तस्बिर स्रोत, Reuters
सगरमाथामा पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको आरोहीको सङ्ख्यालाई लिएर व्यवस्थापनबारे बहस चर्किएको छ। कतिपय आरोही तथा विज्ञहरूले आरोहीको सङ्ख्यामा सीमा तोक्नुपर्ने माग राख्दै आएका छन् भने नेपाल पर्वतारोहण सङ्घले यसलाई सङ्ख्याभन्दा माथि उठेर व्यवस्थित गर्न सकिने बताएको छ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामाले सङ्ख्या आफैँमा समस्या नभई यो उच्च स्तरको कमान्ड आवश्यक पर्ने व्यवस्थापकीय पक्ष भएको बताउनुभयो। उहाँका अनुसार सगरमाथाजस्तो हिमालमा चुचुरो पुग्न अनुकूल हुने दिनहरू (समिट विन्डो) वर्षमा एक-डेढ हप्ता मात्र सीमित हुने हुँदा थोरै सङ्ख्यामा पनि चाप पर्छ। पर्यटन विभागका प्रवक्ता सुरज घिमिरेले सगरमाथा विश्वकै प्रतीक भएकाले यसमा चाप स्वाभाविक रूपमा उच्च रहने स्वीकार गर्दै यसलाई संशोधनका क्रममा रहेको पर्यटन ऐन तथा नियमावलीमार्फत् व्यवस्थापन गर्न खोजिएको जानकारी दिनुभयो। “मुख्य समस्या दुई-तीनवटा मात्र वीन्डो हुनुले हो,” उहाँले भन्नुभयो, “सलामी दस्तुर अन्य हिमालभन्दा धेरै राखिएको भए पनि आकर्षण उच्च छ र सङ्ख्या बढ्दो छ।” सन् २०२६ को वसन्त याममा सर्वोच्च शिखर चढ्नका लागि अहिलेसम्मकै धेरै ४९५ आरोहीले आरोहण अनुमति पाएका थिए, जसमध्ये आरोहण सहयोगीसमेत जोडेर १ हजारभन्दा धेरै जना चुचुरोमा पुगेका थिए।

तस्बिर स्रोत, Reuters
सर्वोच्च अदालतले दुई वर्षअघि हिमाल चढ्ने आरोहीको सङ्ख्या सीमित गर्न आदेश दिए पनि हालसम्म कानुनी व्यवस्था भएको छैन। त्यसबेला सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मातला माथेमाको संयुक्त इजलासले सरकारका नाममा “पर्वतको सामर्थ्यको सम्मान गर्दै सामर्थ्यले भ्याउने सङ्ख्या र समय निर्धारण गरेर मात्र पर्वतारोहणको अनुमति दिनू” भनी परमादेश जारी गरेको थियो। तर त्यसयताका दुई वर्षमै करिब ५०० नजिकको सङ्ख्यामा आरोहण अनुमति दिइएका छन् र यस वर्षको मे महिनाको तेस्रो साता एकैदिन २७० भन्दा धेरै मानिस चुचुरो पुगेका थिए। पर्वतारोहण सङ्घका महासचिव राजेन्द्र लामा भने सङ्ख्या तोक्नुभन्दा अन्य नियमनका उपाय सुझाउँछन्। उहाँका अनुसार, “स्वस्थ र तन्दुरुस्त आरोहीहरूको जाँच गर्ने, अन्य अग्ला हिमाल चढेको हुनुपर्नेजस्ता नियम राखेर कार्यान्वयन गर्दा आरोहण स्वतः व्यवस्थित भइहाल्छ।” उहाँले आठ हजार मिटर अग्ला संसारका हिमाल वा नेपालका सात हजारभन्दा अग्ला हिमाल वा कम्तीमा दुई वटा ट्रेकिङ पीक चढेको अनुभव भएकालाई मात्र अनुमति दिने नियम बनाउँदा अन्य हिमालको पनि प्रवर्द्धन भई सगरमाथामाथि चाप कम हुने तर्क गर्नुभयो।

तस्बिर स्रोत, AFP/Project Possible
सामान्यत: सगरमाथा चढ्ने आरोहीको सङ्ख्यामा उनीहरूलाई सघाउने कम्तीमा एकजना शेर्पा हुँदा त्यो ठ्याक्कै दोबर हुने गर्छ, र पछिल्लो समय सौखिन आरोहीहरूले दुई-तीन जना शेर्पा लिने चलन बढेको छ। चौथो शिविरसम्म खाना पकाउने र सामग्री ओसारपसार गर्ने शेर्पाहरूको सङ्ख्याले हिमालमा उच्च चाप पर्ने गर्छ। वर्षमा केही दिन मात्र अनुकूल समय हुने हुँदा सोही छोटो अवधिमा सबै आरोही चुचुरोमा पुग्न खोज्छन्। अक्सिजनको कमी, चिसो हावा, अस्थिर हिउँका चट्टान र कमजोर शारीरिक अवस्थाका साथै कम अनुभव र तालिम भएका आरोहीका कारण निश्चित डोरी मार्गमा ‘ट्राफिक जाम’को स्थिति सिर्जना हुन्छ, जसले आरोहणलाई निकै चुनौतीपूर्ण र जोखिमपूर्ण बनाउँछ। विज्ञहरूले आरोहीको बढ्दो सङ्ख्यालाई नियमन नगरे दीर्घकालमा सगरमाथामा विभिन्न समस्या उत्पन्न हुने चेतावनी दिएका छन्।
