म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थान (हाल नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) को करिब ६० करोड रुपैयाँ बराबरको जग्गा कौडीको भाउमा किनबेच भएको खुलासा भएको छ। सार्वजनिक हितका लागि अधिग्रहण गरिएको बेनी नगरपालिका–७ को केन्द्र भागमा रहेको उक्त जग्गा एक करोड २० लाख रुपैयाँमा व्यक्तिगत नाममा खरिद भएको तथ्य फेला परेको छ।
यस रहस्यमय किनबेच प्रकरणमा नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्द पौडेलको अगुवाइ देखिएको छ। पौडेल २०६४ सालमा संविधानसभा सदस्य पनि रहिसकेका छन्। संस्थानका नाममा रहेको कित्ता नम्बर २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेचमा उनको भूमिका रहेको पाइएको हो। यस क्रममा माओवादीको पार्टी कार्यालयलाई समेत एक हिस्सा दिने गरी कागजात तयार पारिएको थियो।
तत्कालीन समयमा एक करोड २० लाख रुपैयाँमा उक्त जग्गाको कारोबार भएको थियो। नेपाल बैंकको धर्मपथ शाखामा रहेको खाता नम्बर ओडी २–१४–१४८२ मा सो रकम जम्मा गरिएको थियो। २०६५ जेठ २ गतेको माइन्युटमा उल्लेख भएअनुसार, जग्गाको मूल्य एक करोड २० लाख रुपैयाँका अतिरिक्त विविध खर्च पाँच लाख, प्रारम्भिक खर्च २९ लाख ४२ हजार, म्याग्दीमा पास खर्च दुई लाख ४० हजार, अन्य खर्च एक लाख र काठमाडौंमा पास खर्च १४ लाख ४० हजार गरी कुल एक करोड ७२ लाख २२ हजार रुपैयाँ खर्च विवरण देखाइएको छ। उक्त अवधिमा संस्थानका महाप्रबन्धक बेनीबहादुर रावल थिए, जसको कार्यकालमा जग्गा बिक्री भएको पाइएको छ।
खाद्य संस्थानबाट हेटौंडाका नरोत्तम दाहालमार्फत बेनी नगरपालिका–२ खबराका प्रदीप सापकोटाले साबिकको अर्थुङ्गे गाविस–२ (ख) स्थित १७९ कित्ताको २ रोपनी ५ आना ३ पैसा ३ दाम र ३६४ कित्ताको १ रोपनी ६ आना १ पैसा २ दाम क्षेत्रफलको जग्गा खरिद गरेका थिए। माइन्युटअनुसार, सो जग्गालाई पाँच भागमा विभाजन गरी एक भाग तत्कालीन नेकपा माओवादीलाई दिने लिखित सहमति भएको थियो। सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएलगत्तै नेकपा माओवादीले उक्त खाद्य संस्थानको भवन र जमिन प्रयोग गरी पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो।
हाल यससम्बन्धी महत्वपूर्ण फाइल नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा भेटिएको छैन। संस्थानका कार्यकारी अधिकृत रमेश आचार्यले यस विषयमा आफूलाई जानकारी नभएको र फाइल खोजी गर्दा नभेटिएपछि मालपोत कार्यालयलाई सबै विवरण उपलब्ध गराउन पत्राचार गरिएको बताएका छन्। ‘यो पुरानो विषय रहेछ, म्याग्दीको जग्गा बिक्रीसम्बन्धी फाइल खोज्दा भेटिएन। थप खोजीका प्रयास भइरहेका छन्,’ कार्यकारी प्रमुख आचार्यले भने, ‘संस्थानमा तत्काल नभेटिएपछि मालपोत कार्यालयलाई सबै विवरण माग गरी पत्राचार गरिसकेका छौं। उताबाट विवरण प्राप्त भएपछि मात्रै सबै कुरा स्पष्ट पार्न सकिन्छ।’ आचार्यका अनुसार, नेपाल बैंकको खाता पनि छानबिनका लागि अनुरोध गरिएको छ र संस्थानको तर्फबाट यस विषयमा विस्तृत अध्ययन अनुसन्धान गरिनेछ।
जग्गा खरिदकर्ताहरू प्रदीप सापकोटा, मीनबहादुर कार्की, नरेन्द्र कुमार श्रेष्ठ र विष्णुप्रसाद गौतमलाई सघाएबापत दोस्रो पक्षका रूपमा नेकपा माओवादीलाई सेयर दिने लिखित सहमति भएको थियो। तत्कालीन समयमा सार्वजनिक हितका लागि खरिद गरिएको जग्गा संस्थानले बिक्री गरेको विषयमा राजनीतिक दलका नेताहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। हाल उक्त जग्गामध्ये बैंकरोडमा रहेको घडेरी बिक्री भइसकेको छ भने गोदाम रहेको क्षेत्रमा समेत जग्गाधनीले भाडामा लगाएर भोगचलन गरिरहेका छन्। नेकपा माओवादीलाई सेयर दिएको विषय सार्वजनिक भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहले पनि केही वर्षअघि भाग खोज्दै उक्त जग्गा कब्जा गरेको थियो। यस प्रकरणमा उच्चस्तरीय छानबिनको माग गरिएको छ।
