ब्रिटेनका प्रधानमन्त्री एन्डी बर्नमले पदभार सम्हालेपछि आफ्नो पहिलो विदेश भ्रमणका क्रममा युक्रेनको राजधानी किएभ पुगेका छन्। यस भ्रमणमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटघाट गरी लामो दूरीका क्षेप्यास्त्रहरूको ‘ब्ल्यूप्रिन्ट’ हस्तान्तरण गर्ने योजना बनाएका छन्। प्रधानमन्त्री बर्नमले आफ्ना पूर्ववर्ती सर किअर स्टार्मरको कार्यकालमा यूके र फ्रान्सले युक्रेनलाई सहयोग पुर्याउन गठन गरेको गठबन्धनको बैठकको अध्यक्षता गर्ने कार्यक्रम पनि रहेको छ। साथै, उनले ब्रिटिश जनताको तर्फबाट निरन्तर सहयोगका लागि युक्रेनले प्रदान गर्न लागेको सम्मान ग्रहण गर्नेछन्।
युद्धका लागि महत्त्वपूर्ण मानिएको यस घोषणामा यूके सरकारले रक्षासामग्री उत्पादन गर्ने कम्पनी एमबीडीएलाई ‘स्काल्प’ क्षेप्यास्त्रमा प्रयोग भएका यूकेका पाटपुर्जाबारे गोप्य जानकारी उपलब्ध गराउन सहमति जनाएको छ। स्काल्प क्षेप्यास्त्र यूकेको ‘स्टोर्म श्याडो’जस्तै फ्रान्समा निर्मित लामो दूरीको क्षेप्यास्त्र हो। रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगेको अवस्थामा बर्नमले युक्रेनलाई यूकेको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नेछन्। गत शुक्रवार मात्रै एउटा किनमेल केन्द्रमा रुसले गरेको आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको थियो।
बर्नमको भनाइ
तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, बर्नम ब्रिटेनको प्रधानमन्त्री बनेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्की लन्डन गएका थिए
भ्रमण आरम्भ गर्नुअघि बर्नमले युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवमा “जति समय लागे पनि यूके युक्रेनी जनताको साथमा छ भन्ने कुरामा शङ्का गर्नु नपर्ने” बताएका थिए। उनले थपे, “म युक्रेनमा हाम्रो देशले गरेको योगदानप्रति गर्व गर्छु अनि युक्रेनका जनताले हाम्रो समर्थन घट्ने छैन भन्ने कुरा सोझै मबाट सुन्न चाहन्छु। आखिर युक्रेनको सुरक्षा हाम्रो सुरक्षा हो।”
रुसले थालेको युद्धलाई “अवैधानिक” भन्दै उनले युक्रेन र यूकेको मित्रता दीर्घकालीन भएको टिप्पणी गरे। बर्नमले भने, “रुसले हाम्रो दृढ सङ्कल्पप्रति शङ्का नगरोस्। न्याय र स्थायी शान्ति नभएसम्म हामी पछि हट्ने छैनौँ।” युक्रेनले रुसी भौतिक संरचनाहरूलाई निशाना बनाउँदै ब्रिटिश ड्रोनहरू प्रयोग गरेर हालै हमला गरेपछि मस्कोले “परिणाम” भोग्नुपर्ने चेतावनी दिएको सन्दर्भमा बर्नमको यो टिप्पणी आएको हो। किएभले मस्को र अन्य रुसी क्षेत्रहरूमा टाढाबाट गरिने आक्रमण बढाएको छ, जसमा रुसको ठूला अनलाइन विक्रेता ‘वाइल्डबेरी’, तेल प्रशोधन केन्द्रहरू र गोदामहरू लक्षित छन्।
कस्तो क्षेप्यास्त्र

तस्बिर स्रोत, AFP via Getty Images
तस्बिरको क्याप्शन, ‘स्टोर्म श्याडो’को फ्रान्सेली संस्करण स्काल्प लामो दूरीको क्षेप्यास्त्र हो
लामो दूरीको स्काल्प क्षेप्यास्त्रको तौल १,३०० किलोग्राम र लम्बाइ ५.१० मिटर छ। युक्रेनी भूमिबाट प्रहार गर्दा यो रुसभित्र झन्डै १५० माइल टाढाका निसानासम्म पुग्न सक्छ। युक्रेनले रुसमाथि हमला गर्न प्रयोग गर्दै आएका ड्रोनहरूजत्तिकै टाढा पुग्न नसके पनि यो क्षेप्यास्त्र बनाउन प्रयुक्त प्रविधि उपलब्ध गराउने यूकेको तत्परता महत्त्वपूर्ण कदम हो। यो क्षेप्यास्त्र पूर्वनिर्धारित र स्थिर निसानाहरूमा प्रहार गर्ने उद्देश्यले डिजाइन गरिएको हो र यसमा अत्याधुनिक नेभिगेशन प्रणाली जडान गरिएको छ। एमबीडीएका अनुसार यो क्षेप्यास्त्र ब्रिटेनको रोयल एअर फोर्स, फ्रान्सेली वायुसेना र इटलीको वायुसेनाले प्रयोग गर्दै आएका छन्। यो इराक, सिरिया र लिबियामा पनि प्रयोग भइसकेको छ।
यसैबीच, युक्रेनले रुसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न थप ‘प्याट्रिअट’ इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन् र आइतवार ३६० वटा त्यस्ता क्षेप्यास्त्रको माग गरिएको बताएका थिए। युक्रेन प्याट्रिअट क्षेप्यास्त्रका लागि अमेरिकामा निर्भर रहँदै आएको छ। तर, विश्वव्यापी भू-राजनीतिक अवस्था र मध्यपूर्वमा जारी द्वन्द्वका कारण यसको मौज्दात घट्दै गएकाले युक्रेन रुसले गर्ने आक्रमणको जोखिममा परेको छ।
रुसको आरोप
यूकेस्थित रुसी दूतावासले ब्रिटेनले “जानीजानी युक्रेन सङ्कटलाई चर्काउन खोजेको” आरोप लगाएको छ। दूतावासले चेतावनी दिँदै भनेको छ, “द्वन्द्वमा उसको संलग्नता जति गहिरो हुन्छ… उसले उति नै बढी मूल्य चुकाउनुपर्ने छ।” त्यसबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री बर्नमले गत साता भने, “हामी अवस्था अनुकूल हुँदाका मात्रै राम्रा साथी होइनौँ, हामी युक्रेनलाई आवश्यक परेको समयमा हुने छौँ र त्यसमा तलमाथि हुने छैन।”
बर्नम गत जुलाईमा प्रधानमन्त्री बनेपछि जेलेन्स्की डाउनिङ स्ट्रीटमा स्वागत पाउने पहिलो विदेशी नेता थिए। यूकेका लागि रुसी राजदूत आन्द्रे केलिनले आफ्नो जिम्मेवारीबाट हटेको रुसले पुष्टि गरेको केही सातापछि ब्रिटिश प्रधानमन्त्रीले रुससँग युद्धरत देशको भ्रमण गर्न लागेका हुन्। क्रेम्लिनले अझै लन्डनका लागि आफ्नो राजदूत नियुक्त गर्न बाँकी छ, यद्यपि रुसी दूतावासले दुई देशबीचको कूटनीतिक सम्बन्ध घटाउने आफ्नो कुनै उद्देश्य नभएको बताएको छ।
