कान्समा नेपालको गौरवपूर्ण उपस्थिति: चलचित्र ‘इलिफेन्ट इन द फग’ले पायो जुरी प्राइज, कामपाको अन्तर्राष्ट्रिय सहकार्यमा जोड
काठमाडौँ, जेठ ९ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति नेपालीका लागि गौरवको विषय बनेको बताउनुभएको छ । फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ प्राप्त गरेपछि स्वदेश फर्किएर उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
अविनाशविक्रम शाह निर्देशित उक्त चलचित्रको यो ऐतिहासिक सफलताले नेपाली चलचित्र उद्योग तथा रचनात्मक कला क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ बनाएको डङ्गोलको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डङ्गोलले चलचित्रको वल्र्ड प्रिमियरका क्रममा कलाकारहरूसँगै बसेर चलचित्र हेर्दा आफूलाई गर्वको अनुभूति भएको बताउनुभयो ।
उहाँका अनुसार, चलचित्रले लगातार सात मिनेटसम्म ‘स्टयान्डिङ ओभेसन’ पाएको थियो र सम्पूर्ण दर्शक भावुक बनेका थिए । उहाँले कान्स फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसरलाई फुटबलप्रेमीहरूका लागि विश्वकप जिते जत्तिकै महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको संज्ञा दिनुभयो । यस सफलताका लागि चलचित्रका पर्दा अगाडि र पछाडि खटिने सम्पूर्ण कलाकार, निर्माता तथा सिर्जनाकर्मीहरूप्रति आभार व्यक्त गर्दै डङ्गोलले अथक प्रयासको परिणाम नै यो सम्मान रहेको प्रस्ट पार्नुभयो ।
कान्समा आफ्नो सहभागिता काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनु तथा चलचित्र विधाका नगरहरूबीच आपसी सम्बन्ध, सिकाइ र प्राविधिक क्षमता आदानप्रदानका लागि सुखद अवसर बनेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवको उपयोग गर्दै फिल्म महोत्सवमार्फत रचनात्मक उद्योगको सन्तुलित विकास गराउने कामपाको लक्ष्य रहेको डङ्गोलले उल्लेख गर्नुभयो ।
फ्रान्सको कान्स नगरका प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स प्रस्थान गर्नुभएकी डङ्गोलले लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुनका लागि औपचारिक निमन्त्रणा पनि दिनुभएको छ । यो आदानप्रदानले दुई शहरबीचको सांस्कृतिक तथा रचनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
कान्स फेस्टिभलमा रहँदा कार्यवाहक प्रमुख डङ्गोलले चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलहरूको अवलोकन गर्नुभएको थियो । यस क्रममा उहाँले विभिन्न नगरका प्रमुखहरू र रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरूसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान गर्नुभएको थियो ।
छलफलका क्रममा चलचित्रलाई गीत, सङ्गीत, साहित्य, फेसन, खाना, कला, शैली र शिल्पजस्ता रचनात्मक उद्योगका विविध आयामहरूसँग जोडेर विकास गर्ने सम्भावनाबारे विस्तृत कुराकानी भयो । स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय चलचित्रलाई सिर्जनात्मक उद्योगमा आबद्ध गर्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेसाकर्मीको सहभागिता विस्तार गर्ने तथा आपसी सीप हितका विषयमा महत्त्वपूर्ण भेटघाट र विचारविमर्श भएका थिए । कान्स र काठमाडौँ दुवै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को ‘क्रिएटिभ सिटी’ सञ्जालअन्तर्गत चलचित्र विधाका सदस्य नगरहरू हुन्, जसले दुई शहरबीचको सहकार्यलाई थप बलियो आधार प्रदान गरेको छ ।
