असोज २८, २०८३ बुधबार
काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा हालै भव्यताका साथ सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको कुशल अध्यक्षतामा सम्पन्न यस सभाले बैंकको वित्तीय स्वास्थ्य, कार्यसम्पादन र भावी रणनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि गहन छलफल गरी सर्वसम्मतिले पारित गरेको छ। यस प्रतिवेदनले बैंकको समग्र कार्यसम्पादन, उपलब्धी तथा आगामी योजनाहरू समेटेको थियो।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा एकीकृत वित्तीय विवरणहरूलाई समेत स्वीकृत गरेको छ। यसले बैंकको पारदर्शिता र वित्तीय जवाफदेहितालाई थप सुनिश्चित गरेको छ।
सभाको सबैभन्दा महत्त्वपूर्ण निर्णय सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित हुनु हो। बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा लाभांश वितरण गर्ने घोषणा गरेको छ। यो लाभांशमध्ये, २०८३ असार मसान्तसम्मको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशत अर्थात् ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर रहेको छ। कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांशसमेत प्रदान गरिनेछ। यस निर्णयले सेयरधनीहरूको लगानीमा उचित प्रतिफल सुनिश्चित भएको बैंकले जनाएको छ।
सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/६६ देखि अविच्छिन्न रूपमा लाभांश वितरण गर्दै आएकोमा गौरव महसुस गर्दछ। विगत २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको यस बैंकको यो तथ्याङ्कले दीर्घकालीन वित्तीय सुदृढता र सेयरधनीहरूमाथिको प्रतिबद्धतालाई प्रस्ट पार्दछ।
साधारणसभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सेयरधनीहरूबाट प्राप्त अमूल्य सुझावहरूलाई शिरोधार्य गर्दै बैंकको कार्य सञ्चालनलाई अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकले आगामी दिनमा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि गर्दै थप प्रगति हासिल गर्नेमा पूर्ण विश्वास व्यक्त गरे। संस्थागत सुशासन, पारदर्शिता र नियामक मापदण्डको पूर्ण अनुपालनमा बैंक सदैव प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पाण्डेले भविष्यमा यसलाई थप सबल र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकको उत्तरोत्तर प्रगतिमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवाला निकायहरू, ग्राहकवर्ग, नियामक निकाय तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा राखे।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा २०० शाखा सञ्जाल विस्तार गरिसकेको छ। यसका साथै, १६७ एटिएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक, सुरक्षित र पहुँचयोग्य बैंकिङ सेवाहरू निरन्तर प्रदान गरिरहेको छ। बैंकले भविष्यमा पनि प्रविधिमैत्री बैंकिङ सेवाहरूमा लगानी गर्दै ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने र देशको आर्थिक विकासमा सक्रिय भूमिका खेल्ने रणनीतिक लक्ष्य लिएको छ। यसका साथै, बैंकले दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
