देखिन्छ।” हामीले निश्चित रकम गुमाउँदा महसुस गर्ने असन्तुष्टि सोही रकम कमाउँदा हुने खुसीभन्दा बढी हुन्छ। मानिसहरू आफूसँग पहिले नै रहेका कुराहरू गुमाउनबाट जोगिन उच्च मूल्य चुकाउन पनि तयार हुन्छन्। यदि तपाईँले १० लाख डलर जित्ने मौका रोज्नुभयो र जित्नुभएन भने, हातैमा आएको ५०,००० डलर पनि गुमाएजस्तो महसुस हुन्छ। धेरैका लागि ५०,००० डलर ठूलो रकम हो; यूकेमा २५ प्रतिशत ब्रिटिशहरूसँग मात्र ५०,००० डलरभन्दा बढी नगद सम्पत्ति छ, जबकि अर्को २५ प्रतिशतसँग ३०० डलरभन्दा कम छ।
सर्वेक्षणमा औसत कमाइ कम भए पनि १८ देखि २४ वर्ष उमेर समूहका युवाहरू अन्य उमेर समूहको तुलनामा १० लाख डलरका लागि बाजी लगाउन बढी तयार देखिए। ६५ वर्षभन्दा माथिका ११ प्रतिशत मात्र जोखिम लिन तयार हुँदा १८ देखि २४ वर्षका २८ प्रतिशतले जोखिम रोजेका थिए। अनलाइन बहसमा सांस्कृतिक पृष्ठभूमिले पनि यस्तो निर्णयमा भूमिका खेल्न सक्ने धारणाहरू आए पनि, यूकेमा सर्वेक्षण गर्ने सोही संस्थाले अमेरिकामा पनि यही प्रश्न सोध्दा त्यहाँको नतिजा पनि करिब यूकेकै जस्तो आयो।
यो लेख बीबीसीको ‘मोर अर लेस’ शृङ्खलामा आधारित छ।
